मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ कोठारी, कन्ट्री महाप्रबन्धक साओमी नेपाल
२०७६ फाल्गुण २० मंगलबार १०:३९:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता

शाओमीका फोन नेपालभर उपलब्ध छन् : सौरभ कोठारी

आठ प्रश्न

Read Time : > 3 मिनेट
२०७६ फाल्गुण २० मंगलबार १०:३९:००

तीव्र गतिमा भएको सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विभिन्न मोबाइल फोन कम्पनीले नेपालमा बजार विस्तार गरिरहेका छन् । यसै सिलसिलामा नेपाली बजारमा करिब डेढ वर्षअघि मात्र प्रवेश गरेको शाओमी ब्रान्डको स्मार्टफोनले छोटो समयमै उल्लेख्य रूपमा बजार विस्तार गरेको छ । शाओमीको नेपाली बजारमा अहिलेको अवस्था, फोनका विशेषता तथा कम्पनीको अबको योजनालगायत विषयमा नेपालका लागि शाओमीका कन्ट्री महाप्रबन्धक सौरभ कोठारीसँग नयाँ पत्रिकाका सुदीपकुमार ढुंगानाले गरेको कुराकानी :

नेपालमा स्मार्टफोन प्रयोगकर्तासँगै बजारमा प्रतिस्पर्धा पनि बढिरहेको छ । बजारलाई कसरी हेर्नुभएको छ ? 

विश्वका विकासशील मुलुकजस्तै नेपालमा पनि स्मार्टफोनको बजार तीव्र विस्तार भइरहेको छ । हामीले नेपालमा मी मोबाइल बिक्री गर्न थालेको भर्खर एक वर्षभन्दा केही बढी भएको छ । यो समयमा नेपालमा स्मार्टफोनको बजार ठूलो मात्रामा विकास भएको देखेका छौँ । केहीअघि सरकारले अन्तःशुल्कमा कटौती गर्नुका साथै राम्रा ब्रान्डका गुणस्तरीय स्मार्टफोन भित्रिन थालेपछि स्मार्टफोनको बजार थप विस्तार भएको छ । नेपालको स्मार्टफोनको बजार विश्वका अन्य बजारभन्दा केही फरक छ । नेपालमा मानिसले सुरुमै राम्रो किन्ने चाहना राख्छ । उसले गुणस्तर र नयाँ फिचरमा ध्यान दिन्छ । 

छोटो अवधिका कारण बिक्री सञ्जाल कमजोर छ होला नि ? 

हामीले छोटो समयमै नेपाली बजारमा उत्साहजनक प्रगति गरेका छौँ । मलाई लाग्छ, हाम्रो प्रगति यसैगरी निरन्तर हुनेछ । अहिले देशभरमा करिब २ सय ६० भन्दा बढी आउटलेट छन् । करिब ४ महिनाअघि ८० भन्दा केही बढी मात्र आउटलेट थिए । यसको अर्थ हामीले छोटो अवधिमै तीन गुणाभन्दा बढी प्रगति गरेका छौँ । त्योसँगै यस समयमा हामीले एट सिरिज बजारमा ल्यायौँ । जसमा रेडमी एट, रेडमी एटटेन, रेडमी नोट एट तथा रेडमी नोट एट प्रो बजारमा आयो । यी फोन गएको नोभेम्बर र डिसेम्बरमा आएका हुन् । हाम्रा स्मार्टफोनबारे बजारबाट राम्रो प्रतिक्रिया आएको छ । 

तपाईंहरूको बजारमा जाने रणनीतिचाहिँ के हो ?

