झापाको सीमावर्ती क्षेत्र भारतको नक्सलबाडीमा सन् १९६० को दशकको अन्त्यताका चारु मजुमदारको नेतृत्वमा कम्युनिष्ट आन्दोलन चर्किंदै थियो । त्यसको प्रभाव सीमा जोडिएको नेपालको झापामा पनि पर्ने नै भयो ।
युवाहरूमा राजनीतिक चेतना बढ्दै थियो । सामन्तवर्गको थिचोमिचो निर्मूल पार्न केही युवाहरू कम्युनिष्ट विचारधारा बोकर जोडतोडले लागिपरेका थिए । त्यसलाई नेपालको राजनीतिक इतिहासमा ‘झापा आन्दोलन’ अर्थात् ‘झापा विद्रोह’ भन्ने गरिएको छ ।
सोही आन्दोलनका एक सशक्त योद्धा हुन् नेत्र घिमिरे, जो पक्राउ परेपछि अन्य ४ जना सहकर्मीहरु– रामनाथ दाहाल, वीरेनसिंह राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल साथ सुखानी (झापा–इलामको सीमाना) को जंगलमा पुर्याएर २१ फागुन २०२९ मा मारिएका थिए ।
तिनै घिमिरेको तत्कालीन विद्रोह चित्र उनकी श्रीमती जीवन घिमिरेको शब्दमा :
उहाँसँग मेरो विवाह ०२६ सालमा भएको हो । हाम्रो विवाह हुँदा उहाँको शिक्षक जीवन भर्खर सुरू भएको थियो । त्यो बेला नेत्र कमरेडको उमेर २४ वर्षमात्र थियो ।नेत्र घिमिरेले सुरुमा गरामनी स्कूलमा पढाउनुहुन्थ्यो । ‘राजनीति पढायो, कोटेशन पढायो’ भनेर सामन्ती र हुुने–खानेहरुले विरोध गरेपछि शिक्षकको जागिर छोडेर यत्तिकै बस्नुभयो ।
केही महिनापछि मालपोत कार्यालयको भूमिसुधार सम्बन्धी फाँटमा खरदार पदमा जागिर सुरू गर्नुभयो । कार्यालयका प्रमुख माधव घिमिरे हुनुन्थ्यो । नेत्र कमरेड उहाँको विद्यार्थी पनि भएकाले जाखिर खान सजिलै भयो ।
घूस नखाने र कार्यालयका अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उहाँको सदाचार चरित्र कार्यालयकै कर्मचारीलाई स्वीकार्य नभएपछि सकसपूर्ण मालपोतको खरिदार पदबाट केही दिनमै राजीनामा दिएर सक्रिय राजनीतिमा लाग्नु भयो ।
त्यो समयमा पेशाकै रुपमा प्रगतिशील राजनीति गर्न सहज थिएन । माक्र्स र लेनिनका कोटेशन पढाएको गाउँका सामन्तले उहाँको खोइरो खन्थे । तरपनि शिक्षा र विद्यार्थीलाई साह्रै माया गर्ने नेत्र कमरेडले आँगन छेवैको गरामनी स्कूलका केही विद्यार्थीलाई घरमै बोलाएर पनि पढाउन छोड्नुभएन ।
विद्रोही र गाउँभँडुवाको आरोप केही मत्थर भएपछि केही महिनापछि पुनः गरामनी स्कूलमा पढाउन सुरू गर्नुभयो । औपचारिक अध्ययन मात्र होइन, विद्यार्थीहरूले राजनीतिको पनि अध्ययन गर्नुपर्छ भन्ने उहाँलाई लाग्थ्यो । स्कूलमा पढाउँदा कोर्सको मात्रै किताब नपढाएर कम्युनिस्ट राजनीतिका पुस्तकहरु पढाउनुहुन्थ्यो ।
नेत्र कमरेड, गरामनीकै वीरेन राजवंशी, शिवप्रसाद शिवाकोटी र मोहनचन्द्र अधिकारीबाट झापा आन्दोलन सुरु भएको हो । उहाँहरूको भेट पनि आन्दोलनकै दौरानमा भएको थियो । चारपानेका रामनाथ दाहाल सुरूमा नेत्र कमरेडहरूको समूह भित्र हुनुहुन्नथ्यो । अलिक पाको उमेरको उहाँ बाहिरबाटै सघाउनु हुन्थ्यो ।सामन्तहरूसँगको लडाइँमा नेत्र कमरेडलाई रामनाथ कमरेडको पनि साथ थियो । भूमिगत तरिकाले राजनीतिमा लाग्नुपर्छ भन्ने लाइनमा उहाँहरू हुनुहुन्थ्यो ।
रामनाथ कमरेडको गीत गाउनु हुन्थ्यो, कविता लेख्नुहुन्थ्यो । उहाँको यो प्रतिभा नेत्र कमरेडका लागि प्रिय थियो । नेत्र कमरेडचाहिँ यस्ता कुरा जान्नुहुन्नथ्यो । गरामनी स्कूलकै एउटा सांस्कृतिक कार्यक्रममा आयोजित एउटा नाटकमा नेत्र कमरेड शिक्षककै भूमिकामा एकपटक खेल्नुभएको चाहिँ सम्झन्छु ।
