मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रमेश दवाडी काठमाडाैं
२०७६ फाल्गुण १९ सोमबार २१:१२:००
Read Time : > 5 मिनेट
समाचार

‘१४औं महाधिवेशनमा हाम्रो समूहबाट सहमतिमै सभापतिको उम्मेदवार तय हुन्छ’

Read Time : > 5 मिनेट
रमेश दवाडी, काठमाडाैं
२०७६ फाल्गुण १९ सोमबार २१:१२:००

पार्टीको १४ औं महाधिवेशन ०७७ फागुन ७-१० मा काठमाडौंमा गर्ने निर्णय गरेपछि कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ । सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल दोहोर्‍याउने तयारीमा लाग्दै गर्दा इतर पक्षीय नेताहरू रामचन्द्र पौडेल, डा. शशांक कोइराला, डा. शेखर कोइराला पनि सभापतिको आकांक्षीका रुपमा देखिएका छन् ।

कांग्रेसको आगामी महाधिवेशन, सधैँजसो देखिने आन्तरिक कलह, सभापति देउवाको चारवर्षे कार्यकाल लगायतका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नयाँ पत्रिकाले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसमा १४ औं महाधिवेशनका लागि कार्यतालिका ल्याए पनि समायोजनसहितका काम अझै सकिएका छैनन् । यसले कार्यतालिकालाई असर गर्छ कि गदैन ? 

पार्टी नेतृत्वको नियमित चारवर्षे कार्यकाल सकिएको छ । एक वर्ष थप गर्ने गरी कार्यतालिका ल्याइए पनि त्यसअनुसार काम समयमा भएको छैन । आजभन्दा डेढ–दुई वर्षअगाडि नै मैले कार्य तालिका बनाएर अगाडि बढौं भनेको थिएँ । त्यसलाई साथीहरूले गम्भीरतापूर्वक लिएनन् ।

हामीसँग समयको चाप छ । तर, पनि समायोजन नसकिनु, सदस्यता नवीकरण र वितरणको काम प्रभावकारी रूपमा अघि नबढ्नु दुःखद् छ । अब यस्तै सुस्त शैलीले चल्दैन । व्यवस्थित रूपमा संगठनका कामलाई अघि नबढाउने हो भने अब थपिएको एक वर्षमा पनि १४ औं महाधिवेशन समयमैं गर्न गाह्रो हुन्छ ।

समायोजन नै सकिएको छैन, यो भन्दा बढी विवाद क्रियाशील सदस्यता नवीकरण र वितरणमा छ । यसले महाधिवेशनको कार्यतालिकामा कति असर र प्रभाव पार्ला ?

पार्टीमा जो क्रियाशील छन्, वास्तविक कार्यकर्ताका रूपमा काम गरेका छन्, उनीहरूलाई क्रियाशील सदस्य बन्नबाट रोक्ने काम हुँदैछ । आफूलाई भोट हाल्ने मान्छे भए आफ्नो पार्टीको हुनु पर्दैन, अर्को पार्टीको भए पनि खोजेर सदस्यता दिन खोजिंदैछ । स्थानीय र केन्द्रकै नेताहरुको जोडबलमा यस्ता गलत काम हुँदैछन् । यस्ता खेलले पार्टीलाई न स्वस्थ बनाउँछ, न बलियो नै बनाउँछ । 

व्यवस्थित रूपमा संगठनका कामलाई अघि नबढाउने हो भने अब थपिएको एक वर्षमा पनि १४ औं महाधिवेशन समयमैं गर्न गाह्रो हुन्छ ।

 

हामीले ठूलो मेहनत गरेर यो विधान बनाएका छौं । विधानमा व्यवस्था भए अनुसार व्यवस्थित रूपले सदस्यता बाँड्नुपर्छ । विधानले व्यवस्था गरेको प्रक्रियालाई पछ्याउनुपर्छ । व्यक्तिले बाँड्ने होइन, वडा कमिटीले सदस्यता दिने वास्तविक कार्यकर्ता खोज्नुपर्छ । वडामा को–को मानिस क्रियाशील छन्, यस्ता मान्छे कांग्रेसको लागि चाहिन्छ भन्ने हाम्रो अभ्यास हो । 

