मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २२ बिहीबार ०७:१८:००
Read Time : > 1 मिनेट
राजनीति

राष्ट्रिय सभाका १८ सांसदको शपथ : कानुन निर्माणमा विशेष भूमिका खेल्ने प्रतिबद्धता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २२ बिहीबार ०७:१८:००

 राष्ट्रिय सभाका नवनिर्वाचित सांसदले शपथग्रहण गरेका छन् । उनीहरूले आफूहरू कानुन निर्माण र स्थानीय समस्या सम्बोधन गर्न विशेष भूमिका खेल्ने बताएका छन् । बुधबार संघीय संसद्को ‘ल्होत्से’ हलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले १८ जना सांसदलाई शपथ ग्रहण गराएका हुन् । बिहान ११ बजेका लागि शपथग्रहणको समय तोकिएको भए पनि सांसदहरू साढे १० बजे नै पुगिसकेका थिए । शपथग्रहणपश्चात् नवनिर्वाचित सबै सांसदलाई संविधान प्रदान गरिएको छ । 

बैठकमा नवनिर्वाचित सांसदमध्ये नारायणकाजी श्रेष्ठ र शेखरकुमार सिंहले मन्तव्य राखेका थिए । संसद्मा बोल्दै श्रेष्ठले व्यवहारमा नै आर्थिक विकासको कार्यभार पूरा गर्नुपर्ने बताए । पर्याप्त स्रोतसाधन हुँदाहुँदै पनि ४० लाख युवाले जनशक्ति खाडीमा पसिना चुहाउनुपरेको उल्लेख गर्दै श्रेष्ठले अब समृद्धिको बाटोमा लाग्न सबै शक्ति एकजुट भएर लाग्नुपर्नेमा बताए । ‘देशमा अब निरंकुशता छैन । राजनीतिक संक्रमण पनि सकियो । राजनीतिक स्थिरता पनि छ । अब समृद्ध नेपालको कार्यभार पूरा गर्नुको विकल्प छैन ।

सत्ताधारी र प्रतिपक्ष दुवैले यसप्रति सोच्नुपर्नेछ,’ उनले भने । प्राकृतिक रूपमा पर्याप्त स्रोतसाधन भए पनि नेपाल अशिक्षा, गरिबी, भोकमरीजस्ता समस्याबाट पिल्सिनुपरेको भन्दै उनले यसको अन्त्यका लागि सबै शक्तिलाई एकजुट हुनपर्ने बताए । सदनमा झन्डै २६ मिनेट बोलेका श्रेष्ठले राष्ट्रिय सभाको  महत्वबारे   प्रस्ट्याउँदै भने, ‘लोकतन्त्रको एउटा सुन्दर थलोको रूपमा संघीय संसद् हो र संघीय संसद्को पनि यो अविच्छिन्न संस्था हो । स्थायी संसद्को मर्मलाई आत्मसात् गर्नेगरी यसले लोकतन्त्रमा अभ्यास गर्नुपर्छ । परिपक्वता र विवेकको संसद्को रूपमा आफूलाई परीक्षणबाट पुष्टि गर्नुपर्छ । र, यो संघीयताको अत्यन्तै संवेदनशील प्रतिनिधित्व गर्ने थलो हो । यसले संघीयताको पनि रक्षा गर्नुपर्ने हुन्छ ।’ 

अर्का सांसद शेखरकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरे । नागरिकले सरकारमाथि आशा र विश्वास राखेको भन्दै उनले यस सरकारले सबै निकास दिने अपेक्षा व्यक्त गरे । उनले आफ्नो पार्टीबाट राष्ट्रिय सभाको गौरवमय इतिहासमा आँच आउन नदिने बताउँदै त्यसका लागि आफूहरू प्रतिबद्ध रहेको सिंहको भनाइ थियो । 
शपथग्रहणपछि सांसद देवेन्द्र दाहालले कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताए ।

‘विगतमा जनताको पक्षमा आवाज उठाउने काम गरियो । अब कानुन निर्माण गर्नुछ । कानुन निर्माण नै मेरो प्राथमिकता रहन्छ,’ सांसद दाहालले भने, ‘देशका अन्य विषयमा बोल्ने कुरा सधैँ भइहाल्छ ।’ कर्णालीबाट प्रतिनिधित्व गरेकी सुमित्रा बिसीले कर्णालीका आवाज उठाउने बताइन् । समृद्ध कर्णाली बनाउन आफूले विशेष भूमिका निभाउने उनको भनाइ थियो । सांसद इन्दिरादेवी गौतमले थप जिम्मेवारी र गम्भीर ठाउँमा आइपुगेको भन्दै राष्ट्रिय सभामा देशका समस्याबारे आवाज उठाउने बताइन् । 

प्रधानमन्त्रीको स्वास्थ्यलाभको विशेष प्रस्ताव पास
 प्रतिनिधिसभाको बुधबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलता र शीघ्र स्वास्थ्य लाभको कामनासहित विशेष प्रस्ताव पारित गरेको छ । सभामुख अग्नि सापकोटाले पढेको विशेष प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको यो बैठक सम्माननीय प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलताको साथ सम्पन्न होस् भन्ने कामना गर्दछ । साथै, उहाँको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ ।’ प्रस्तावमा सांसदहरूले ताली बजाएर सहमति जनाएका थिए ।