हामीले बजारमा ट्रायथलन रणनीतिअनुसार काम गरिरहेका छौँ । हामी २००९ मा सप्mटवेयरसहित आयौँ । त्यसपछि हामी हार्डवेयर उत्पादनमा लाग्यौँ । त्यसपछि हामी खुद्रा बिक्रीमा केन्द्रित भयौँ र रिटेलमा के चेन्ज ल्याउन सकिन्छ भन्नेमा लाग्यौँ । गएको फेब्रुअरीमा हाम्रो कुनै प्रिफर्ड पार्टनर आउटलेट थिएन । तर, अहिले हेर्ने हो भने देशभरका सबैजसो सहरमा धेरैवटा मोबाइल पसलमा हाम्रो स्मार्टफोनको ब्रान्डिङ भइरहेको छ । त्यसैले विक्रेताको संख्या जुन हिसाबले बढेका छन् वा हामीले बढाउन सकेका छौँ, त्यो उत्साहप्रद छ । यसले हाम्रो बिक्रीमा ठूलो सहयोग गरेको छ । जसका कारण अहिले मी नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनमध्येमा एक बन्न सफल भएको छ । हामी हचुवाका भरमा विक्रेता छान्दैनौँ । यसका लागि हामीले गहन अध्ययन गर्छौं र विक्रेताको सबै विवरण अध्ययन गर्छौं । स्थान, पसलको साइज, त्यहाँ बिक्री भएका स्मार्टफोनको संख्या, विक्रेताको व्यवहारजस्ता कुरा अध्ययन गरेपछि मात्र हामी विक्रेता नियुक्त गर्छौं । हाम्रो बिक्री योजनाका यी केही रणनीति हुन् । 

नेपालमा इ–कमर्सको अवस्था कमजोर नै रहेको र अनलाइन सपिङमा उपभोक्तको विश्वास नरहेकाले पसलबाट गरिने बिक्रीमै जोड दिएका छौँ । तैपनि, अहिले दराज र सस्तोडिलबाट पनि बिक्री गरिरहेका छौँ ।

अहिले त अनलाइनबाटै बिक्री हुने क्रम पनि बढ्दो छ । मी अनलाइनबाट बिक्रीको अवस्था र योजना के छ ?

अहिले पनि नेपालमा अनलाइनबाट भन्दा पनि पसलबाटै खरिद गर्ने क्रम धेरै छ । बिक्रीको प्रतिशतको हिसाबले हेर्दा अनलाइनबाट बिक्री हुने प्रतिशत कम नै हुन जान्छ । किनकी धेरै व्यक्तिले अनलाइनबाट खरिद गर्नुमा विश्वास गर्दैनन् । उनीहरू मूल्य र गुणस्तरमा सशंकित हुन्छन् । अन्य देशमा हामी अनलाइनमा जोड दिइरहेका छौँ । तर, नेपालमा भने अझै पनि इ–कमर्सको अवस्था कमजोर नै रहेकाले पसलबाट गरिने बिक्रीमै जोड दिइरहेका छौँ । हामी अहिले दराज र सस्तोडिलबाट अनलाइनमार्फत पनि बिक्री गरिरहेका छौँ । 

अफलाइन बिक्रीका लागि देशभर पुर्‍याउनुपर्‍यो । ग्रामीण भेगसम्म मीको उपलब्धता कस्तो छ ?

हामीले नेपाली बजारमा प्रवेश गर्दा नै भूगोलको आधारमा चुनौती देख्यौँ । विभिन्न पहाडी र हिमाली बजारमा सामान पुर्‍याउनु साँच्चै सहज थिएन । त्यसपछि हामीले आक्रामक हिसाबले वितरणलाई ध्यान दियौँ । विशेष गरी पहाडी भेगमा पहुँच राम्रो भएका वितरकलाई छान्यौँ । आजका दिनमा शाओमी स्मार्टफोन नाम्चेबजारमा पनि किन्न पाइन्छ । जोमसोममा पनि किन्न पाइन्छ । हामीसँग त्यति ठूलो वितरण सञ्जाल तयार भइसकेको छ । म दाबाका साथ भन्न सक्छु । पहाडी क्षेत्रका शतप्रतिशत बजारमा शाओमीको स्मार्टफोन किन्न पाइन्छ । 

कोही शाओमी स्मार्टफोनको विक्रेता बन्न चाहन्छ भने उसले के गर्नुपर्छ ?