आन्दोलनको सुरूवाती चरणमा एक जना पुण्य शर्मा नाम गरेका नेता पनि हाम्रो घरमा आइराख्नु हुन्थ्यो । उहाँ नक्सलबाडीका कम्युनिष्ट नेता चारु मजुमदारको वर्गशत्रु सफायाको लाइनमा हुनुहुन्थ्यो ।
०२७ सालबाटै आन्दोलन सुरू भएपनि रामनाथ कमरेड सुरुमा ‘आन्दोलन नचर्काऔँ’ भन्नेमा हुनुन्थ्यो । तर नेत्र कमरेड, वीरेन राजवंशी जस्ता सुरा युवाहरु चाहिँ चारु मजुमदारको लाइनबाट प्रभावित भइहाल्नु भएछ । चारु मजुमदारको नीति बोकेर नक्सलवारीबाट राजन शर्मा, पुण्य शर्मा नेत्र कमरेड र वीरेन राजवंशीलाई भेट्न मेची नदी तरेर गरामनी आइराख्नु हुन्थ्यो ।
मिटिङ थलो सुकुम्बासी बस्ती
उहाँहरू कहिले बेलुका त कहिले मध्यरातमा हाम्रो घरमा आउनुहुन्थ्यो । हाम्रो ससुरा बुबा हक्की स्वभावको हुनुहुन्थ्यो । तर घरमा राजनीतिक गफ हाँकेको मन पराउनुहुन्नथ्यो । त्यसैले, खाना खाइसकेपछि उहाँहरू छलफल गर्न घरभन्दा अलिक माथि सुकुम्बासी बस्तीमा बनाइएको एउटा कटेरामा जानुहुन्थ्यो ।
गाउँका धेरै खालका मान्छे आउजाउ हुने ठूलो परिवार हो हाम्रो । बीस हल गोरु राखेर खेती गरिन्थ्यो । सबै खेतालाहरूलाई आवश्यकताअनुसार हाम्रै घरमा खाना, खाजा पाक्थ्यो ।
आउजाउ गर्ने गाउँलेबाटै नेत्र कमरेडहरूको सुराक हुनसक्ने खतरा देखेकाले होला, घरमा मिटिङ गर्न बुबा (ससुरा) ले दिनुहुन्नथ्यो । घरमा बुबाले भनेबाहेक घटीबढी गर्ने छुट आमालाई पनि थिएन ।
त्यसैले, घरमा खाना खाएपछि नेत्र मिटिङ गर्न त्यही कटेरातिर दौडिहाल्नुहुन्थ्यो । मिटिङ सकिएपछि त्यहींबाट सबैजना बाँडिनुहुन्थ्यो । गाउँका सामन्ती, जमिनदार सबै प्रकारका मानिसहरु हाम्रो घरमा आएर ‘के हो रामचन्द्र ? तिम्रो छोरो नेत्र यस्तो, उस्तो’ भन्दै कुरा गर्थे ।
झ्वाँक्की भए पनि समझदार स्वभावको भएकाले गाउँका ठूलाबडाहरू पनि बुबासँग सल्लाह, सङ्गत गर्थे । नेत्र कमरेडसँग राम्रो मित्रता भएका राजन शर्मा, पुण्य शर्मा नक्सलबाडीबट चारु जमदारको नीति बोकेर घरमा आइराख्नुहुन्थ्यो ।
उहाँहरूको आन्दोलनमा नक्सलवारीका कम्युनिष्ट नेता चारु मजुमदारको पनि मूलरुपमा प्रभाव छ । पुण्य शर्मा, राजन शर्माहरू भारतीय प्रशासनबाट पक्राउ परी छुटेपछि पनि मसँग भेट भएको थियो ।
पुण्य शर्मा पछि बेपत्ता हुनुभयो, हराउनु भयो । उहाँ साह्रै असल हुनुहुन्थ्यो । केटाकेटीहलाई साह्रै माया गर्नुहुन्थ्यो । मेरा नानीहरू उहाँसँग साह्रै मिल्थे । छबिलाल राजवंशी भन्ने यतै हाम्रै नेपालकै कमरेड हुनुन्थ्यो । पछि उहाँको जेलमै मृत्यु भयो । उहाँको मृत्यु भएपछि पार्टीले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।
छबिलाल कमरेडको घर गरामनीदेखि तलतिर हो । झापा आन्दोलनमा थुप्रै राजवंशीहरू सहभागी भएका थिए । वीरेन राजवंशी कमरेडसँग पुण्य शर्मा कमरेडको पार्टीका कामले आउने जाने भइराख्थ्यो अरे ।
जब झापामा सामन्तीहरुविरुद्ध एक्सन दिने आन्दोलन सुरु भयो, राज्यसहित सामन्त पक्षधरहरु उहाँहरूको विरुद्धमा उत्रियो । प्रहरी प्रशासनले पैसा दिएर लोभ्याएपछि नेत्र कमरेडका साथीहरू पनि शत्रुसँग साँठगाँठ गर्न लागे । मिटिङका गोप्य सूचनाहरू चुहाउन थाले । राज्यको खेल अनेक हुँदारहेछ ! राज्यसँग आजित भएर धेरै कमरेडहरूको लय बिग्रियो । हार खाएर विदेश पनि लागे ।
नेत्र कमरेडको विचारचाहिँ ‘राजनीति सुरु गरेपछि अप्ठ्यारो पर्नासाथ विदेश लुक्न हुँदैन, देशमै बसेर जनतासँग काम गनुपर्छ’ भन्ने थियो । सुदूर लक्ष्यलाई बीचमै छोडी भारत पस्नेमा शिवप्रसाद शिवाकोटीलगायत १० जनाजति कमरेड हुनुन्थ्यो । उहाँहरु उतै निर्वासित नै भएर बस्नु भयो ।
