१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनिराज गुरुङ
२०७६ फाल्गुण २४ शनिबार १७:०४:००
Read Time : > 3 मिनेट
फिचर

अमेरिकामा छुर्पी बेचेको पैसाले नेपालका गाउँ–गाउँका विद्यालयमा पुस्तकालय

Read Time : > 3 मिनेट
मनिराज गुरुङ
२०७६ फाल्गुण २४ शनिबार १७:०४:००

सदरमुकाम खाँदबारीमै घर भए पनि रामबहादुर श्रेष्ठले विद्यालय शिक्षा पूरा गर्न पाएका थिएनन् । उनकी श्रीमती मनमाया श्रेष्ठले त झन् साँवा अक्षर पनि चिन्न पाएकी थिइनन् । त्यसैले, श्रेष्ठको सपना थियो, देशैभरका विभिन्न सरकारी विद्यालयमा पुस्तकालय स्थापना गर्ने ।

आफूहरूले राम्रो शिक्षा लिन नपाएको पीडामा मल्हम लगाउन शिक्षालाई केन्द्रमा राखेर उनले २०६८ मा श्रीमती र आफ्नो नाममा ‘मनराम प्रतिष्ठान–२००५’ स्थापना गरे । तर, आफ्नो जिल्लामा मात्र होइन, देशभरका आधा जिल्लामा मात्र पुस्तकालय स्थापना गर्ने मौका जुर्‍यो उनलाई ।

दुवै मृगौला खराब भएका उनले केही वर्ष डाइलासिस गरेर आफ्नो जीवन लम्ब्याए । तर, उनको १९ असोज २०७२ मा देहान्त भयो । ८ माघ २००५ मा जन्मिएका रामबहादुर ६७ वर्ष बाँचेर संसारबाट बिदा भएपनि उनको सपनालाई श्रीमती मनमाया श्रेष्ठ तथा छोराहरू सुजन र सुमनले अगाडि बढाएका छन् ।

मनराम प्रतिष्ठानले अहिले देशभरका सबै जिल्लामा गरी एक सय ५४ वटा सरकारी विद्यालयमा ‘मनराम पुस्तकालय’ स्थापना गरेको छ । पुस्तकालयका लागि प्रतिष्ठानले पहिलो चरणमा ३५ हजार रुपैयाँ बराबरको पुस्तक, कम्प्युटर र एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न ९० हजार रुपैयाँ दिने गरेको छ । १० हजार रुपैयाँ चाहिँ सोही विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले थप गर्नुपर्ने छ भने अक्षयकोषको ब्याजबाट पुस्तकालयका लागि आवश्यक सामाग्री मात्रै खरिद गर्नुपर्ने सर्त रहेको छ ।

प्रतिष्ठानका उपाध्यक्ष सुजन श्रेष्ठका अनुसार त्यसरी पुस्तकालय स्थापना गरिएका विद्यालयका एक शिक्षकलाई काठमाडौंसम्म आउने–जाने व्यवस्था र पुस्तकालय सम्बन्धी तालिमको समेत व्यवस्था गरिदिने गरिएको छ । एक सय ५४ वटा पुस्तकालय स्थापना गरिसकेपछि प्रतिष्ठानले अहिले थप पुस्तकालय स्थापनाको अभियान बन्द गरेको छ । सुजन भन्छन्, ‘अब भएका पुस्तकालयलाई नै थप स्रोत साधन सम्पन्न बनाउनेतिर ध्यान दिन थालेका छौँ ।’

लामो समय अमेरिकामा बिताएका रामबहादुरले पछिल्लो समय नेपालमै बसेर छोराहरूको साथ र सहयोगमा व्यापार सुरु गरेका थिए । कृषिजन्य उत्पादन अमेरिका निर्यात गर्न उनीहरूले सन् २००३ मा ‘मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालि’ स्थापना गरेका थिए । यो  कम्पनीको मुख्य व्यापार अमेरिकामा छुर्पी निर्यात हो ।

अमेरिकामा छुर्पी निकै लोकप्रिय रहेको छ । ‘हिमालय डग च्यू’ ब्राण्डमा निर्यात हुने छुर्पीको व्यापारले कम्पनीको कूल निर्यात व्यापारको करिब ८० प्रतिशत हिस्सा ओगटेको सुजनले बताए ।

रामबहादुरका छोराहरू सुजन र सुमनले अमेरिकामा बढ्दो छुर्पी व्यापारलाई मनराम प्रतिष्ठानको लाइब्रेरीसँग जोड्ने सोच बनाएका छन् । त्यसैले, विभिन्न विद्यालयमा स्थापना गरिएका पुस्तकालयलाई स्रोत साधन सम्पन्न बनाउन ‘एक प्याकेट छुर्पी, एक पुस्तक’को अवधारणा अगाडि सारिएको छ । यो ‘कन्सेप्ट’लाई अहिले अन्तिम रूप दिने काम भइरहेको छ । सुजन भन्छन्, ‘आगामी आर्थिक वर्षबाट यो नयाँ कन्सेप्ट पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।’