मी प्रिफरिङ पार्टनर हुनका लागि सबैभन्दा पहिले उसमा केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । कामलाई माया गर्ने र नतिजामुखी हुनुपर्छ । उसको आउटलेट राम्रो स्थानमा हुनुपर्छ । आउटलेट फराकिलो हुनुपर्छ । ह्यान्ड सेट बिक्रीको अनुभव पनि हुनुपर्छ । आउटलेट सञ्चालनमा राम्रो अनुभव भएको हुनुपर्छ । त्यस्तो व्यक्तिलाई हामी प्रिफर्ड पार्टनर छान्न सक्छौँ । त्यस्तै कुनै क्षेत्रको वितरक हुनका लागी उसलाई बजारले विश्वास गरेको र बजारमा इज्जत कमाएको हुनुपर्छ । उसमा राम्रो लगानी क्षमता हुनुपर्छ । हामी उसको सक्रियता, लगानी र पूर्वाधारलाई ध्यान दिन्छौँ । 

बिक्रीपछिको सेवा कसरी दिइरहनुभएको छ ? 

बिक्रीपछिको सेवामा हामी धेरै गम्भीर छौँ । जोकसैले पनि महँगोमा किनेको सामानको वारेन्टी र कुनै कारणले बिग्रिएमा मर्मतको सेवा खोजिहाल्छ । सुरुमा हामीले राम्रो व्यवस्था गर्न सकेका थिएनौँ । तर, अब यसका लागि पर्याप्त व्यवस्था गरिएको छ । अहिले नारायणघाट, इटहरी, नेपालगन्ज र काठमाडौंमा गरी चार ठाउँमा हाम्रो डेडिकेटेड सर्भिस सेन्टर छन् । त्योबाहेक हामीसँग पर्याप्त कलेक्सन प्वाइन्ट छन् । कसैको मोबाइल बिग्रिएमा डेडिकेटेड सर्भिस सेन्टर नभएको ठाउँमा कलेक्सन सेन्टरले कलेक्सन गरेर डेडिकेटेड सर्भिस सेन्टरमा ल्याई मर्मत गरेर ग्राहकको हातसम्म पुर्‍याउने गरिएको छ । अब चाँडै हामी डेडिकेटेड सर्भिस सेन्टर बढाउने योजनामा छौँ । 

स्मार्टफोन किन्नुभन्दा पहिले ध्यान दिनुपर्ने मुख्य कुरा के हो ?

कसैले स्मार्टफोन किन्नुभन्दा पहिले ध्यान दिनुपर्ने भनेको फोनको गुणस्तर नै हो । राम्रो गुणस्तर र ब्रान्ड हेरेर किन्नेबित्तिकै खरिदकर्ताले आफूले गरेको खर्चमा सन्तुष्ट हुन सक्छ । यसमा राम्रो क्यामरा, राम्रो प्रोसेसर त हेर्नु परिहाल्यो । गुणस्तरीय सामान र सही मूल्यमा खरिद गर्ने ग्राहक पछि पछुताउनुपर्दैन । 

शाओमी कम्पनी नै यी कुरालाई मुख्य ध्यान दिएर स्थापना गरिएको हो । उच्च गुणस्तर, सवैभन्दा राम्रो स्पेसिफिकेसन र इमानदार मूल्यमा बिक्रीका लागि शाओमी प्रख्यात छ । अहिले हामी भारतमा गुणस्तरीय मोबाइल आपूर्ति गर्नेमा १ नम्बरमा छौँ । यहाँ अध्ययन भएको छैन । तर, भारतमा हामी बर्सेनि अध्ययन गर्छौँ र १ नम्बरमा भएको प्रमाणित भएको हो ।