नेत्र कमरेडहरूसँगै रामनाथ दाहाल सक्रिय रुपले लाग्नुभएको हो । रामनाथ कमरेडको घर धेरै कामरेडहरूलाई पकाएर खुवाउने, मिटिङ गर्ने कामका लागि प्रयोग हुन्थ्यो ।
खरो स्वभावका रामनाथ विचारमा प्रष्ट र काममा सशक्त हुनुहुन्थ्यो । रामनाथ कमरेड पनि भागेर कहिल्यै इन्डिया पस्नु भएन । मैले उहाँलाई धेरै त देखिनँ, पछि विश्वेश्वरा (रामनाथ दाहालपत्नी) दिदीसँग चिनाजान भएपछि रामनाथ कमरेडबारे धेरैकुरा बुझ्ने मौका पाएँ ।
उमेरका हिसाबले रामनाथ कमरेड नेत्र कमरेडहभन्दा परिपक्व हुनुहुुन्थ्यो । २१ फागुन ०२९ साल फागुनमा प्रहरीले गोली ठोकेर हत्या गर्दा नेत्र कमरेड जम्मा २४ वर्षको हुनुहुन्थ्यो ।
वीरेन राजवंशी पनि नेत्र कमरेड भन्दा एकाध वर्ष जेठो हुनुुहुन्थ्यो कि जस्तो लाग्छ । रामनाथ कमरेडकोमा नेत्र कमरेड दिनमा १ पटक गएकै हुनुहुन्थ्यो अरे ।रामनाथ कमरेड किसानकोमा गएर मोहियानी हकबारे बुझाउनु हुन्थ्यो । किसानको बीचमा जाने र संगठित गरी उनीहरूलाई आन्दोलनमा परिचालित गर्न नेत्र कमरेड सिपालु हुनुहुन्थ्यो ।
उहाँको राजनीतिक जीवनको सुरुवात यसरी नै संगठन गरेर भएको हो । नेत्र कमरेडका चेलाहरू चित्र कुइँकेल, देवी पाण्डे, होम पाण्डे हुन् । उहाँले पढाएकै विद्यार्थी भनेको चाहिँ अहिले ठ्याक्कै बिर्सें ।
नारायण श्रेष्ठ (शहीद) का दाइ हुनुन्थ्यो कमल दाइ । राजनीति गर्न साह्रै डराउनुहुन्थ्यो । कमल दाइ पञ्चायतको सचिव हुनुन्थ्यो जस्तो लाग्छ मलाई । तर सचिवै भए पनि झापाली आन्दोलनकारीहरुको विरोध चाहिँ गर्नुहुन्नथ्यो । भाइको सपोर्ट गर्नुहुन्थ्यो । दाइ पछिसम्म हुनुहुन्थ्यो । आउँदा जाँदा राम्रो गर्नुहुन्थ्यो । पछि दाइ तल घोडामारा कि कता बसाइँ जानु भा,े त्यहाँदेखि भेट भएको छैन ।
स्वभाव
शहीद नेत्र घिमिरे एउटा शुद्ध क्रान्तिकारी विचारधाराको मान्छे हो । कहिल्यै महङ्गा लुगा नलगाउने । उहाँसँगै भद्रपुर क्याम्पस पढ्ने एकजना साथी हुनुन्थ्यो । उहाँको कपडा पसल थियो ।
कहिलेकाहीँ बुधबारे जाँदा त्यहाँ पस्दा– ‘ए नेत्र, तिमीले यो जिन्सको छोटो सर्टमात्रै कति लाउँछौ ? तिमीलाई सुहाउँदा पनि सुहाउँदैन’ भन्दा नेत्र कमरेड भन्नुहुन्थ्यो, ‘होइन, म जनताको निम्ति काम गर्ने मान्छे हुँ । यो जिन्सको सर्ट छोटो–छोटो छ । फुर्तिलोसँग जनताका माझ जान पनि राम्रो, मलाई मन पनि पर्छ । जनताको बीचमा गएर फूल्ने मेरो विचार हो । तिमीहरूका जस्ता मलमलका लुगा लगाउने दिन गए !’
उहाँको रोजाइको एक नम्बरको खानेकुरा मासु हो । गुलियो खीर, ढकने, जेरीसँग उहाँलाई मतलव लाग्दैनथ्यो । मासु भनेपछि हुरुक्क हुने नेत्र कमरेडलाई राम्रो खसीको सनक्क परेको मासु निकालेर पिस बनाएर पोल्दिनु पथ्र्यो । पोलेको मासु साँधेर खान खुब मन पराउनुहुन्थ्यो ।
खसीको मासु हाम्रो घरमा कतिबेला पनि छुट्दैनथ्यो । तर, जाँड, रक्सी खाएको कहिल्यै थाहा छैन । हाम्रो खलकमै कोही पनि खाँदैनन् जाँड, रक्सी । गीत, कविता खासै लेख्नु भएन । स्कूलमा एउटा कार्यक्रममा नाटक देखाएको’थ्यो, त्यसमा चाहिँ खेल्नु भएको थियो ।
नारायण उप्रेती भन्ने एकजना सर हुनुहन्थ्यो, उहाँले जाऔं भन्दा हामी नाटक हेर्न गएका थियौं । नेत्र कमरेडले नाटकमा शिक्षकको रोल खेल्नु भएको थियो । नाटकमा उहाँलाई मनपर्ने एउटा गीत राखिएको थियो भन्थे । शिक्षकले शिक्षकमै भूमिका गरेको उहाँको अभिनय राम्रै थियो ।