अमेरिकी कुकुरलाई नेपाली छुर्पी
नेपाली युवा–युवतीबीच लोकप्रिय छुर्पी (दुर्खा) अमेरिकामा भने कुकुरका लागि पोषिलो खाना हो । ‘हिमालयन डग च्यू’ ब्राण्डका रूपमा ‘मनराम हिमालयन ह्याण्डिक्राफ्ट’ले ‘हिमालयन पेट सप्लाई’का रूपमा करिब एक दशकदेखि नेपाली छुर्पी अमेरिका निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक करिब ५० करोड रुपैयाँको छुर्पी अमेरिका निर्यात गर्ने गरेको छ ।

सन् २००७ को सेप्टेम्बरमा रामबहादुर श्रेष्ठ केही केजी छुर्पी लिएर अमेरिका गए । त्यसअघि नै उनका छोराहरू सुजन र सुमन तथा उनीहरूका विजनेस पार्टनर निशेषले छुर्पी निर्यातबारे लामो अध्ययन गरिसकेका थिए । उनीहरू छुर्पी बोकेर कुकुर घुमाउन ल्याउने पार्कमा पुगे । ‘करिब दुई घन्टापछि पहिलो प्याकेट बिक्री भयो,’ सुजन भन्छन्, ‘बाँकी ४९ प्याकेट चाहिँ पार्क नजिकैको ‘पेट स्टप’का आलन र बारबरालाई सुम्पिएका थियौँ ।’ आलन र बारबराले एक सातापछि २० केजी छुर्पी अर्डर गरे । त्यसपछि बढेको छुर्पी व्यापारको रफ्तार निरन्तर छ ।

व्यापार विस्तारका लागि नेपाल
सन् २०१३ मा बुबा बिरामी भएपछि सुजन नेपाल फर्किए । लामो समय स्वदेशमा बस्नुपर्ने भएसँगै उनले व्यापार विस्तारको थप योजना पनि बनाए । उनले कम्पनीका लागि आफ्नै उद्योग स्थापना गर्ने योजना बनाए । 

इलामको गोदक उद्योग स्थापनाका लागि वातावरणीय दृष्टिले उपयुक्त ठहर भयो । र, उद्योग स्थापना गरियो । कम्पनीसँग इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायतका जिल्लाका तीन सय डेरी आबद्ध छन् । ती डेरीहरूमा दूध जम्मा गर्ने कृषक करिब १२ हजार छन् ।

छुर्पीको गुणस्तर एकनास कायम गर्न कम्पनीले दूध बिक्री गर्ने कृषक र छुर्पी बनाउने कृषकलाई तालिमसमेत दिँदै आएको छ । कृषकलाई गम बुट लगाउने, गाई दुहुँदा थुन राम्ररी सफा गर्नेलगायतका तालिम दिँदै आएको सुजनले बताए । त्यस्तै, छुर्पी बनाउने कृषकलाई सफा गरेर हात धुने, एप्रोन लगाउने, लामो कपाल भए बाँध्ने वा टोपी लगाउनेलगायतका विषयमा पनि तालिम दिने गरिएको उनले बताए ।

उनीहरूले अमेरिकामै पनि उद्योग स्थापना गरेका छन् । अमेरिकामा उत्पादन गरिएको याकी च्यू, च्यू एण्ड च्यू चाहिँ थोरै अमेरिकामै र बढीजसो युरोप तथा अष्ट्रेलियामा बिक्री गर्ने गरिएको छ । नेपाली डेरी उत्पादन युरोप र अष्ट्रेलियामा स्वीकार नगरिने हुनाले त्यस्तो गर्नुपरेको भनाइ छ सुजनको । उनीहरूले अमेरिकामा पनि करिब एक हजार जनालाई रोजगारी दिएका छन् ।

व्यवसायमा विविधीकरण
मनराम हिमालयन ह्याण्डिक्राफ्टले नेपालबाट फेल्टका सामान पनि निर्यात गर्ने गरेको छ । भेडाको ऊनबाट बन्ने सामान बिरालोको खेलौनाका रूपमा प्रयोग हुन्छ । कम्पनीले अमेरिकामा सुकुटी निर्यात गर्ने अनुमति पनि पाएको छ । र, राँगाको सुकुटी अमेरिका नै निर्यात गर्ने सोचका साथ उत्पादन पनि सुरु गरिसकेको छ ।
कम्पनीले प्याकेट खोलेर तत्काल खान योग्य ‘सही सुकुटी’ उत्पादन सुरु गरेको छ । ‘अहिले थोरै मात्र उत्पादन गर्न सकिएकाले निर्यात गर्न सकिएको छैन,’ सुजनले भने, ‘गुणस्तरमा थप सुधार र ठूलो परिमाणमा उत्पादन हुन थालेपछि अमेरिका निर्यात गरिने छ ।’ यसैका लागि झापामा ठूलो लगानी गरेर सुकुटी उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारी भइरहेको उनले बताए ।

‘मनराम हिमालयन ह्याण्डिक्राफ्ट’ले गत वर्ष ८ मिलियन डलरभन्दा बढीको सामान अमेरिका निर्यात गरेको छ । यो नेपाल–अमेरिका निर्यात व्यापारको करिब १० प्रतिशत हो । बुबा रामबहादुरको पदचाप पछ्याउँदै समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका सुजनलाई सरकारले निर्यात व्यापारमा पु¥याएको योगदानको कदर गर्दै महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सिआइपी’को सम्मानसमेत प्रदान गरेको छ ।