१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी काबुल
२०७६ फाल्गुण २२ बिहीबार ०८:१५:००
Read Time : > 1 मिनेट
विश्व

अफगानिस्तानमा अमेरिकाको हवाई हमला

Read Time : > 1 मिनेट
एजेन्सी काबुल
२०७६ फाल्गुण २२ बिहीबार ०८:१५:००

तालिवानसँगको शान्ति सम्झौतापछि अमेरिकाले पहिलोपटक अफगानिस्तानमा हवाई हमला गरेको छ । तालिवानी विद्रोहीविरुद्ध बुधबार हेल्मन्डस्थित नहर ई साराजमा हवाई हमला गरिएको अमेरिकी सेनाका प्रवक्ता सोन्नी लेगेट्टले ट्विटरमार्फत जानकारी दिएका छन् । 

अफगानी सेनाको चेकप्वाइन्टमा आक्रमण गर्दै गरेका विद्रोहीविरुद्ध निशाना लगाइएको उनले जनाएका छन् । यसअघि मंगलबार मध्यराति तालिबानी विद्रोहीले हमला गर्दा दोहोरो भिडन्तमा कम्तीमा १९ जना अफगानी सैनिक मारिएका थिए । 

प्रान्तीय राजधानी कुन्दुज सहरबाहिरको बाघ ई सिर्कातस्थित सैनिक शिविरमा भएको आक्रमणमा १२ अफगान सैनिक मारिएको र चारजना घाइते भएको प्रान्तीय परिषद्का सदस्य फावजिया जवादले जानकारी दिए । कुन्दुज सहरकै पूर्वीभागमा पर्ने इलाकामा तालिबानी लडाकु समूहले गरेको अर्को छुट्टै आक्रमणमा परी चारजना स्थानीय प्रहरी मारिएका छन् । त्यस्तै, बाल्ख प्रान्तमा तालिवान लडाकुको आक्रमणमा परी अफगान स्थानीय प्रहरीका तीन सदस्य मारिएका छन् । बाल्ख प्रान्तको बाल्ख जिल्लाको समार्कानयान गाउँमा सो आक्रमण भएको थियो । 

११ दिनपछि हिंसा 

अफगानिस्तानमा ११ दिनपछि तालिवानविरुद्ध फेरि अमेरिकाले आक्रमण गरेको हो । यसअघि अमेरिका र तालिबान समूहबीच गत शनिबार कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा दुवै पक्षले हिंसात्मक गतिविधि कम गर्ने उल्लेख थियो । सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिबानी समूहका नेता बतारको राजधानीमा पुगेका थिए ।

सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रद्वारा अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)अन्तर्गत कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ । मंगलबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरसँग झन्डै ३५ मिनेट फोनवार्ता गरेका थिए । 

‘तालिवानका नेतासँग आज निकै राम्रो  कुराकानी भयोे । मुल्लाहसँगको मेरो सम्बन्ध निकै राम्रो छ । हामीले आज लामै कुराकानी गरेका छौँ । उनीहरू (तालिवान समूह) हिंसा रोक्न चाहन्छन्,’ वासिंटनमा आयोजित पत्रकार सम्मेलनमा फोनवार्ताबारे ट्रम्पले भनेका थिए ।