Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २१ बुधबार ०७:२९:००
Read Time : > 1 मिनेट
राजनीति

राष्ट्रिय सभा : पुरानालाई बिदाइ, नयाँको स्वागत तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २१ बुधबार ०७:२९:००

राष्ट्रिय सभामा दुईवर्षे कार्यकाल भएका सांसदहरूले सभालाई मर्यादित तुल्याउन बाहिर रहेर पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले दुईवर्षे कार्यकालको अनुभवसहित सभालाई सम्बोधन गरेका हुन् । राष्ट्रिय सभाका १९ सांसदको दुईवर्षे पदावधि मंगलबार सकिएको छ । राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्री युवराज खतिवडासहित नेकपाका नौ, कांग्रेसका सात, राजपाका दुई र समाजवादीका एक सांसदको पदावधि सकिएको हो । 

नेकपाका हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली, कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र मुख्य सचेतक सरिता प्रसाईंसहित बिन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा, राजपाका वृशेषचन्द्रलाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको दुईवर्षे कार्यकाल सकिएको हो । कांग्रेस सांसद उपाध्यायको भने केही समयअघि निधन भएको थियो ।

सम्बोधनका क्रममा सांसदहरूले दुईवर्षे कार्यकाललाई सुखी परिवारको रूपमा जिम्मेवारी बोध गरी अघि बढेको बताए । परिपक्व र उदाहरणीय सभाको रूपमा नयाँ सदस्यलाई हस्तान्तरण गर्न पाउँदा जिम्मेवार बनाएको र खुसी लागेको उनीहरूको भनाइ छ । केही सदस्यले भने कार्यकाल सकिन लाग्दा पारिवारिक बिछोडजस्तो लागेको बताए ।

दुई वर्षमा सिंहदरबार, सरकार, दुवै सदन बुझ्ने ठूलो मौका पाएको स्मरण गर्दै उनीहरूले दुईवर्षे कार्यकालको अनुभव जनतासामु लैजाने प्रतिबद्धतासमेत जनाए । कानुन निर्माणको जिम्मेवारीमा खरो रूपमा उत्रन उनीहरूले नवनिर्वाचित र कार्यकाल बाँकी रहेका सांसदहरूलाई सुझाब दिए । उनीहरूले झैझगडा गरेर सदनलाई अलमलमा राख्ने खेलमा नलाग्न सरकार र प्रतिपक्ष दललाई आग्रहसमेत गरे । 

दुई वर्षको अवधिमा सहमति र सहकार्यको संस्कार र संस्कृतिको विकास गरिएको उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको मर्यादा समान राख्न बजेट विनियोजनमा विभेद नगर्न सरकार र अर्थमन्त्रीलाई उनीहरूको सुझाब छ । 

केही सांसदले दुईवर्षे कार्यकाल राजनीतिको अन्तिम यात्रा नभएकाले फरक जिम्मेवारी र भूमिकामा जनता र देशको सेवामा रहिरहने प्रतिबद्धता जनाएका छन् । सभालाई परिपक्व तुल्याउन र केही हदसम्म प्रविधिमैत्री बनाउन सफल भएको उनीहरूको दाबी छ ।  केहीले सदनलाई वर्ग संघर्ष समाधान गर्ने थलोको रूपमा बुझेको बताएका थिए भने केहीले राष्ट्रिय सभालाई ज्ञानी र विज्ञको सभाका रूपमा पाएको स्मरण गरेका थिए । 

सामूहिक तस्बिरदेखि व्यक्तिगत सेल्फीसम्म

संघीय संसद् भवनमा राष्ट्रिय सभा सचिवालयले आयोजना गरेको सामूहिक तस्बिर खिच्ने कार्यक्रममा सदस्यहरूले सामूहिक तस्बिरका साथै व्यक्तिगत सेल्फीसमेत लिएका छन् । केही सांसदले भने सभामै पनि समूह र व्यक्तिगत रूपमा सेल्फी लिएका थिए । दुईवर्षे अवधिमा ४१ वटा विधेयक र विशेषसहित सातवटा प्रस्ताव पारित भएका छन् । सभाको गरिमा र औचित्य पुष्टि गर्न पु-याएको योगदानको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रशंसा गरेका थिए । 

आज शपथ लिँदै १८ सदस्य 
राष्ट्रिय सभाका नयाँ सदस्यले बुधबार शपथ लिँदै छन् । नेकपाका १६ र राजपाका २ सांसदले शपथ लिनेछन् । प्रदेश १ बाट महिलातर्फ इन्दिरा गौतम, दलिततर्फ गोपीबहादुर अछामी र अन्यतर्फ देवेन्द्र दाहाल, प्रदेश २ बाट महिलातर्फ तुलसाकुमारी दाहाल, दलिततर्फ राधेश्याम पासवान, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ शेखरकुमार सिंह र अन्य समूहतर्फ मृगेन्द्रकुमारसिंह यादव निर्वाचित भएका थिए ।

बागमतीबाट महिलातर्फ गंगाकुमारी बेलबासे र अन्यतर्फ बेदुराम भुसाल, गण्डकी प्रदेशबाट महिलातर्फ भगवती न्यौपाने र अन्यतर्फ नारायणकाजी श्रेष्ठ, प्रदेश ५ बाट अपांग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा, महिलातर्फ बिमला घिमिरे र अन्यतर्फ गोपाल भट्टराई निर्वाचित भएका छन् । कर्णाली प्रदेशबाट अन्यतर्फ मायाप्रसाद आयार्य (पारशमणि) र महिलातर्फ सुमित्रा बिसी, सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ शारदा भट्ट र अन्यतर्फ तारामान स्वाँर विजयी भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको भने टुंगो लाग्न बाँकी छ ।