मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सन्तोष भट्टराई
२०७५ माघ ७ सोमबार ०६:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस

Read Time : < 1 मिनेट
सन्तोष भट्टराई
२०७५ माघ ७ सोमबार ०६:३२:००

संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको छ । परिषद्को आइतबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारू आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको हो । 

पौडेल र सुवेदी पूर्वसचिव हुन् । दत्त जनकपुरमा प्राध्यापन गर्छन् ।  चौधरी पूर्वराज्यमन्त्री र अन्सारी नेकपाका केन्द्रीय सदस्य हुन् । प्रस्तावित व्यक्तिहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । आयोगमा रहने सदस्यहरूको टुंगो भने अझै लागेको छैन । आयोगका पदाधिकारीहरूको कार्यकाल ६ वर्षको हुन्छ ।

सरकारले ८ वटा संवैधानिक आयोगमा अध्यक्षसहित चार–चार सदस्यको पदपूर्ति गर्न गत ५ भदौमा सूचना निकालेको थियो । संवैधानिक व्यवस्थाअनुसार आयोगको अध्यक्ष वा सदस्यका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण, ४५ वर्ष उमेर पुगेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्यता नभएको हुनुपर्नेछ ।

सरकारले समावेशी आयोगमा सुरेश अधिकारी, दलित आयोगमा पुरुषोत्तम नेपाल, मुस्लिम आयोगमा केदारप्रसाद पनेरू, मधेसी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारू आयोगमा रूपनारायण भट्टराईलाई सचिवका रूपमा खटाइसकेको छ ।

 विपक्षी दलका नेता अनुपस्थित
संवैधानिक परिषद्का सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने बैठकमा उपस्थित भएनन् । उनी अनुपस्थित हुँदा पनि संवैधानिक र कानुनी दृष्टिले निर्णय प्रक्रियामा फरक नपर्ने भएकाले आयोगका अध्यक्षहरू सिफारिस गरिएको परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।