मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रेरणा शाह (इन्सेटमा) र उनी बस्दै आएको छाउनीस्थित घरजग्गा
२०७६ फाल्गुण २२ बिहीबार १९:१२:००
Read Time : > 2 मिनेट
समाचार

छाउनीको घरजग्गा छाड्ने तयारीमा पूर्व अधिराजकुमारी प्रेरणा, समय दिन सरकारलाई पत्राचार (भिडियो)

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण २२ बिहीबार १९:१२:००

पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाह (सिंह)ले दाबी गर्दै आएको छाउनीस्थित १५ रोपनी १ आना घरजग्गा खालि गर्नका लागि नेपाल ट्रष्टसँग केही समय माग गरेकी छन् । 

शाहले प्रयोग र दाबी गर्दै आएको सो घरजग्गा सर्वाेच्च अदालतले २४ माघमा नेपाल ट्रष्ट अन्तर्गतको हुने अन्तिम फैसला सुनाएको थियो । त्यसपछि शाहले उपप्रधान एवं रक्षामन्त्रीको जिम्मेवारीमा रहेका नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेललाई एक पत्र लेख्दै घरजग्गा खालि गर्न समय माग गरेकी हुन् । 

सर्वाेच्च अदालतले अन्तिम फैसला सुनाएपछि उनले सो घरजग्गा छाड्नुपर्ने हुन्थ्यो । नछाडेको स्थितिमा सर्वाेच्च अदालतको फैसला कार्यान्वयन इकाइले बल प्रयोग गरेर भए पनि खालि गराउन सक्थ्यो । यद्यपी, फैसलाको पूर्णपाठ नआउन्जेलसम्म उनले छाउनीको सो घरजग्गामा बसोबास लम्ब्याउन सक्थिन् । 

तर, उनले फैसलाको पूर्णपाठ प्रतीक्षा नगरी खालि गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि केही समय दिन आग्रह सहितको पत्राचार गरिन् । 


 
‘उहाँ (प्रेरणा) ले एक पत्रमार्फत् तत्काल घरजग्गा खाली गर्न नसक्ने बताउँदै केही समय दिन निवेदन दिनु भएको छ’, नेपाल ट्रष्टका सूचना अधिकारी सोभित रिजालले नयाँ पत्रिकासँग भने, ‘अदालतको फैसला आएपछि केही दिनमै उहाँले ट्रष्टका अध्यक्ष (उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल)लाई सम्बोधन गर्दै पत्र लेख्नु भएको थियो ।’

रिजालका अनुसार, उनलाई कति समय समय दिने भन्ने विषयमा अब बस्ने बोर्ड बैठकले छलफल गरेर निर्णय गर्नेछ ।  

राजा वीरेन्द्र–ज्ञानेन्द्रकी फूपु स्वर्गीय विजया शाह (राजा त्रिभुवनकी अविवाहित कान्छी छोरी)ले उपभोग गर्दै आएको छाउनीको सो घरजग्गा शाही शासनकाल १० जेठ २०६२ मा तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो स्वरुप दिएका थिए । प्रेरणाको त्यस अगावै राजबहादुर सिंहसँग विवाह भइसकेको थियो ।  

त्यसअघि भीमसेन गुठी तथा बन्धन गुठीको नाममा रहेको सो घरजग्गा २ जेठ (०६२) मा ‘श्री ५ महाराजधिराज, नारायणहिटी राजदरवार’का नाममा ल्याइएको थियो । 

तर, गणतन्त्र स्थापना भएपछि सरकारले नेपाल ट्रष्ट स्थापना गरी राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति ट्रष्टमा ल्याउने निर्णय ग¥यो । सोही निर्णय बमोजिम छाउनीको सो घरजग्गा पनि नेपाल ट्रष्ट मातहत ल्याउने निर्णय भयो । 
त्यसपछि ट्रष्टले प्रेरणालाई सो घरजग्गा छाडिदिन आग्रह गर्दै पत्राचार गर्यो । पत्राचारपछि मात्र आफूमाथि अन्याय भएको बताउँदै प्रेरणाले सर्वाेच्चमा मुद्दा दर्ता गरिन् । 

सर्वाेच्चले प्रेरणाको पक्षमा फैसला सुनायो । सो फैसला उपर ट्रष्टले सर्वाेच्चमा पुनरावलोकनको निवेदेन दियो । ट्रष्टको माग बमोजिम तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले कानुन बमोजिम सो घरजग्गा ट्रष्टको हुने निर्णय सुनायो ।

आफू प्रतिकूल निर्णय आएपछि प्रेरणा पनि सर्वाेच्च अदालत पुगिन् । तर, २४ माघ (०७६) मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहितको सम्बैधानिक इजलासले सो घरजग्गा ट्रष्टको हुने अन्तिम फैसला सुनाइदियो । स्मरणीय छ, प्रेरणाको पक्षमा पहिलो फैसलापनि राणाकै इजलासले गरेको थियो ।  

पहिलो फैसला प्रेरणाकै पक्षमा भएकाले उनी त्यहाँ बस्ने भइहालिन् । तर, दोस्रो फैसला आफूविरुद्ध आएपछि फेरि सोविरुद्ध रिट दायर गरिन् । तेस्रो फैसला आफू प्रतिकूल भएपछि उनले सरकारसँग केही समय माग गर्दै घर सर्ने तयारी गरेकी हुन् । 

नेपाल ट्रष्टकी कानुन मामिला हेर्ने उपसचिव चमिला भट्टराईले पनि प्रेरणाको तर्फबाट निवेदन आएको पुष्टि गरिन् । ‘उहाँ (प्रेरणा) लामो समयदेखि बस्दै आएको ठाउँ हो त्यो । जे भएपनि कानुन अनुसार ट्रष्टमै आउनुपर्नेे जग्गा ढिलो–चाँडो आउने परिस्थिति बनेको छ’ भट्टराईले नयाँ पत्रिकासँग भनिन्, ‘ठाउँ खाली गर्न केही समय लाग्छ नै । त्यसैले, आवश्यकता अनुसार उहाँलाई समय दिन्छौँ । कति समय दिने भन्ने निर्णय चाहिँ अब बस्ने बोर्डको बैठकले गर्छ ।’