उहाँका औपचारिक पढाइ आइए हो । भद्रपुर क्याम्पस जाँदा त्यहाँ पनि राजनीति गर्नुभयो । क्याम्पस प्रशासनसँग झगडा भएपछि बुर्जुवा शिक्षा पढ्दिनँ भनेर क्याम्पसै जान छोड्नु भयो ।
उहाँ त बाहिरका किताबचाहिँ टन्नै पढ्नुहुन्थ्यो । उहाँसँग अङ्ग्रेजीका धेरै किताबहरू थिए । चिनियाँ क्रान्तिका किताबहरू पनि पढ्नुहुन्थ्यो । केही नेपाली किताबहरू मलाई पनि पढ्न दिनुहुन्थ्यो । राति म निदाइसक्दा पनि उहाँ पढिरहनुहुन्थ्यो । खाली समयमा पनि किताब लिने, पढ्ने यस्तो हो उहाँको स्वभाव ।
नेत्र कमरेडहरु ‘हतियार उठाइहाल्नुपर्छ’ भन्नुहुन्थ्यो । रामनाथ दाहाल चाहिँ ‘एकैचोटि हतियार उठाउनु हुँदैन’ भन्ने लाइनमा हुनुहुन्थ्यो । कमरेड मोहनचन्द्र अधिकारी पनि ‘खतरा मोलेर भएपनि भए हतियार उठाइहाल्नुपर्छ’ भन्नेमा हुनुन्थ्यो ।
किसान विद्रोहदेखि कम्युनिष्ट आन्दोलनसम्म
नेत्र कमरेडले स्कुले जीवनबाट सुरु गर्नुभएको आन्दोलन जमिनदार र मोहीबीच विद्रोह गर्दै उठ्यो । त्यसैमा रुपान्तरित भएर कम्युनिष्ट पार्टीबाट आन्दोलन भएको हो ।
कतिसम्म हुन्थ्यो भने– किसानले मोही तिरिसक्यो, धनीमानी साहुहरूले चाहिँ त्यसको टिपोट नगर्ने, दोहोर्याएर माग्ने, हप्कीदप्की गर्ने, वर्षौं लगाएर तुलफूल लगाएको बारी छोडेर, हुर्किंदै गरेका सन्तान बोकेर त्यहाँबाट खेदाउने गर्थे । धनीमानीले ‘जा’ भनेपछि गरिब किसानले थातथलो छोड्नैपर्ने बाध्यतालाई तह लगाउन मोही र साहुको बारेमा धेरै विद्रोह गर्नुभयो ।
गरामनीलगायत ठाउँठाउँमा यस्तो हुन्थ्यो, शक्तिसम्पन्नहरुले जे गर्दा पनि हुन्थ्यो । यसविरुद्ध उहाँहरू सामन्तीका खेतमा दाइँ गरेर राखेको धान कब्जा गरेर गरिब किसानहरूलाई बाँड्नुहुन्थ्यो । गाउँका सामन्तीहरू उहाँहरूको यस्तो कदमबाट रिसाए । रिसिइबी बढ्दै बढ्दै गयो । यसविरुद्ध पनि उहाँहरू निरन्तर लड्नुभयो ।
झापाका धेरै सामन्ती र शनिश्चरेका धर्मप्रसाद ढकालहरूका विरुद्ध हाम्रा कमरेडहरूले गाउँगाउँमा राजनीति लगे भन्ने चाहिँ परेको हो । धर्मप्रसाद ढकालहरूका ती अधियारहरूलाई, खेतीपातीमा काम गर्ने किसानहरूलाई जगाउँदै आफ्नो शत्रु चिनाउने र ‘वर्ग शत्रु खत्तम गर्नुपर्छ’ भनेपछि उहाँहरूमाथि खतरा बढ्न थाल्यो ।
धर्मप्रसाद ढकाल आफू पनि प्रगतिशील खेमालाई सपोर्ट गर्ने मान्छे थिए । तर पनि उनकोमा काम गर्ने कामदारहरू, मजदुरहरूमाथि ठूलो ज्यादती थियो अरे । धर्मप्रसाद ढकालका छोराले साह्रै रिस उठ्यो भने थपक्क हातखुट्टा बाँधेर खोलामा हाल्दिने गर्थे रे । चित्त बुझेन भने सबैजनालाई बटुलेर गोठमा घाँस खाने ठाउँमा बाँधिदिन्थे । त्यसैले, नेत्र कमरेडहरूलाई सुखानीमा लगेर मारिएको माथिको आदेश भन्दापनि स्थानीय सामन्तवादी शक्तिहरूको जोडबलले हो ।
२१ फागुन २०२९ मा उहाँहरु मारिनु भयो । तर उहाँहरुले सुरु गर्नुभएको लडाईंका कारण सामन्तीहरूले गरिवमाथि सोझै आक्रमणको आँट गर्न छोडे । त्यसपछि धनीमानी सामन्तीले सोझै पेल्न सक्दैनथे । किसानहरूमा यस्तो खालको स्वाभिमान तिनै शहीदहरुको योगदानबाट स्थापित भएको हो ।
गिरफ्तारी
जुन साथीहरूलाई विश्वास गरिएको थियो, उनीहरूबाटै धोका भयो ।
हाम्रो घरदेखि अलिकमाथि १ नम्बर ‘मसुल फँडनी’ भन्ने ठाउँमा राधे घिमिरेको घरछेउ सुकुम्बासी बस्तीमा उहाँको सेल्टर रहेछ । जसलाई उहाँहरुले विश्वास गर्नुभएको थियो, उनीहरू नै पञ्चायत सरकारसँग बिक्री भए ।
