Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका गुल्मी
२०७६ फाल्गुण २५ आइतबार ०७:४५:००
Read Time : > 2 मिनेट
फिचर

अपांगता भएकामा आशा भर्दै गंगा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका गुल्मी
२०७६ फाल्गुण २५ आइतबार ०७:४५:००

गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेकी ३४ वर्षीया गंगा रायमाझीका दुवै खुट्टा छैनन् । तर, झट्ट हेर्दा उनका दुवै खुट्टा छैनन् भनेर कसैले पनि पत्याउँदैनन् । हँसिलो स्वभाव, मिजासिलो व्यवहारका कारण उनी यस क्षेत्रमा सबैसित परिचित छिन् ।

गंगाको जन्म ०४२ सालमा भएको हो । ६ सन्तानमध्येकी माइली तर पहिलो छोरीका रूपमा उनको जन्म भएको थियो । गंगाको आगमनले परिवार खुसी नहुने कुरै भएन । आमा सुत्केरी बस्न मामाघर गएकी थिइन् । सुत्केरीलाई न्यानो बनाउने भन्दै अगेनाको छेउमै सुताइएकी गंगा राति एक्कासि अगेनामा परिन् । त्यतिवेला गंगा तीन महिनाकी थिइन् । परिवारले सदरमुकाम तम्घास ल्याएर उपचार पनि गराए ।

तीन महिना तम्घासमै राखेर उपचार गरे पनि घाउ निको हुनुको सट्टा बिग्रदै गयो । उनलाई गाउँ फर्काए । बिस्तारै दुवै खुट्टा खसे । गंगाले बालापनको सुखद क्षण तातेताते नै गर्न पाइनन् । विकट गाउँ । सुख र सुविधा थिएन । अनेक सामाजिक सोचका बीच दुवै खुट्टाविनाको २० वर्षे जीवन गाउँमा बिताइन् । गंगाले दुई खुट्टाले टेकेर संसार चियाउने कल्पनासमेत गरेकी थिइनन् । तर, कल्पना नै नगरेको कुरा उनी अहिले उभ्भिन सक्छिन् । 

विदेशी नागरिक रबको भेटले गंगाको जीवन बदलियो 

विद्यालय नजिक पर्ने भएकाले गंगाले मामाघर बसेर स्थानीय अर्जे माविबाट ०५९ सालबाट एसएलसी दिइन् । त्यसपछि गंगा खुट्टाको अप्रेसन गर्न पोखराको हरियोखर्क पुगिन् । त्यतिवेला गंगालाई न्युजिल्यान्डका नागरिक रबले भेटे । अस्पतालमा कृत्रिम खुट्टा बनाउने हरि बानियाँमार्फत गंगाको बारेमा रबले थाहा पाएका रहेछन् ।

गंगालाई रबले भविष्यमा के बन्ने भनेर सोधे । गंगाले सिएमए पढ्ने र समाजसेवा गर्ने सपना रहेको सुनाइन् । अपांगताभित्र गंगामा भरिएको त्यो ऊर्जाले रब प्रभावित भए । रबकै सहयोगमा गंगाले सिएमए पढिन् । ६ वर्ष अस्पताल विकास समितिमा समेत जागिरे बनिन् । 

‘यो क्षेत्रका लागि स्थानीय तहमा कुनै योजना छैन, समस्या ठूलो तर थोरै बजेट छ,’ उनले भनिन्, ‘अपांगता भएका व्यक्तिलाई पैसाभन्दा सीप दिन जरुरी छ ।’

रबले गंगालाई मात्रै सक्षम बनाएनन् । अपांगता भएका अन्य व्यक्तिहरूको समेत कल्याण सोचे । गंगाको समाजसेवा गर्ने बाल्यकालकै सपना पूरा गर्न रबले संस्था स्थापनाको परिकल्पना गरे । थुप्रै सोचका बीच रब, गंगा र दानबहादुर केसीको पहलमा ०६३ सालमा आशा अपांग केन्द्र स्थापना भयो ।