सक्रिय, क्रियाशीलहरूलाई सदस्यता दिन सकियो भने कांग्रेसको उद्धार हुन्छ, राम्रो हुन्छ । सदस्यता वितरणमा तोडमोड गरियो भने पार्टीलाई हित गर्दैन । 

१४ औं महाधिवेशन निकट आउँदा पनि १३ औं महाधिवेशनको सदस्यताको पुरानो रेकर्ड नै प्रभावकारी रूपले नराखिएको विषय बाहिर आएका छन् । तपाईंहरूले चाँहि चार वर्षमा सदस्यताको विवरण खोज्न किन आवश्यक ठान्नुभएन ?

हामीले सुरूदेखि नै मागिरहेका छौं । तर जो मान्छेलाई जिम्मा दिएको थियो, सफ्टकपी उसैसँग गयो भनेर संस्थापन पक्षका साथीहरूले भन्नुभयो । हार्डकपी भएपछि सफ्टकपी बनाउन गाह्रो छैन । जिल्लाबाट रेकर्ड मगाएर भए पनि सदस्यताको विवरण प्रभावकारी रुपले राख्नुपर्छ । हार्डकपीको रेकर्ड अनुसार पार्टी संरचनाको आधारमा सदस्यताको अन्तिम टुंगो लाग्छ । 

१४ औं महाधिवेशनमा तपाईंहरूको समूहबाट पार्टी सभापतिमा कसलाई अघि सार्ने तयारी छ ?
 
अहिले हामी सामूहिक भावनाले काम गरिरहेका छौँ । पार्टीलाई सुधार गर्न ‘कांग्रेस बचाऊ, कांग्रेस जोगाऊ’ भन्ने एकसूत्रीय अभियानमा हामी एक छौं । पार्टीभित्र न्याय, निष्पक्षता, पारदर्शी मूल्यांकन हुनुपर्छ भन्नेमा हामी एकमत छौं । हाम्रो तर्फबाट सभापतिको उम्मेदवार, अरु पदाधिकारी को बन्ने भन्ने कुराको अहिले निधो भइसकेको छैन । समय आएपछि आवश्यकता अनुसार हामी मिलनबिन्दु खोज्छौं ।

सभापति शेरबहादुर देउवाको चार वर्षे कार्य कालको समीक्षा कसरी गर्नुहुन्छ ?

मैले सुरुमै देउवाजीलाई ‘तपाईं सिंगो पार्टीको सभापति भइहाल्नुभयो, तीन पटक प्रधानमन्त्री पनि भइसक्नु भएको छ, अब तपाईंले यो ऊ नभनिकन, सबैलाई समदृष्टिले हेर्छु, न्याय निष्पक्षताको आधारमा मूल्यांकन गर्दै समान व्यवहार गर्छु भनिदिनुहोस्, यसमा तपाईं अडिने वित्तिकै म तपाईंलाई पूरा सहयोग गर्छु’ भनेकै हो । तर उहाँ आफ्नो सीमाबाट माथि उठ्न सक्नुभएन, आफ्नै साथीहरूको घेराबाट माथि उठ्न सक्नुभएन । केही साथीहरूले उहाँलाई अप्ठ्यारोमा पारेका होलान्, अथवा केही भएको होला । कांग्रेसमा कोही विचलित नहोस्, यो पार्टीलाई भोलि सबै चाहिन्छन् भनेर मैले तिनीहरूको आवाजलाई मुखरित गरिदिएको हुँ ।  