पक्राउ पर्ने दिन वहाँ सेल्टरमै बस्नु भएको रहेछ । साँझतिर केही साथीहरू आए, कुराकानी गर्नुभयो । उहाँले आफ्नै साथीहरू ठानेर मजाले कुरा गर्नु भएको थियो । तर ती पञ्चायतमा बिक्री भइसकेका साथीहरू रहेछन् । तिनीहरूबाटै सुराक पाएर साँझपख ५–६ सय पुलिसले घर घेरेछन् । माथिल्लो तलामा रहेका उहाँले प्रहरीलाई ‘तिमेर्को हिम्मत छ भने पक्रेर देखाओ’ भन्दै आँटिला कुरा गरेपछि प्रहरी डराए अरे ।
तल्लो तलामा बाँधेका वस्तुको दाम्लाहरू काटेर टाटीबाट छिराएर अनि उहाँलाई त्यही दाम्लाले बाँधेर झारेका थिए अरे । त्यसरी त्यही घरबाट उहाँलाई समाएर लगेछन् । घरबाट झारेपछि हातखुट्टा दुवैमा नेल लगाएर लगे अरे । सिधै माथि गएर उहाँलाई समाउन नसकेर त्यो टाटीबाट छिराएर लगेर कसो कसो गरेर बाँधेका अरे । उहाँ पक्राउ परेको कुरा हामीले भोलिपल्ट बिहान मात्रै थाहा पायौँ ।
घरमा बूढी भएकी सासु–ससुरा हुनुहुन्थ्यो । उहाँहरु बाहेक घरमा ठूलो भनेको ममात्र थिएँ । उहाँ पक्राउ परेको कुरा कसरी नभन्नु, अन्त्यमा आमालाई भनेँ ।
उहाँ पक्राउ परेपछि कहिले ‘दहिझोडाको जङ्गल लगेर मार्ने अरे’ भन्ने हल्ला चल्थ्यो, कहिले कता लगेर झुण्ड्याए भन्ने सुनिन्थ्यो । कसैले ‘हातखुट्टा भाँचेर राखेका छन्’ भन्थे । कसैले ‘खुट्टा ठाडो पारेर मुखमा खोर्सानी हालेर कुटे’ भन्ने खवर ल्याउँथे । यस्ता अनेक हल्ला चले ।
दुई दिनसम्म त सही कुरा केही पत्ता लगाउन सकिएन । तीन दिनपछि चाहिँ चन्द्रगढी लगेको छ भन्ने टुङ्गो लाग्यो । चन्द्रगढी पुर्याइसकेको छ भनेपछि मेरो मनले मानेन ।
‘ज्वाइँलाई जेल हालेर कुटेको छ’ भन्ने सुनेपछि माइती बुधबारेबाट काढेको ताजा मह र घ्यू सहित बुबा पनि चन्द्रगढी पुग्नुभयो । बुबा पुगेपछि मलाई झन् साह्रो जाउँ जाउँ लाग्यो ।
यता मेरो पेटमा कान्छी छोरी दिव्या थिई । जेठी चाहिँ टुकुटुकी हिँड्ने भएकी थिई । त्यस्तो अवस्था भएकाले हिँड्ने अवस्था थिएन । यस्तो अवस्थामा ससुरा बुबाले मलाई चन्द्रगढी जान दिनु भएन । ‘सय शत्रु, सय मित्रु, तिमी नजाऊ, तिम्ले एक्लै हिँड्नु हुँदैन’ भन्नुभयो । बेलुका आमासँग सल्लाह गरेँ, उहाँले स्वीकृति दिनुभयो । चन्द्रगढी जाने भएँ । आफै नगई त तथ्य कुरो थाहा पाइँदैन भनेर चन्द्रगढी गएँ । जस्तो सुकै भए पनि आफूलाई परेपछि आँट आउँदो रहेछ ।
‘जेलकै अगाडि गएर म भेटी हाल्छु नि, मलाई डर लाग्दैन’ भन्न त भनेँ । तर चन्द्रगढी कहिल्यै देखेकै थिइनँ ।
म पनि केटाकेटी नै थिएँ । ‘कसरी जान्छेस्’ भन्नुभयो आमाले । ‘कान्छो देवरलाई लिएर जान्छु’ भनें । कान्छो देवर चन्द्रगढी स्कूलमा पढ्नुहुन्थ्यो । देवरले आर्मीको टेन्ट र झुप्रा भएको ठाउँबाट चन्द्रगढी लग्नुभयो ।
चन्द्रगढी एयरपोर्ट र भद्रपुर जाने चोकमा रहेको एसपी कार्यालयमा उहाँलाई राखेका रहेछन् । अञ्चलाधीश कार्यालय छेउमै थियो । उहाँ कस्टडीमा हुनुहुन्थ्यो । झ्यालबाट खुट्टा खोलेर, मुन्टो यस्सो निकालेर बोल्नु भएको थियो । तर त्यहाँ भेट्न दिएनन् । हेर्न मात्र भएपनि म त्यहाँ गइरहन्थेँ ।
एकदिन एकजना प्रहरी जवानले मलाई भने, ‘तपाईं अरूबेला नआउनू, बुधबार र शनिबार पारेर आउनू । विहानको ठीक १० बज्नुअघि आउनू ।’
त्यो समय त्यहाँका हाकिमहरु हाटबजार वा कतै जान निस्कँदा रहेछन् । हाटबजारमा उनीहरूको खानपान भव्य हुन्थ्यो रे । त्यही मौका पारेर उहाँसँग मेरो भेट गराउन मलाई त्यो समय बोलाएका रहेछन् । प्रहरीमा त्यस्तो माया गर्ने मान्छे पनि हुँदा रहेछन् ।
कस्टडीमा चिउरै मनग्य
उहाँलाई राखेको ठाउँ पत्ता लगाउन बिहानै हिँडेको । दिन त्यहीँ बित्यो । घर हिँड्ने बेला रात पर्यो । एक्लै थिएँ, कसरी जानु जङ्गलको बाटो ?
