मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २५ आइतबार ०९:१६:००
Read Time : > 1 मिनेट
अर्थ

२० वस्तुमा भन्सार छुट दिन  बंगलादेशसँग नेपालको प्रस्ताव

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २५ आइतबार ०९:१६:००
  • नेपालबाट गत आर्थिक वर्ष १ अर्ब २९ करोड रुपैयाँको वस्तु बंगलादेश निर्यात भएको थियो । बंगलादेशबाट नेपालमा ४ अर्ब २४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । 
  • व्यापार घाटा घटाउन नेपालले तरकारी, फलफूल तथा जडीबुटीदेखि सिमेन्ट र क्लिंकरसम्मको निकासीमा भन्सार छुट माग गर्दै सूची बुझाएको छ । बंगलादेशको चासो मेसिनरी, प्याकेजिङ र जुसमा देखिएको छ ।

नेपालले २० वस्तुको निकासीमा भन्सार छुट दिन बंगलादेशसँग प्रस्ताव गरेको छ । दुई देशबीच सहुलियतपूर्ण व्यापार गर्ने समझदारीअनुसार नेपालले सुरुवाती चरणमा भन्सार छुटका लागि आफ्नो सूची दिएको हो । नेपालले तरकारी, फलफूल तथा जडीबुटीदेखि सिमेन्टसम्मको निकासीमा भन्सार छुट मागेको हो । 

बंगलादेशको राजधानी ढाकामा हालै सम्पन्न ‘नेपाल र बंगलादेश उच्चस्तरीय संयन्त्र’को पाँचौँ बैठकमा नेपालले भन्सार छुटका लागि वस्तुहरूको सूची बुझाएको हो । यसअघि नेपाल र बंगलादेशले केही वस्तुमा भन्सार छुट दिने समझदारी गरिसकेका छन् । सोहीअनुसार दुईवटै मुलुकले भन्सार छुटको माग गर्दै आ–आफ्ना सूची आदान–प्रदान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । 

नेपालले भन्सार छुटको प्रस्ताव गर्दै बंगलादेशलाई तरकारी, फलफूल, जडीबुटी, जुत्ता, सिमेन्ट, क्लिंकरलगायत २० वटा वस्तुको सूची बुझाएको छ । त्यस्तै, बंगलादेशले पनि भन्सार छुटको प्रस्ताव गर्दै मेसिनरी, जुस, प्याकेजिङ म्याटेरियललगायत वस्तुको सूची नेपाललाई दिएको हो ।

नेपाल र बंगलादेशबीच वार्षिक साढे ५ अर्ब रुपैयाँको व्यापार हुँदै आएको छ । गत आवमा नेपालले बंगलादेशमा १ अर्ब २९ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो भने बंगलादेशबाट नेपालमा ४ अर्ब २४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । दुई देशबीचको व्यापारमा ५ देखि १ सय ३० प्रतिशतसम्म भन्सार (अन्य शुल्कसमेत जोडेर) महसुल लाग्दै आएको छ । दुवै मुलुकबीचको व्यापारलाई वृद्धि गर्न तथा केही वस्तुमा यस्ता सबैखाले शुल्क नलगाउने तयारी गरिएको हो । 

आपसी व्यापार बढाउने रणनीतिका साथ नेपाल र बंगलादेशले सहुलियतपूर्ण व्यापार सम्झौता  (प्रिफेरियन्सियल टे«ड एग्रिमेन्ट–पिटिए) गर्ने तयारी गरिरहेका छन् । यसैको सुरुवातस्वरूप केही वस्तुमा भन्सार महसुल नलगाउने समझदारी गरिएको ढकालले बताए । ‘तत्काल १५–२० वटा वस्तुमा दुवै देशले भन्सार महसुल नलगाउने समझदारीअनुसार अहिले त्यसको सूची आदान–प्रदान गरिएको हो,’ उनले भने, ‘एक–अर्काको प्रस्तावमा छिट्टै आ–आफ्नो धारणा आदान–प्रदान गरेर सूचीलाई अन्तिम रूप दिनेछौँ ।’  भन्सार छुटको वस्तुको सूचीलाई अन्तिम रूप दिएपछि वस्तुको उत्पत्तिको प्रमाणपत्र (सिर्टिफिकेट अफ ओरिजिन)का आधारहरू तयार गर्ने उनले बताए । त्यसपछि सम्झौता नै गरेर भन्सार छुटलाई कार्यान्वयनमा ल्याउन सकिन्छ । 

जुस रोकेकोमा बंगलादेशको चासो
यसै साता ढाकामा सम्पन्न बैठकमा बंगलादेशका प्रतिनिधिले नेपालले बंगलादेशको जुस रोकेकोप्रति चासो व्यक्त गरेका थिए । नेपालले गत साउनमा राजपत्रमा सूचना प्रकाशन गर्दै क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) र फ्लेबर सिन्थेटिक ड्रिंक्स (विभिन्न स्वादका जुस)को आयातमा प्रतिबन्ध लगाएको थियो । मुलुकको बढ्दो व्यापार घाटा र जनस्वास्थ्यलाई ध्यानमा राखेर वाणिज्य मन्त्रालयले त्यस्ता जुसको आयात रोकेको थियो । नेपालको उक्त निर्णयबाट बंगलादेशको प्रान जुसको आयातसमेत रोकिएको छ । बैठकमा नेपालले बंगलादेशको प्रान जुसलाई नै टार्गेट गरेर आयात प्रतिबन्ध गरेको जस्तो देखिएको उनीहरूले आरोपसमेत लगाए । त्यस्तै, बंगलादेशबाट हुने आयातमा विभिन्न खाले अवरोधहरू हुने गरेको भन्दै त्यसलाई हटाउनसमेत माग गरे ।