मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दुबईका शासक शेख र राजकुमारी हाया गत साल लण्डनमा भएको एक कार्यक्रममा । फोटो : ब्लुमबर्ग
एजेन्सी
२०७६ फाल्गुण २३ शुक्रबार १७:५३:००
Read Time : > 3 मिनेट
विश्व

बेलायती उच्च अदालतको ठहर : दुबईका शासकले आफ्नै दुई छोरी अपहरण गरे  

Read Time : > 3 मिनेट
एजेन्सी
२०७६ फाल्गुण २३ शुक्रबार १७:५३:००

दुबईका अरबपति शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमविरुद्ध उनकी पूर्व पत्नी राजकुमारी हाया बिन्त अल हुसेनले लगाएको अपहरण, यातना, धम्कीको आरोपलाई बेलायतको उच्च अदालतले सही ठहर्याएको फैसला बिहीबार ९२२ फागुन० देखि श्रृङ्खलाको रुपमा प्रकासित भएको छ । शेख मोहम्मदले असफलतापूर्वक फैसलालाई सार्वजनिक नगर्ने प्रयास गरेका थिए ।

अर्वपति शेख मोहम्मद बिन रसिद अल मक्तुम दुबईका शासकमात्र होइनन्, संयुक्त अरव इमिरेट्सका उपराष्ट्रपति र प्रधानमन्त्री समेत हुन् । उनीमाथि अपहरण, यातना, धम्कीको आरोप लगाउने उनकी पूर्व पत्नी राजकुमारी हाया बिन्त अल हुसेन चाहिँ जोर्डनका पूर्व राजा स्वर्गीय राजा हुसेनकी छोरी हुन् । उनीहरुबीच सन् २००४ मा विवाह भएको थियो । 

यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने, राजकुमारी हायाको आफ्नै एक पूर्व अंगरक्षकसँग यसबीचमा सम्बन्ध स्थापित भएको थियो । बेलायतको ‘डेली मेल’ को अनलाइन संस्करणले उल्लेख गरे अनुसार रसेल फ्लावरसँग अनैतिक सम्बन्ध स्थापित भएको थियो । फ्लावरका लागि राजकुमारी हायाले महंगो बन्दुक, गाडी र घडी किनिदिएकी छन् । र, यसै विषयले हायासँग शेखको तनाव बढेको हो ।
 
बीबीसीका अनुसार, शेख मोहम्मदले फैसला सार्वजनिक नगर्ने असफल प्रयास गरेका थिए । आठ महिना अगाडिदेखि सुरु भएको यो हाइप्रोफाइल मुद्दामा गत वर्ष धम्की र त्रासका कारण आफू खतरामा रहेको भन्दै दुबई भागेकी राजकुमारी हायाको पक्षमा एक ‘फ्याक्ट फाइन्डिङ जजमेन्ट’ (एफएफजे) प्रकाशित गरेको छ । 

शेख मोहम्मदले फैसलालाई सार्वजनिक गर्नबाट रोक्ने प्रयास गरेका थिए । तर, यसमा उनी असफल रहे । यो विषय सार्वजनिक हितमा भएको भन्दै उनको अपिल खारेज गरेको छ । अदालतले दुबईका शासक ‘अदालतप्रति खुल्ला र इमान्दार नभएको’ आरोप समेत लगाएको छ ।   

फैसला प्रकाशित भएपछि जारी गरिएको विज्ञप्तिमा शेख मोहम्मदले भनेका छन्, ‘सरकार प्रमुखको रुपमा अदालतको तथ्य पत्ता लगाउने प्रक्रियामा सहभागी हुन म सक्षम थिइनँ । त्यसैले ‘तथ्य पत्ता लगाउने’ नाममा जुन फैसला भएको छ, यसले एक पक्षको कथामात्र बताउँछ ।’ 

उनले उक्त मुद्दा निजी मामिला भएको बताउँदै भनेका छन्, ‘म मिडियासँग उनीहरुले हाम्रो परिवार र  बालबच्चाको गोपनियतालाई सम्मान गरुन् भन्ने आग्रह गर्न चाहन्छु र बेलायतमा उनीहरुको जीवनमा दखल नपुर्याउन पनि आग्रह गर्दछु ।’  

लामो समयसम्म साक्षीहरुको बयान सुनेपछि अदालतले शेख मोहम्मदलाई अर्की श्रीमतीतर्फका दुई छोरीलाई अपहरण गरेको र जबरजस्ती फिर्ताका लागि जिम्मेवार रहेको ठहर गरेको छ । 

त्यसमध्येकी एक शेखा सम्सा सन् २००० मा बेलायत भागेकी थिइन् । तर केही समयपछि शेखका सहयोगीहरुले क्याम्ब्रिजसायरबाट उनलाई जबरजस्ती दुबई पुर्याए । त्यसपछि उनलाई त्यहाँ बन्दी बनाइयो । अपहरणको छानविन गर्न क्याम्ब्रिजसायर प्रहरी दुबई जान खोजेको थियो, तर यसमा शेख सहमत भएनन् ।  

