मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण २६ सोमबार ०७:३३:००
Read Time : > 2 मिनेट
समाचार

नक्कली प्रतिवेदन बनाएर १० लाख भुक्तानी

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण २६ सोमबार ०७:३३:००

त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदनका आधारमा १० लाख रुपैयाँ भुक्तानी दिएको तथ्य खुलेको छ । त्रिपुरासुन्दरी–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुन्डो प्रवेशद्वार सुलिगाड जाने पदमार्ग निर्माण गर्न नेपाल पर्यटन बोर्डले सो रकम उपलब्ध गराएको थियो । तर, काम नगरी नक्कली अनुगमन प्रतिवेदन बनाएर सो रकम भुक्तानी लिइएको छ ।

 भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारी र नगरपालिकाका कर्मचारीको मिलेमतो देखिएको छ । उपभोक्तासँगको मिलेमतोमा वडा नम्बर २ का सब–ओभरसियर जंगबहादुर थापाले अन्तिम कार्यसम्पन्न प्रतिवेदन तयार पारेका थिए । सोही आधारमा तत्कालीन निमित्त कार्यकारी प्रमुख हीराचन्द्र धरलाले रकम भुक्तानी दिएका हुन् ।

उपप्रमुखको नक्कली दस्तखत 
त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख तथा योजना अनुगमन संयोजक चन्द्रकुमारी बुढाले उपभोक्ता समितिले आफ्नो किर्ते दस्तखत गरेर रकम भुक्तानी लिएको बताएकी छिन् । आफू कार्यालयमा उपस्थित नभएका वेला निमित्त कार्यकारी हीराचन्द्र धरलासँग मिलेर रकम भुक्तानी लिएको भन्दै उनले गत २० फागुनमा नगरप्रमुखलाई लिखित निवेदन दिएर कारबाहीको माग गरेकी थिइन् । तर, आफ्नो मागको सुनुवाइ नगरी उल्टै कामै नभएको योजनामा रकम भुक्तानी भएको उनले बताइन् ।

उपप्रमुख बुढाले आफू पर्यटन बोर्डको योजना अनुगमनमा नगए पनि नक्कली अनुगमन प्रतिवेदन तयार पारेर रकम भुक्तानी लिएको जानकारी दिइन् । ‘मैले बारम्बार निमित्त कार्यकारी हीराचन्द्र धरलालाई काम भएको छैन, रकम भुक्तानी नदिनुहोला भनेकी हुँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘तर, म नै नभएका वेला मेरो किर्ते दस्तखत गरी अन्तिम रकम भुक्तानीका लागि अनुगमन प्रतिवेदन तयार पारेर रकम लिइएको रहेछ ।’

नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी धरलाले नेपाल पर्यटन बोर्डबाट भित्रिएको पर्यटन पदमार्ग तथा नगरपालिकाका केही गम्भीर नीतिगत निर्णयमा समेत नगरप्रमुख र उपप्रमुखलाई जानकारी नदिई निर्णय गरेको समेत पाइएको छ । पटकपटक त्यस्तो कार्य गरेको पाइएपछि २३ फागुनमा कार्यपालिकाको विशेष बैठक बसेर छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । ‘नगरप्रमुख बुढाले धरला र पर्यटन पदमार्ग निर्माणमा भुक्तानी गरिएको भनिएको योजनामाथि छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको बताए । 

कामै नगरी भुक्तानी लिएको स्वीकार
त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुन्डो जाने सुलिगाडसम्मको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर बुढाले कामै नगरी भुक्तानी लिएको स्वीकार गरे । ‘काम विशेषले जिल्लाबाहिर जानुपर्ने भएकाले समितिका अन्य सदस्य र गाउँलेलाई काम गर्नु भनेको थिएँ । तर, गरेका रहेनछन्,’ उनले भने, ‘म फर्केर आउँदा आर्थिक मसान्त सकिन लागेकाले प्रक्रिया मिलाएर रकम भुक्तानी लिएको हो ।’तर, उनले योजना अनुगमन समितिका संयोजक तथा उपप्रमुखको दस्तखत भने किर्ते नगरेको दाबी गरे । ‘दस्तखत किर्ते गरेको होइन । दस्तखत उहाँकै हो । सबैको सल्लाहमा बजेट फ्रिज हुन नदिन उपभोक्ता समितिको खातामा रकम हालिएको हो,’ अध्यक्षले बुढाले  भने । 

भुक्तानीपछि थालियो काम
काम नगरी भुक्तानी भएको सार्वजनिक भएपछि दुई दिनदेखि काम थालिएको छ । अहिले काम भइरहेको भन्दै उपभोक्ता समितिका अध्यक्ष बुढाले सम्पन्न भएपछि सञ्चारकर्मी र उपप्रमुखको रोहबरमा कामदारलाई सबै रकम भुक्तान गर्ने बताए । तत्कालीन निमित्त कार्यकारी प्रमुख धरलाले उपभोक्तासँग मिलेर कमिसन खाएको आरोपको उनले खण्डन गरे । ‘मैले एक रुपैयाँ त के, एक कप चियासम्म खाएको छैन ।

प्राविधिकको अन्तिम कार्यसम्पन्न रिपोर्ट, योजना शाखाको टिप्पणीलगायत डकुमेन्टका आधारमा भुक्तानीका लागि लेखालाई सिफारिस गरेको हुँ,’ उनले नयाँ पत्रिकासँग भने । पछि काम नभएको थाहा पाएपछि आफूले नै खाता रोक्का गराएको उनले दाबी गरे । कामै नभएको योजनामा त्रिपुरासुन्दरी नगरपालिका योजना शाखाप्रमुख हेमन्त बोहराले उठाएको टिप्पणी र निमित्त कार्यकारी प्रमुख धरलाले भुक्तानीका लागि गरेको सिफारिस आदेशमा २८ वैशाख ०७६ मा काम सुरु भई १९ असार ०७६ मा सम्पन्न भएको उल्लेख छ ।