मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सप्तरीकाे छिन्नमस्ता मन्दिर
शिल्पा कर्ण काठमाडौं
२०७६ फाल्गुण २५ आइतबार १६:५०:००
Read Time : > 1 मिनेट
प्रदेश

धार्मिक पर्यटनको सम्भावना बोकेको राजविराज

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७६ फाल्गुण २५ आइतबार १६:५०:००

राजविराज वरपर रहेको राजदेवी, कंकालिनी र छिन्नमस्ता देवीहरूका मन्दिरमा स्थानीय मात्र नभइ छिमेकी मुलुक भारतको बिहार र बंगाल राज्यबाट श्रद्धालु  पुग्ने गर्छन् । 

विशेषगरी दशैं, चैते दशैं र नयाँ वर्षमा घुईंचो बढी हुने गर्छ । सदरमुकाम राजविराज नगरपालिकाको १ मा रहेको राजदेवी मन्दिरको नामबाट यो स्थान राजविराजको रूपमा परिचित भएको मानिन्छ । पहिले गुम्बज शैलीमा रहेको यो मन्दिर पछि प्यागोडा शैलीमा पुननिर्माण गरिएको स्थानीय अध्येता श्यामसुन्दर यादव बताउँछन् ।  

यी बाहेक ‘काला हनुमान’ पनि विशिष्ट छन् । किनकी अन्य स्थानमा सिन्दुरी रंगका मात्र हनुमानको मूर्ति हुन्छ ।

मकवानपुरमा शासन गरेका सेनवंशको इष्टदेवीका रूपमा राजदेवी थिइन् । सेन राजाहरू पत्थरलाई पुज्थे, त्यसै कारण यहाँ पनि आकृति स्पष्ट नभएकी पत्थरमा कुँदिएकी देवी छिन् । जमिनको सतहभन्दा केही तल राजदेवीको मूर्ति छ भने हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहमा पर्ने कंकालिनी मन्दिरमा पनि धार्मिक पर्यटकको संख्या बढ्दो छ । यहाँ राँगा तथा बोकाको बलि दिइन्छ ।  यहाँ करिब तीन फिट अग्लो देवीको खण्डित मूर्ति छ । 

यसैगरी अर्को प्रख्यात देवी हुन् छिन्नमस्ता, अर्थात् मस्तक नभएकी देवी । मूर्तिमा मुकुट चाँदीको पहि-याए पनि देवीको शिर छैन । मधेसका पुराना सहरझैं जिर्ण देखिने राजविराजलाई पर्यटनले परिवर्तन ल्याउन सक्ने स्थानीयको आस छ । धार्मिक मात्र नभइ यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदा महत्वपूर्ण भए पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो छ । 

कमजोर पूर्वाधार
तत्कालिन समयमा योजनाबद्ध रूपमा बसाइएको सहर हो राजविराज । त्यसैले मुख्य सहरमा सीधा सडक भेटिन्छन् । घुमाउरा, बाटो भुल्लिने गल्ली छैनन् । 
यसलाई डिजाइन गरेका थिए इञ्जिनियर डिल्लीजंग थापाले । विसं १९९४ तिर पुरानो सदरमुकाम हनुमाननगरलाई कोशीले कटान गर्न थालेपछि विकल्प बन्यो राजविराज । 

वि.संं १९९८ मा औपचारिक रूपमा यो सहर बसाइयो । डेढ सय वर्ष नाघिसकेको यो सरह पुरानो र फुंग देखिन्छ । सप्तरीमा धार्मिक पर्यटनको सम्भावना भए पनि पूर्वाधार भने त्यस अनुरूपका छैनन् । दैनिक मन्दिरमा श्रद्धालुको आगमन भइरहने भए पनि शौचालय छैन । यसैगरी सुविधासम्पन्न होटेल पनि कम छ । 

‘यहाँ आउने धार्मिक पर्यटक धेरै खर्च गर्न सक्ने क्षमता भएका हुँदैनन्’, उद्योग वाणीज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले थपे, ‘तर कम्तिमा २–४ वटा कोठा भिआइपी बस्न मिल्ने खालको सुविधायुक्त बनाउने कि भनेर छलफल भइरहेको छ ।’

होटेलमा सीपयुक्त जनशक्ति अभाव रहेकाले पनि होटेल खुल्न नसकेको उनी बताउँछन् । तर अहिले पनि राजविराजलाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिने उनको भनाइ छ । 

‘दैनिक हवाइ यातायात भएपछि खर्च गर्न सक्ने पर्यटक आउने सम्भावना बढेको छ,’ उनले भने । अहिले श्री र बुद्ध एयरलाइन्सले राजविराजमा हवाइ सेवा दिइरहेका छन् । दैनिक उडान भने बुद्ध एयरलाइन्सले मात्र गरिरहेको छ । 

यहाँबाट प्रत्येक वर्ष  बैशाख १ गतेमात्र फूल फूल्ने स्थान सिरहाको सलहेश फूलबारी पनि नजिक पर्छ । जहाँ भारतीय पर्यटक बढी आउने गर्छन् ।