मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २१ बुधबार ०६:५६:००
Read Time : > 1 मिनेट
समाचार

काँकडभिट्टा नाकामा कोरोना परामर्शका लागि हेल्पडेस्क स्थापना

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २१ बुधबार ०६:५६:००

काँकडभिट्टा नाकामा कोरोना भाइरस परामर्शका लागि हेल्पडेस्क स्थापना गरिएको छ । विभिन्न मुलुकका नागरिक आवागमन हुने यो नाकामा मेचीनगर नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापाले कोरोना परामर्श सहायता कक्ष स्थापना गरेका हुन् । 

तर, पर्याप्त तयारीविना स्थापना गरिएको हेल्प डेस्कमा स्वास्थ्यकर्मीबाहेक अन्य उपकरण छैन । मेचीनगर नगरपालिकाले दुई सिफ्टमा कर्मचारी खटाउने गरेको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हेल्प डेस्क खुल्छ । १२ घन्टालाई दुई सिफ्टमा विभाजन गरेर हेल्प डेक्स सञ्चालन गरिएको छ । 

हेल्प डेस्कमा चारजना कर्मचारी खटिँदै आएका छन् । मेची भन्सार कार्यालयले उपलब्ध गराएको एककोठे सानो घरमा परामर्शदाता स्वास्थ्यकर्मी बस्ने गरेका छन् । हेल्थ डेस्कमा हेल्थ असिस्टेन्ट र अनमी मात्र खटाइएको मेचीनगर नगरपालिकाले जनाएको छ । काँकडभिट्टा नाका भएर फेब्रुअरी महिनामा भारत, बंगलादेश, भुटान, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, फ्रान्स, जर्मनी, जापानलगायत मुलुकका सात सय चारजना विदेशी नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

‘यो नाका भएर नियमित ६० देखि ६५ देशका नागरिक नेपाल आउने गरेका छन्’, अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाले भने, ‘फेब्रुअरी महिनामा चीनबाटचाहिँ एकजना पनि आएका छैनन् ।’ 

 उपकरण र जनशक्ति अभाव
हेल्पडेस्कमा शंकास्पदको मात्र ज्वरो नाप्ने गरिन्छ । यसका लागि थर्मोमिटर राखिएको छ । जसले मानिसको शरीरमा नछोई ज्वरो नाप्न सक्छ । अहिले नाकामा आउने शंकास्पद विदेशी नागरिकको मात्र स्वास्थ्य जाँच गरिन्छ । 

‘अहिले त पर्याप्त जनशक्ति पनि छैनन् । उपकरण पनि पर्याप्त छैन । एयरपोर्टमाजस्तो यहाँ पनि आवश्यक छ’, हेल्प डेस्कमा खटिएकी हेल्थ असिस्टेन्ट पूजा महतोले भनिन्, ‘अहिले त शंका लागेकोलाई मात्र जाँच्दै छौँ । सुरुवात हो विस्तारै अन्य व्यवस्था होला ।’ हेल्पडेस्कमा औषधि राखिएको छ । तर, ज्वरोे र रुघाखोकीको मात्रै । डेस्कका कर्मचारीले शंकास्पद बिरामी हेरेर र ज्वरो नापेर कोरोनाको अनुमान मात्र गर्न सक्छन् । 

कर्णालीका सीमानाकामा  हेल्पडेस्क राखिने
कर्णाली प्रदेशको सीमानाकामा कोरोना भाइरस जाँचका लागि हेल्पडेस्क राखिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार सीमानाकामा औषधिसहित चिकित्सकको टोली राख्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई र सुर्खेत विमानस्थलमा हेल्पडेस्क राख्ने तयारी अघि बढाएको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा कर्णालीका सीमानाकामा स्वास्थ्य हेल्प डेस्क राख्न लागिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन् । 

‘कर्णालीका सीमानाकामा स्वास्थ्य जाँच चौकी तत्काल राखिनेछ,’ उनले भनिन्, ‘तीन दिनभित्र औषधि उपकरणसहित स्वास्थ्य जाँच केन्द्र राखिसक्छौँ ।’