गंगाले स्वयंसेविकाको रूपमा काम गर्न थालिन् । अहिले संस्थाको उपाध्यक्ष गंगा नै छिन् । गंगाले थुप्रै अपांगता भएका व्यक्तिको जीवनको नयाँ रंग भरेकी छिन् । सदरमुकाम मात्रै नभएर गाउँगाउँमा पुगेर अपांगता भएकाहरूको उद्धार र पुनस्र्थापना गरेकी छिन् । मान्छेमा सोच बदलेकी छिन् । ओछ्यानकै पशुसरह बाँचेका कैयन व्यक्तिको भरोसाकी पात्र बनेकी छिन् । 

आशा अपांग केन्द्रलाई गुल्मी समाज युकेले एम्बुलेन्ससहित करिब ४४ लाख सहयोग गरेको छ । अमेरिकी संस्था अलेक्टुस्टान्र्ड वनले वार्षिक ३५ लाखसम्मका महँगा कृत्रिम अंग र ह्विलचियरलगायतका सामग्री र पाँचदेखि सात लाख आर्थिक सहयोग गर्दै आएको आशा अपांग केन्द्रका लेखा प्रमुख सुरेश श्रेष्ठले बताए । यस्तै, न्युजिल्यान्डका नागरिक रबको संस्था मेन्डले वार्षिक चार लाख तथा क्यानेडियन नागरिक गेलेन्ड गोन्डले व्यक्तिगत रूपमा वार्षिक १० लाख रुपैयाँ सहयोग गर्ने श्रेष्ठले बताए । साथै, तीन तहका सरकारले सहयोग गरिरहेको केन्द्रले जनाएको छ । जसका कारण अहिलेसम्म केन्द्रले एक करोडको संरचना निर्माण गरेको छ । गंगाकै मावली रेसुंगा नगरपालिका २ का बलबहादुर थापाले भवन निर्माणको लागि निःशुल्क जग्गा प्रदान गरे ।

सीपदेखि रोजगार र पुनस्र्थापना

आशा अपांग केन्द्रले फिजियोथेरापीसहित स्वास्थ्य जाँच र परामर्श, शिक्षा र व्यावसायिक तालिम प्रदान गरी पुनस्र्थापना गर्ने कार्य गर्दै आएको छ । केन्द्रमा अहिले १२ जना अपांगता भएका व्यक्तिहरू बस्दै आएका छन् । केन्द्रमै अपांग ६ जनाले जागिर गर्दै आएका छन् । दुई सवलांग र ६ अपांगता भएका कर्मचारी नियुक्ति गरेर संस्था सञ्चालन भएको आशा अपांग केन्द्रका अध्यक्ष जर्नादन घिमिरेले बताए ।

केन्द्रले आर्थिक वर्ष ०७५-७६ मा २४ जनाको स्वास्थ्योपचार, ४८ जनाको फिजियोथेरापी, ३४ जनालाई कृत्रिम हातखुट्टा वितरण गरेको छ । यस्तै,  २१ जना अपांगता भएका व्यक्तिलाई आवासीय सेवासहित अध्ययन, शिक्षा सामग्री वितरण तथा नगद सहयोग गर्दै आएको अध्यक्ष घिमिरेले बताए । उनले करिब दुई सयजना अपांगहरूका लागि व्यावसायिक सीप विकास तालिम, १६ जनालाई अपांगमैत्री शौचालय र आँगन निर्माण गरिदिएको जानकारी दिए ।

केन्द्रकी उपाध्यक्षसमेत रहेकी गंगा रायमाझीले राज्यबाटै अपांगता भएकाहरूको संरक्षण हुनुपर्नेमा जोड दिइन् । ‘यो क्षेत्रका लागि स्थानीय तहमा कुनै योजना छैन, समस्या ठूलो तर थोरै बजेट छ,’ उनले भनिन्, ‘अपांगहरूलाई पैसाभन्दा सीप दिन जरुरी छ ।’ उनले आशाजस्ता संस्थाहरू अब सरकारद्वारा सञ्चालन गर्नुको विकल्प नभएकोसमेत बताइन् । अपांगहरूद्वारा उत्पादित सामग्रीको बजारीकरणमा समेत समस्या रहेको उनले बताइन् ।