मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १९ सोमबार ०७:२३:००
Read Time : < 1 मिनेट
समाचार

तस्करीको सुन लुकाउने १६ प्रहरी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १९ सोमबार ०७:२३:००

सुन तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएका इन्स्पेक्टरसहित १६ जना प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेर छानबिन अघि बढाएको छ । प्रारम्भिक छानबिनमा उनीहरूले सुन लुकाएको पुष्टि भएपछि थुनामा राखेर छानबिन अघि बढाइएको हो । 

सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्स्पेक्टर खेम नेपालसहित १६ प्रहरीमाथि छानबिन भइरहेको छ । अख्तियारकै पत्रअनुसार उनीहरूलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ । इन्स्पेक्टर नेपालसहित प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ पनि अख्तियारको हिरासतमा छन् । उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको थियो । अख्तियारको पत्रअनुसार प्रहरीले उनीहरूलाई बुझाएको हो । 

गत ११ पुसमा केरुङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा प्रहरीले ना६ख ४९३२ नम्बरको कन्टेनरबाट चार सय २२ ग्राम सुन बरामद गरेको थियो । गाडीका चालकले नै यस सम्बन्धमा माथिल्लो निकायमा सूचना दिएपछि घटना बाहिर आएको हो ।

सुरुमा बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहाल नेतृत्वको समितिले छानबिन गरेको थियो । सोही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले थप अनुसन्धान अघि बढाएको हो । बरामद सुन उनीहरूले काठमाडौंको सुन पसलमा बिक्री गरेर पैसा बाँडेर लिएका हुन् । स्रोतका अनुसार यो घटनामा प्रहरीबाहेक व्यापारी, कर्मचारी र जनप्रतिनिधिसमेतको संलग्नता छ ।