मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
१३औँ सागमा रजत जितेपछि नेपाली महिला बास्केटबल टोली । फाइल तस्बिर
२०७६ फाल्गुण १९ सोमबार १०:३७:००
Read Time : > 1 मिनेट
खेलकुद

१३औँ सागको टिम इभेन्ट पदक विजेताले नगद पाउने

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १९ सोमबार १०:३७:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको टिम इभेन्ट विजेताले नगद पुरस्कार पाउने भएका छन् । १२ फागुनमा मन्त्रिपरिषद् बैठकले सागका टिम इभेन्टतर्फ स्वर्ण, रजत तथा कांस्यधारी खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्समक्ष नगद पुरस्कारराशि प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद्ले संशोधित कार्यविधिअनुसार नै स्वर्ण, रजत तथा कांस्यपदक विजेतालाई नगदसहित पुरस्कृत गर्नेछ । 

मन्त्रिपरिषद्ले टिम इभेन्टका स्वर्ण विजेतालाई ६ लाख, रजतलाई चार लाख र कांस्य जित्ने टोलीलाई दुई लाख रुपैयाँसहित सम्मानित गर्ने भएको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले नयाँ पत्रिकालाई आइतबार जानकारी दिएका छन् । ‘हामीले वैज्ञानिक ढाँचाअनुसार टिम इभेन्ट स्वर्णलाई ६ लाख, रजतलाई चार लाख र कांस्यलाई दुई लाख रुपैयाँ प्रस्ताव गरेका थियौँ, हाम्रो प्रस्ताव १२ फागुनमा मन्त्रिपरिषद्ले पारित गर्‍यो,’ १३औँ सागमा नेपाली टोलीका सेभ द मिसनसमेत रहेका तिम्सिनाले भने । 

गत २५ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सागका पदक विजेतालाई विशेष प्याकेज घोषणा गर्दा टिम इभेन्टका स्वर्णपदक विजेतालाई पाँच लाख दिने घोषणा गरेका थिए । त्यसवेला एक स्वर्ण जित्नेले नौ लाख, रजतले ६ लाख र कांस्यपदकले तीन लाख रुपैयाँ पाउने घोषणा भएको थियो । यसका साथै दुईभन्दा बढी स्वर्ण जित्नेलाई प्रतिपदक ११ लाख घोषणा भएको थियो । तर, प्रधानमन्त्री ओलीले रजत तथा कांस्य टिम विजेता टोलीको हकमा कुनै घोषणा गरेनन् ।

स्वर्ण विजेता खेलाडीको मात्र पुरस्कारराशि घोषणा हुँदा टिम इभेन्टतर्फका पदकधारी खेलाडी दुःखी बनेका थिए । उनीहरूले सरकारले आफूहरूलाई समान व्यवहार नगरेको आरोप लगाएका थिए । संशोधित कार्यविधिअनुसार स्वर्णविजेता मुख्य प्रशिक्षकले पाँच लाख, रजतले तीन लाख र कांस्यपदकधारीले दुई लाख पाउनेछन् । यसैगरी, स्वर्ण दिलाउने सहायक प्रशिक्षकले तीन लाख, रजतले दुई लाख र कांस्यले एक लाख रुपैयाँ पाउने भएका छन् । 

प्रधानमन्त्री ओलीले घोषणा गरेको साढे दुई महिनापछि टिम इभेन्टतर्फका साग पदकधारीले रकम पाउन लागेका हुन् । नेपालले गत १४ देखि २४ मंसिरसम्म काठमाडौंमै आयोजना भएको १३औँ सागमा ५१ स्वर्ण, ६० रजत तथा ९५ कांस्यपदक जित्दै दोस्रोपटक पदक तालिकामा दोस्रो स्थान रक्षा गरेको थियो । सरकारले पदकधारीका लागि २४ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने परिषद्का उपाध्यक्ष तिम्सिनाले बताए । 

तीन राष्ट्रका खेलाडी डोपिङमा
१३औँ सागमा सातमध्ये तीन राष्ट्रका तीनदेखि चारजना खेलाडी डोपिङमा परेका छन् । १३औँ सागको आयोजकले पदक जितेका खेलाडीको रगत र पिसाबको नमुना (स्याम्पल) संकलन गरी परीक्षणका लागि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)मा पठाएको थियो । वाडाले तीन राष्ट्रका खेलाडी डोपिङमा असफल भएको जानकारी दिएको परिषद्का उपाध्यक्ष तिम्सिनाले बताए । 

‘हामीलाई प्राप्त जानकारीअनुसार तीन राष्ट्रका तीनदेखि चारजना खेलाडी डोपिङमा असफल भएका छन्,’ तिम्सिनाले भने, ‘उनीहरूको स्याम्पलमा प्रतिबन्धित औषधि सेवन गरेको भेटिएको छ ।’ तिम्सिनाका अनुसार वाडाले डोपिङमा असफल खेलाडीको स्याम्पल पुनः परीक्षण गर्न युरोप पठाएको छ । युरोपबाट आएको रिपोर्टअनुसार नै वाडाले डोपिङमा असफल भएका खेलाडीमाथि कारबाही गर्नेछ । डोपिङमा खेलाडी असफल भएपछि नेपालको पदक थप हुने तिम्सिनाले बताए । यसले पुरस्कारराशि वृद्धि हुने उनको भनाइ छ ।