गाउँका एकजना भाइ गोरुगाडा लिएर धान कि के बेच्न आउनु भएको रहेछ त्यही भाइसँग राति १० बजे घर पुगेँ । बुधबारे गएर बुबाहरुलाई ज्वाइँको खबर सुनाएँ । यत्ति कुराले पनि धेरै राहत भयो । उहाँका लागि खानेकुराहरू माइतीबाट पनि जुटाएँ । भर्खर पाकेको धानको चिउरा कुटेर २५ केजी चिउरा तयार पारेँ । एकजना दिदीलाई चिउरा बोक्न लगाएर चन्द्रगढी गएँ ।
तिनै प्रहरी भाइले हरूले भनेजसरी नै म नेत्र कमरेडलाई भेट्न गएँ । जेलका हाकिमहरू निस्केका रहेछन् । तिनै भाइले नेत्र कमरेडहरूसँग भेटाए । उहाँको दुईवटै खुट्टा तोरुङमा झुण्ड्याएको थियो । हात साङ्लीले बाँधेको थियो । धर्म दाई (संविधान सभा सदस्य धर्म घिमिरे, जो यसै हप्ता भारतको बागडुग्रामा मृत भेटिए) चाहिँ ढल्किराख्नुभएको थियो । पुरै दुब्लाउनु भएको रहेछ । धर्मलाई पक्राउ नगरी नेत्रलाई पक्राउ गर्न सकिँदैन भनेर धर्म दाइलाई पनि पक्रेका थिए ।
मैले त्यहाँ चिनेकाहरूमा छबिलाल राजवंशी लगायतका कमरेडहरु हुनुहुन्थ्यो । मैले देख्दा नेत्र कमरेड निरोगी नै हुनुहुन्थ्यो । आँटिलै हुनुन्थ्यो । धर्म दाइचाहिँ एकदमै दुब्लाउनु भएको थियो ।
केहीबेर बोलेपछि मैले लगेको चिउरा प्रहरीलाई देखाउँदै भित्र लगेँ । प्रहरीले ‘यत्रो धेरै चिउरा, के दसैं मनाउन ल्याउनु भएको ?’ भन्दै थर्काए । मैले भनेँ, ‘सबैजना मिलेर खानुस् न । यो चिउराले त के गरेको छ र ?’ प्रहरीले चिउरा चाख्न लगाए, अनि भित्र छिराए । पछि एकजना कमरेड भन्नुहुन्थ्यो, ‘तपाईंले चिउरा ल्याएको दिनसम्म हामीलाई केही गतिलो खानेकुरा दिएको थिएन ! हामीलाई बचाउने नै त्यही चिउरा हो ।’
कुकुरलाई दिने खाना हुन्छ नि । त्यसैगरी उसिना चामलको भातमा उसिनेको सब्जी र पानी हालेर दिन्थ्यो रे । त्यस्तो खाना नेत्र कमरेडले लात्ताले हानेर फ्याँकिदिनु हुन्थ्यो रे । त्यस्तो खाना उहाँले कहिल्यै खानु भएन रे ।
म फर्किनेबेला उहाँ (नेत्र) ले भन्नुभयो, ‘हामीलाई ठीकै छ । बरु सक्छ्यौ भने एकपल्ट घर र बुधबारे आमालाई भेट गराऊ न है ।’ दुर्भाग्य ! मैले भेट गराउन सकिनँ । प्रहरीले कति कुट्छ भन्ने सीमा हुँदैनथ्यो अरे !
कस्टडीबाट एक–एकजनालाई गर्दै लगेपछि चिच्याएको, कराएको सुनिन्थ्यो अरे । अनि जब बेहोस भए मात्रै छोड्थ्यो अरे । एकैदिनमा बेहोस गराउने अनि कुट्ने गरेर कति कुट्थ्यो अरे ।
रामनाथ कमरेडलाई पनि अति नै कुटेको थियो अरे । उहाँको त खुट्टै भाँचेको थियो अरे । त्यसैले सुखानी जाँदा हिँड्नै नसक्ने हुनुभएको थियो रे । घिस्याउँदै लगेको अरे ।
अनि जेल
यस्तैमा एकदिन उहाँहरुलाई जेलमा सारे । जेलमा चाहिँ भेट्न त्यति गाह्रो थिएन । जेल सारेपछि त नुहाएर राम्रा–राम्रा उज्याला भएछन् सबैजना । कति राम्रो हुनुहुन्थ्यो नारायण श्रेष्ठ । त्यस्तो राम्रो त यो संसारमा कोही थिएन । जेलमा लगेपछि त कुटेनन् ।
एकदिन आमाले दिनुभएको स्वस्थानीको प्रसाद लिएर भेट्न गएँ । जेलमा भेट्न जाँदा सबै आउनुहुन्थ्यो– छिर्लिङ, छिर्लिङ साङ्ली बजाउँदै । जेलरले मलाई भेट्न नदिने भन्दै थिए । मैले ‘स्वस्थानीको प्रसाद लिएर आएको छु, कम्तिमा मानवता भन्ने त सबैमा हुनुपर्छ नि’ भनेँ । त्यसपछि भेट्न दिए ।
उहाँहरूले प्रसाद बाँड्नु भयो । सबै जनाले खानु भयो । मलाई नेत्र कमरेडले भन्नुभयो, ‘तिमीलाई सञ्चो पनि छैनजस्तो लाग्यो, हामीलाई राम्रै छ । त्यस्तो केही पर्यो भने खबर गरौँला ।’
यो पनि भन्नुभयो, ‘सक्छ्यौ भने एउटा सर्ट चाहिँ किनेर ल्याइदेउ न है ।’ उहाँले जुन सर्ट लगाउनु भएको थियो, पक्राउ पछि प्रहरीले कता फ्याकिदिएको रहेछ ।मैले चन्द्रगढी चोकको ‘दाता स्टोर’ बाट एउटा रेडिमेड आकाशे निलो रङको सर्ट किनेर लगिदिएँ । उहाँको मन पर्ने रङ थियो त्यो । भन्नुभयो, ‘मलाई मनपर्ने रङ्गको सर्ट ल्याइदिएछौ । सर्ट ठीक्क भो ।’