शेखकी अर्कै श्रीमतितर्फकी छोरी राजकुमारी शेखा लतिफाले सन् २००२ र सन् २०१८ मा दुईपटक आफ्ना बाबुको घरबाट भाग्ने असफल प्रयास गरेकी थिइन् । भाग्ने प्रयास गरेपछि शेखले उनलाई पक्राउ गर्न लगाए । र, दुबईमा तीन वर्षभन्दा बढी समय जेलमा राखे । उनले भाग्नका लागि दोस्रो प्रयास गरिन् । त्यस क्रममा भारतीय सामुद्रिक तटबाट पक्राउ गरी उनलाई जबरजस्ती दुबई फिर्ता पठाइएको थियो । त्यसपछि उनी नजरबन्दमै रहिन् । 

लतिफाले आफूमाथि गम्भीर शारीरिक दुव्र्यवहार भएको भिडियो समेत सार्वजनिक गरिन् । त्यो भिडियोलाई बेलायती न्यायाधीशहरुले विश्वसनीय रहेको बताएका छन् । न्यायाधीशहरुले के पनि भनेका छन् भने, शेख मोहम्मद आफ्ना दुई छोरीलाई स्वतन्त्रताबाट बञ्चित गरिरहन चाहन्छन् । जोर्डनका राजा स्व हुसेनका छोरी ४५ वर्षीया राजकुमारी हाया शेखकी छैठौं श्रीमती थिइन् । उनीहरुका ७ र ११ वर्षका दुई बच्चा छन् ।

राजकुमारी हायाले सुरुमा उनले दुई राजकुमारीहरु घरबाट भागेको र उनीहरुलाई सुरक्षित राख्न दुबई ल्याइएको भन्ने कुरामा विश्वास गरेकी थिइन् । शेखका सहयोगीहरुले उनलाई ती छोरीलार्ई उद्धार गरिएको र परिवारसँग सुरक्षित रहेको बताएका थिए ।

सुरुमा विश्वास गरेपनि सन् २०१९ को सुरुवातपछि हायालाई शंका लाग्न थाल्यो । उनी छोरीहरुको अवस्थाबारे चिन्तित हुन थालिन् । सम्बन्ध चिसिँदै गएपछि शेख मोहम्मदसँग सम्बद्ध व्यक्तिहरुले उनलाई धम्की दिन सुरु गरेका थिए । 

दुईपटकसम्म उनको सिरानीमा बन्दुक राखिएको थियो भने एउटा हेलिकोप्टर उनको घरअगाडि नै पुगेको थियो । हेलिकोप्टरमा सवार व्यक्तिहरुले उनलाई टाढाको गाउँमा रहेको जेलमा राख्ने धम्की समेत दिएका थिए । यसै आधारमा न्यायाधीश एन्ड्रयु म्याकफर्लेनले हायाको सुरक्षामा ध्यान दिन समेत आदेश जारी गरेका छन् ।     

सुनुवाईपछि न्यायाधीशले २०१८ को अन्त्यदेखि नै शेखले हायालाई धम्काउने, डर देखाउने काम गरेको र त्यसका लागि अरुलाई पनि प्रोत्साहित गरेको फैसला सुनाएका छन् । 

हाया सन् २०१९ को अप्रिलमा दुई बच्चा लिन बेलायत पुगिन् । त्यसक्रममा उनले सन् २०१९ को मेमा शेखले आफूलाई ‘तिमी र बच्चाहरु बेलायतमा कहिल्यै सुरक्षित हुँदैनौं’ भनेको दावी गरिन् । 

सेख मोहम्मदको धम्कीका कारण हायामाथि खतरा भएको र बच्चालाई अपहरण गरी जवरजस्ती दुबई फिर्ता पठाउन सक्ने भन्नेबारे अदालतले सुनुवाई गर्यो । अदालतले शेखले कसरी उनका मिडियालाई राजकुमारी हायाबारे नकारात्मक लेख लेख्न प्रयोग गरेको थियो । र, ती धेरै ‘पूर्णतया गलत’ भएको भन्ने विषयमा सुनुवाई गरेको थियो ।  

अदालतले गरेको फैसला र उनीमाथिका आरोपहरु शेख मोहम्मदका लागि ठूलो समस्या हुन् । यसकारण पनि उनले यी फैसलाहरु सार्वजनिक नगर्न सकेसम्म प्रयास गरिरहेका छन् । त्यसैले, हालै सार्वजनिक विज्ञप्तिमा उनले भनेका थिए, ‘मेरो बालबालिकाको हित र रक्षाका लागि हाम्रो तर्फबाट अपिल गरिएको थियो । तर अदालतको यो फैसलाका कारण मेरा छोराछोरीहरु मिडियाबाट जोगिन सक्दैनन् ।’  

शेख मोहम्मद मध्यपूर्वमा धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । उनले दुबईलाई विशाल पर्यटन र विश्वको महत्वपूर्ण व्यावसायिक गन्तव्य बनाएका छन् । उनको नेतृत्वमा युएई र दुबईले तीब्रतर रुपमा आर्थिक विकास गरेपनि आफ्नै पूर्व श्रीमतिले लगाएको आरोप र त्यसलाई बेलायती उच्च अदालतले सदर गरेपछि उनी अप्ठेरोमा परेका छन् । 

स्मरणीय छ, उनले उच्च शिक्षा बेलायतको क्याम्ब्रिज विश्व विद्यालयबाट गरेका हुन् भने सैनिक तालिम पनि बेलायतबाटै पाएका हुन् ।