Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्बिर / नयाँ पत्रिका
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार

डा. केसीको दुईहप्ते अल्टिमेटम, माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २ सोमबार १८:०६:००

सरकारसँग सम्झौता गरेका र गत ११ मंसिरमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेखित माग पूरा नभए १७ पौषदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन् । 


सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुई पल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरुभन्दा प्रतिकुल हुने गरी चलखेल भएमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने केसीले बताए । नागरिक स्तरबाट बारम्बार झक्झकाउँदा पनि सरकार र देशको राजनीतिक नेतृत्व अझै पनि जवाफदेही र उत्तरदायी बन्न नसकेको विज्ञप्तीमा उल्लेख छ । 


‘बरु राज्यका हरेक अंगमा भ्रष्टाचार मौलाउँदो छ । चरम राजनीतिक हस्तक्षेप र भागवण्डाका कारण भ्रष्टाचार रोक्नु पर्ने निकायहरु आफैं भ्रष्टाचार र अनियमिततामा लिप्त छन् । प्रहरी लगायतका निकायहरु यस्तै राजनीतिक प्रभावका कारण कति गैर–व्यवसायिक र अक्षम बनेका छन् भन्ने कुरा निर्मला पन्तलगायतका बलात्कार र हत्या प्रकरणबाट उदांगो भएका छन् ।’ विज्ञप्तीमा उल्लेख छ । 


प्रधानमन्त्री केपी ओलीको पहिलो कार्यकालको बेला सरकारले गरेका सम्झौताहरु अहिलेसम्म कार्यान्वयन नभएको केसीले जनाएका छन् । बारम्बार ध्यानाकर्षण गराउँदा पनि र गौरी बहादुर कार्की प्रतिवेदनले दोषी ठहर्याएका व्यक्तिलाई सजाय गर्ने सम्झौता भए पनि सरकारले उक्त प्रतिवेदनले दोषी ठहर्याएका त्रिवि पदाधिकारीहरु लगायतका व्यक्तिहरुलाई अहिलेसम्म बर्खास्तीलगायतका कारवाही नगरेको विज्ञप्तीमा उल्लेख छ । 


विज्ञप्तीमा भनिएको छ, – ‘सरकारले हालै स्वास्थ्य मन्त्रालयको सचिवमा कानुन बमोजिम चिकित्सकहरुमध्येबाट नियुक्त गर्नुपर्नेमा गैर–चिकित्सकबाट नियुक्ति गरेकोमा आपत्ति जनाउन चाहन्छौं । यस्तो गलत कदमले लथालिंग रहेको देशको स्वास्थ्य क्षेत्रलाई झनै अस्तव्यस्त बनाउने हुँदा तत्काल त्यसलाई सच्याउन पनि ध्यानाकर्षण गराउन चाहन्छौं ।’