म हिँड्ने बेला भइसकेको थियो । ‘सबै कुरा ठीकै छ, बिस्तारै छुट्छौं’ भन्नु भो । नारायण श्रेष्ठचाहिँ टुलुटुलु हेरिरहनु भएको थियो । ‘घर केमा जान्छ्यौ ?’ उहाँले सोध्नु भयो । मैले कही भनिनँ ।
‘भाडा छैन होला । मसँग नि’ पैसा माग्न डराउनुपर्छ त ?’ भन्दै भाडा दिनुभयो ।
गाडीमा चढेर गरामनीसम्म पुगेँ । त्यहाँ पुगेपछि म बिरामी परिहालेँ । अलिक गाह्रो भएपछि एउटा पसलमा बसेँ । घरबाट गाडा मगाएर बेलुका म घर गएँ । तनावले होला, २–३ दिन बिरामी परेर सुतेँ ।
जेलर मेरो ठूलो बुबाको छोरी –दिदी) को जेठाजुको ज्वाइँ कि भतिजा रहेछन् । त्यसैले भेट्न जान सजिलै थियो । तर, ‘धेरै नआउनू’ भन्ने कुरा भयो । त्यसैले गइएन । त्यसो भनेको ७ दिनपछि जेल सरुवा गर्ने भन्दै लगेर उहाँसहित पाँच जनाको सुखानीको जंगलमा हत्या गरे ।
पछि ती जेलरले– ‘नेत्रकी श्रीमतीले साह्रै जिद्दी गरिन्, मलाई पनि गाह्रो’थ्यो तर जेलमा भेटाइदिएको थिएँ’ भन्थे अरे । पक्राउ परेको मान्छे भेट्न पाउनु नै ठूलो कुरा हुँदोरहेछ ।
बाँच्ने साथीहरूका अनुसार, बिहान ११ बजेतिर पुलिसहरू जेलभित्र छिरेछन् । अनि एक–एक गरेर नाम भन्दै खसी–बाख्राजस्तो छानेर निकालेछन् । अलिक सक्रियहरूलाई मात्र ‘इलाम जेल सार्ने’ नाममा हत्या गर्ने योजना भएकाले धर्म दाइ पर्नुभएनछ ।
पन्ध्र सोह्र वर्ष वर्षका एकजना जीवन मगर नाम गरेका भाइ थिए । तिनलाई पनि लैजान धेरै करेका थिए रे । तर, किन हो, पछि उनलाई छोडेर कृष्ण कुइँकेललाई लगेछन् । प्रहरीलाई वयान दिनेक्रममा जो अलिक तगडा र सक्रिय देखिन्थे, उनीहरुलाई छानी–छानी लगेको रहेछ ।
रामनाथ कमरेड त परिपक्व हुनुहुन्थ्यो । यही हो सबैलाई राजनीतिमा ल्याउने’ भन्ने पर्यो होला । नेत्र कमरेड, वीरेन राजवंशी पनि प्रहरीसँग नझुक्ने स्वभावका हुनुहुन्थ्यो । नारायण श्रेष्ठ चाहिँ बच्चै थिए । नेत्र कमरेडले पढाउने स्कूलकै विद्यार्थी हुन् ।
एकदिन जेलमा भेट्न जाँदै थियौँ । प्रहरीले अदालत लैजाँदै रहेछ ।
मैले ‘कस्तो छ तपाईंहरूलाई ?’ भनेर सोधेकी थिएँ । वीरेनले भन्नुभयो, ‘ठीकै छ भाउजू । हामी त अब ठूलाबडा मान्छे, यिनीहरू (प्रहरी) ले यहाँ पहरा दिएर लान्छन्, ल्याउँछन् । यस्तो छ नि त हाम्रो ।’
यसरी ठट्टा गर्दै हाँस्नु भयो । ‘यिनीहरूले यस्तो गर्छन्, उस्तो गर्छन् । यिनीहरु हाम्रा पहरेदार हुन् । किन त्यस्तो चित्त दुखाउनुहुन्छ ?’ भन्दै मलाई पनि हँसाउनु भयो ।
‘इलाम सरुवा’ को बहानामा हत्या
हाम्रो घरमा गाईवस्तुको काममा सघाउन बस्ने एकजना दिदी थिइन् । तिनको छोरालाई पाँच कक्षामा नेत्र कमरेडले नै पढाई दिनुभएको थियो ।
गरामनी स्कूलमा टिफिनको समयमा प्रहरीको गाडी स्कूल अगाडिबाट गुड्दा गाडीको अगाडि सिटमा हत्कडी लगाएका नेत्र कमरेडलाई त्यो नानीले देखेछ ।
उहाँले सिक्री लगाएकै हात उठाउँदै नेत्र कमरेडले भन्नुभएको रहेछ, ‘नानी, हामीलाई इलाम सरुवा गरेको हो । तिमी राम्रोसँग पढ है ।’
उहाँले त्यसो भनेपछि ‘धेरै नबोल्’ भन्दै प्रहरीले गाडी बेस्सरी हाँकेर कुँदाएछन् । यो कुरा तिनले साँझपख घरमा आएर सुनाए । त्यसपछि त घरमा घरमा रुवाबासी सुरु भयो । शनिश्चरेमा गाडी रोकेछन् । यताबाट लगेको लुगाहरू सबै शनिश्चरेको चौकीमा राखेछन् ।
प्रहरीको बेलुकैको सरसल्लाहअनुसार शनिश्चरेको एउटा दोकानमा लगेर खाजासाजा खुवाए । इलाम सरुवा गर्न भनेर लगेका सबै सामान त्यहीं चौकीमा राखे । यो कुरा त्यहाँका दोकानेहरूले पछि मलाई सुनाएका हुन् । त्यहाँबाट चाहिँ हिँडाएर लगेछन् ।
प्रशासनलाई पैसा खुवाएका सामन्तीहरूले प्रहरीको अड्डै सुखानी जङ्गलवारि रहेको ‘डबल सुब्बा’ को घरतिर पाँचैजनालाई लगेका रहेछन् । र, सुखानी जङ्गलमा उहाँहरूलाई गोली ठोक्ने दिन २१ फागुन ०२९ मा उनीहरुले वारिपट्टि राँगा, खसी काटेर भोज समेत गरेका रहेछन् ।
