मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी न्युयोर्क
२०७६ फाल्गुण २३ शुक्रबार ०७:४५:००
Read Time : < 1 मिनेट
विश्व

धनाढ्य ब्लुम्बर्गले त्यागे अमेरिकी राष्ट्रपतिको दौड

Read Time : < 1 मिनेट
एजेन्सी न्युयोर्क
२०७६ फाल्गुण २३ शुक्रबार ०७:४५:००

न्युयोर्कका पूर्वमेयर माइकल ब्लुम्बर्गले अमेरिकी राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी परित्याग गरेको घोषणा गरेका छन् । विपक्षी डेमोक्रेटिक पार्टीबाट ब्लुम्बर्ग राष्ट्रपतिको आकांक्षी थिए । 

उम्मेदवार चयनका लागि भएको आन्तरिक प्रतिस्पर्धामा सोचेजस्तो नतिजा नआएपछि विज्ञप्ति जारी गर्दै उनले राष्ट्रपतिको दौडबाट बाहिरिएको घोषणा गरे । उनले अब पार्टीभित्र राष्ट्रपतिका अर्का आकांक्षी जो बाइडेनलाई आफ्नो समर्थन रहने बताए । ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिनाअघिदेखि म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दै छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ट्रम्पलाई आगामी राष्ट्रपतीय चुनावमा पराजित गर्न डेमोक्रेटिक पार्टी एकजुट हुनुको विकल्प छैन । पछिल्लो मतदानको नतिजापछि अब प्रस्ट के भएको छ भने मेरो उम्मेदवार जो बाइडेन हुनुहुन्छ, र उहाँले चुनाव जित्ने सम्भावना बढेको छ ।’

उम्मेदवार चयनका लागि भएको डेमोक्रेटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा प्रारम्भिक रुपमा जो बाइडेन अघि छन् । १४ वटा राज्यको चुनावी नतिजाअनुसार बाइडेनको पक्षमा ५ सय ९५ र उनका निकटतम प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सका पक्षमा ५ सय २८ प्रतिनिधि देखिएका छन् । न्युयोर्क सहरका पूर्वमेयर ब्लुम्बर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गरे । तर, उनले समोआ द्वीपमा मात्र विजय हासिल गरे ।