१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका जुम्ला
२०७६ फाल्गुण २५ आइतबार ०६:३२:००
Read Time : < 1 मिनेट
प्रदेश

एमबिबिएस अध्ययनका लागि जुम्लामा पूर्वाधार तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जुम्ला
२०७६ फाल्गुण २५ आइतबार ०६:३२:००

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमबिबिएस अध्यापनका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा अध्यापनका लागि आवश्यक जनशक्ति, प्रयोगात्मक प्रविधि र विशेषज्ञसहितको तयारी भइरहेको जानकारी दिएको छ । पूर्वाधारमा अब्बल भएको दाबी गर्दै प्रतिष्ठानले आवश्यक पहल गर्न सरोकारवाला निकायसँग अनुरोधसमेत गरेको छ । 

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले एनाटोमी कक्ष, आइसियू, एनआइसियू, इमर्जेन्सीदेखि विभिन्न वार्डहरूको स्तरवृद्धि, जनशक्ति आपूर्ति भइरहेको बताए । प्रतिष्ठानको तयारीबारे प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायले अवलोकन गरेका छन् । अध्ययनका क्रममा शिक्षाध्यक्ष थापाले पूर्वाधार तयार रहेको बताएका हुन् ।

अध्यापनका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक मेडिकल सामग्री तयार भएको थापाले बताए । प्रतिष्ठानमा मानव कंकालसहितका आवश्यकताअनुसारका अंगहरूसमेत कानुनी रूपमा विद्यार्थीको अभ्यासका लागि  भित्र्याइएको प्रा.डा. रामप्रसाद उप्रेतीले जानकारी दिए ।  

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश श्रेष्ठसहितको टोलीले अनुगमन गरेको थियो । 

यसअघि १ फागुनमा चिकित्सा शिक्षा आयोगको टोलीले विशेषज्ञ एमबिबिएस र एमडिजिपी कार्यक्रमको पूर्वाधारको अवस्था अध्ययन गरी सरकारलाई अध्यापन अनुमतिका लागि सिफारिस गरेको शिक्षाध्यक्ष थापाले बताए । 

प्रतिष्ठानले पूर्वाधारमा नेपाल सरकार र कर्णाली सरकारसँग समन्वय गरेर द्रुत गतिमा तयारी गरेको छ । यसअघि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सातौँ सिनेटले प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन गराउने निर्णय गरेको थियो ।