त्यहाँ पुुर्याइएका कमरेडहरु प्रहरी नियन्त्रणमा हुनुहुन्थ्यो । तर, पार्टीबाट आक्रमण गरेर छुटाउन सक्ने त्रासका कारण डबल सुब्बाको अड्डामा प्रहरीको ठूलो समूह बसेको रहेछ ।
जतिबेला उहाँहरुलाई गोली ठोकेर हत्या गरियो, एकजना कमरेडले अलिक वर रुखबाट लुकेर त्यो दृष्य हेर्नुभएको रहेछ । ती कमरेडको भनाईमा, पाँचमध्ये चारजनालाई पहिला भाग्न भनिएछ, त्यसपछि गोली ठोकिएछ ।
त्यहाँ खोलानेर एउटा सुकेको रूख रहेछ । नेत्र कमरेडलाई त्यही रूखमा बाँधेर गोली हानेछन् । तर पनि उहाँले ३–४ वटा गोली छल्नु भएको रहेछ ।
सुखानीको जंगलमा यसरी पाँच जना योद्धाहरुलाई एकपछि अर्काे गर्दै गोली हानेर हत्या गरेपछि उहाँहरुको शव एकैठाउँमा थुपारेछन् । र, रातभरि भोजभतेर गरेछन् ।
उहाँहरुको जहाँ हत्या गरियो, त्यो ठाउँमा पाँचओटा रूख उम्रेका छन् ।
उहाँहरुको हत्या भएको भोलिपल्टको कुरा हो । विहान १० बजेतिर हाम्रो घरमा तीनजना प्रहरी आए । घरमा खाना खाने बेला हुँदै थियो । प्रहरी घरमा आउँदासम्म उहाँको हत्या भएको होला भन्ने हामीलाई लागेको थिएन ।
घरको पिढीँमा आएर बसेपछि एकजनाले सोध्यो, ‘तपाईं नेत्रको श्रीमति हो ?’ जेठी छोरी टुकुटुक हिँड्थी । ‘ऊ छोरी हो ?’ भनेर पनि सोधे । उनीहरुलाई चिया खान दियौँ । उनीहरूले बुबालाई लिन आएको बताए ।
बुबाले भन्नुभयो, ‘म अहिले जान सक्दिनँ । तपाईंहरू जानूस्, भरे–भोलि जान परे जाउँला ।’ प्रहरीहरू धेरैबेर बसे । बुबालाई पनि लिएरै जाने अडानमा थिए । त्यसैले, खाना खाइसकेपछि काइँलो देवरलाई लिएर बुबा जानु भयो ।
बुबा अलिक रोगी भएकाले घोडामा हिँड्नुहुन्थ्यो । ‘हामी प्रहरीका अगाडि हिँड्दैनौं’ भन्दै उहाँले प्रहरीलाई अगाडि लगाएर बुबाहरू एसपी कार्यालय (चन्द्रगढी) पुग्नुभयो ।
बुबाले प्रहरीको गाइँगुइँ सुन्नुभएछ । उनीहरु भन्दै रहेछन्, ‘नेत्र र वीरेन (राजवंशी) यही बूढाका छोरा परेछन् कि क्या हो !’ नेत्र कमरेड र वीरेन कमरेड दुवैजना कालो वर्णको हुनुहुन्थ्यो । त्यसैले प्रहरीहरूलाई त्यस्तो परेको रहेछ ।
विहान लगेर दिनभरि कार्यालयमा राखेको प्रहरीले साँझपख उल्टो ‘किन आएको यहाँ ?’ भन्दै थर्काएछ ।
बुबाले जवाफ दिनुभएछ, ‘प्रहरीले नै बोलाएर आएका हौं । अब के मन लाग्छ, त्यही गर न ।’
त्यसपछि बुबालाई एउटा कागजमा सही गर्न लगाएछन् । बुबाले पहिला नपढी सही नगर्ने अड्डी कस्नु भयो । त्यसपछि त्यहाँ लेखिएको बेहोरा उनीहरु आफैले पढेछन् । जसमा लेखिएको थियो :
चन्द्रगढीबाट इलाम जेल सार्न लैजाँदा सुखानीको जङ्गलमा यिनीहरू भाग्न खोजे । अनि प्रहरीले घुँडामुनि लाग्नेगरी गोली चलाउन बाध्य हुँदा यिनीहरुको ज्यान गएको हो ।
बुबाले ‘कन्काई माई (खोला) मा लगेर दाहसंस्कार गर्न दिन्छौ’ भनेमात्र लास बुझ्छु भन्नु भएछ ।
माईमा शव लैजान दिनेभएपछि बुबा बेलुकीपख घरमा पुग्नु भयो । भोलिपल्ट घरैबाट सबैलाई खबर गरेर घरछिमेक, नातागोता सबै मलामीसहित चन्द्रगढीबाट लास उठाएर माई लिएर गयौं ।
रामनाथ कमरेडको लास पनि त्यही दिन बुझ्नु भएको थियो । तर रामनाथ कमरेडको आमाले चाहिँ सही गर्न मानिरहनु भएको थिएन । कडा स्वभावकी हुनुन्थ्यो रामनाथकी आमा । त्यसैले, त्यो दिन सही नै गर्नु भएनछ ।
रामनाथ कमरेडको आमा वीरङ्गना स्वभावको हुनुहुन्थ्यो । रामनाथ कमरेड जन्मिएपछि २२ वर्षकै उमेरमा बिधवा हुनुभएको थियो । आमाले नमानेपछि फेरि अर्को दिन ज्वाइँ र सासू आमालाई लगेर निकालेको हो, रामनाथ कमरेडको शव ।
कृष्ण कुइँकेल, नारायण श्रेष्ठको परिवार चाहिँ सरल प्रकृतिको हुनुहुन्थ्यो । तलै बोलएर प्रहरीले हप्काई–दप्काई गथ्र्यो ।