पार्टी सञ्चालन गर्ने सन्दर्भमा ‘मेरो र तेरो’ भन्ने, भातृसंस्थाको चुनाव पनि मेरो पक्षले जित्छ कि जित्दैन भन्ने हिसाव गर्नु हुँदैन । पार्टीका संरचना र भातृसंस्थाहरु जसरी कार्यसञ्चालनमा आउनुपथ्र्यो, आएनन् । यसले गर्दा जुन गतिमा पार्टी सफल हुनुपथ्र्यो, हुन सकेन । सभापतिजीको चारवर्षे कार्यकाल त्यत्ति राम्रोसँग गुज्रेको म देख्दिनँ । पार्टीले तीनै तहको निर्वाचनमा नमिठो पराजय बेहोर्यो । संगठन र भातृसंस्थाहरू पनि अलपत्र हुनु भनेको उहाँ सफल हुनुभएन भन्ने हो । 

तपाईंको मतलव चारवर्षे कार्यकालमा सभापतिले पार्टीमा आशा लाग्दो केही काम नै गर्नुभएन ?

संस्थागत रूपमा विधि अनुसार चलाइदिऊँ, पार्टीको समयमा चुनाव होस्, ‘मेरो पक्ष जितोस् कि हारोस्’ भन्ने नभई पार्टीलाई एउटा प्रणालीमा हिंडाउने उदारता हुने बित्तिकै धेरै कुरा समाधान हुन्थ्यो । तर, उहाँले यी काम गर्न सक्नुभएन । के होला कसो होला भन्ने शंका र उपशंकाले नै  सभापतिजीलाई गाह्रो भएको म देख्छु । 

सभापति देउवाले पार्टीमा सहमति जुटाउन प्रयास गर्दा पनि तपाईंहरूले सहयोग गर्नुभएन, विधानअनुसार अघि बढ्दा पनि विरोध त गर्नुभयो नि । होइन र ?
 
‘कार्यतालिका लिएर मात्रै केन्द्रीय समितिको बैठकमा जाउँ, नत्र अधिवेशनलाई ढिलो हुन्छ’ भनेर मैले भनेको थिएँ । सहमतिकै लागि मैले यस्तो प्रस्ताव गरेको हुँ । तर उहाँहरूले त्यो कार्यतालिका लिएर जान तयार हुनुभएन । जसले गर्दा मैले जिल्ला सभापति भेला गर्नेदेखि बैठकमा जान्न भन्नुपर्ने सम्मको स्थिति पनि सिर्जना भयो । ‘एजेण्डा लिएर जाऔं न’ भन्दा नमानिकन सुटुक्क जानुभयो । त्यस्तै कुराले गर्दा समस्या देखिएको हो । तर, यो हाम्रो असहयोग होइन । सभापतिले नै निम्त्याउनुभएको विवाद हो । 

आफूलाई भोट हाल्ने मान्छे भए आफ्नो पार्टीको हुनु पर्दैन, अर्को पार्टीको भए पनि खोजेर सदस्यता दिन खोजिंदैछ 

‘पार्टीलाई नै सहयोग गरौं, पार्टीलाई बलियो हुने काम गरौं, संस्थागत विकास गरौं’ भन्दा त्यसमा कुरा नमिलेको मात्रै हो । मैंले असयोग त कहीं पनि गरेको छैन । चुनावमा म उहाँसँगै पछि लागें । आन्दोलनमा म सबैभन्दा अगाडि हुन्छु । प्रशिक्षणको कुरा गर्दा म अगाडि छु । पार्टीले सञ्चालन गरेको हरेक कार्यक्रमा म कहीं पनि पछि छैन । सभापतिजीले आह्वान गरेको कुनै पनि योजनामा म पछि छैन । यस हिसावले मैले सहयोग गरेको छैन भन्नै मिल्दैन । तर आन्तरिक कुरा त मिलाएर जान पर्यो नि १ त्यत्ति हो मेरो भनाइ  । 

प्रमुख प्रतिपक्षको रूपमा कांग्रेसको भूमिकाको विषयलाई लिएर प्रश्न उठिरहेका छन् । तपाईं चाहिँ के भन्नुहुन्छ ?

कम्युनिष्ट पार्टीको सरकारले जनतालाई धेरै ठूलो आश्वासन र भरोसा दिलाएर दुईतिहाइ मत प्राप्त गर्यो । जनताले दिएको विश्वास र मत अनुकूलको काम सरकारले नगरेको हुनाले सारा जनता निराश छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको अडियो, गोकर्णको जग्गा लिज, वाइडबडी जहाज खरिद, एनसेल कर, बुढीगण्डकी जलविद्युत आयोजनासहितका अनेक काण्डमा सरकार भ्रष्टाचारमा जोडिएको छ । सरकार एकसय एक काण्डै–काण्डको भारीले थिचिएको छ । 

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्दा प्रतिपक्षी खरो रुपमा उत्रिनुपथ्र्यो । ‘हेर जनता हो, यो सरकार कति भ्रष्ट छ, कति बेइमानी गरिरहेको छ, जनतालाई धोका दियो, राष्ट्रलाई धोका दियो’ भनेर प्रतिपक्षी डटेर अगाडि आउनुपथ्र्यो । तर, आएन । सडक, संसद कहीं पनि प्रतिपक्ष खुलेर आउन सकेन । 

पार्टी बैठकमा ‘पार्टी कमजोर भयो’ भन्ने मात्रै प्रश्न उठ्छ तर, प्रतिपक्षीका रुपमा संसदमा पार्टीले प्रभावकारी आवाज उठाउन सकेन भनेर छलफल हुँदैन ?
 
मैले पटक–पटक कार्यसमितिमा यो कुरा उठाएको छु । साथीहरूलाई भनेको पनि छु । अन्य सहयोग जुटाउने वातावरण पनि मैले गरेको छु । तर भइरहेको छैन । मुख्य कुरा के हुँदो रहेछ भने, ‘खाने मुख सबैभन्दा ठूलो’ हुने रहेछ । नाकले पानी खाएर नहुने रहेछ, मुखैले खान पर्ने रहेछ । त्यसैले अलिकति अप्ठ्यारो भयो ।  

१३ औं महाधिवेशनमा सभापतिका लागि तपाईं उम्मेदवार हुनुभएको थियो । पहिले जस्तै यो पटक तपाईंको दाबी रहन्छ कि रहँदैन ?
 
सभापतिमा प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्नेबारेमा मैले कुनै निर्णय गरेको छैन । हामी सहमतिका आधारमा कसको आवश्यकता पर्छ, त्यसैलाई अघि सार्छौं । 

सभापतिको दाबेदारमा तपाईसहित, डा. शंशाक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताको दाबेदारी देखिन्छ । एउटा पदका लागि यति धेरै आकांक्षी हुँदा कसरी व्यवस्थापन गर्नु हुन्छ ?

कांग्रेस पार्टी देशले भरोसा गर्ने केन्द्र हुनुपर्छ । त्यसका लागि उपयुक्त नेतृत्व सारा राष्ट्रले स्वीकार गर्ने, नेपालभरका नेता तथा कार्यकर्ताले भरोसा गर्ने नेतालाई अगाडि सार्नुपर्छ । कांग्रेसमा एउटा मात्रै ‘स्ट्रेन्थ’ बाट नेतृत्व हुँदैन । नेतृत्वमा पुग्नका लागि धेरै पक्ष र आयाम जोडिएका हुन्छन् । पार्टीको विश्वसनियता, दुरदर्शिता, क्षमता यी सबै असल नेतृत्वका लागि आवश्यक गुण हुन् । नेतृत्व गर्ने व्यक्ति आम कार्यकर्ताबाट सर्वस्वीकार्य छ छैन, त्यो पनि हेर्नुपर्छ । संकट पार लगाउन सक्ने क्षमताको नेतृत्व आवश्यक पर्छ । कांग्रेस अहिले संकट र अप्ठ्यारोमा छ । यसलाई पार लगाउने नेतृत्व आवश्यक छ । यस्तो अवस्थाबाट गुज्रेको कांग्रेसलाई सन्तुलन गरेर लैजान सक्ने नेतृत्वको खाँचो छ ।