मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन झा काठमाडाैं
२०७६ फाल्गुण १८ आइतबार ०८:४७:००
Read Time : > 3 मिनेट
राजनीति

के गर्दै छन् सिके राउत ?

काठमाडौंको मित्रपार्कस्थित जनमत पार्टीको सम्पर्क कार्यालयमा ताला लगाएर नेता-कार्यकर्तासँग दुई महिनादेखि तराई-मधेसतिर केन्द्रित भएका छन् डा. सिके राउत

Read Time : > 3 मिनेट
नवीन झा, काठमाडाैं
२०७६ फाल्गुण १८ आइतबार ०८:४७:००

पृथकतावादी धारको राजनीति त्यागेका डा. सिके राउत नेतृत्वको जनमत पार्टीको काठमाडौं मित्रपार्कस्थित सम्पर्क कार्यालयमा ताला झुन्डिएको छ । दुई महिनादेखि सम्पर्क कार्यालय खुलेको छैन । जनमत पार्टीका नेता–कार्यकर्ता पनि सम्पर्क कार्यालय आसपास मात्रै होइन, काठमाडौंमा पनि देखिँदैनन् । कहाँ छन् त उनीहरू ?

डा. राउतसँगै जनमत पार्टीका सबै केन्द्रीय नेता जिल्ला दौडाहामा छन् । पुस पहिलो सातादेखि फागुन दोस्रो सातासम्म तराई–मधेसका ३० स्थानमा आमसभा गरेका छन् । यो साताभित्र थप चार ठाउँमा आमसभा गर्दै छन् । कार्यकर्तासँग छलफल, सर्वसाधारणसँग भेटघाट त छँदै छ । अर्को साता केन्द्रीय समितिको बैठक गर्ने तय गरेका छन् भने चैतको पहिलो सातासम्म राष्ट्रिय परिषद् बैठक आयोजना गर्ने तयारीमा छन् डा. राउत । 

मंसिर अन्तिम साता वीरगन्जमा भएको जनमत पार्टीको बैठकले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म २५ स्थानमा आमसभा गर्ने निर्णय गरेपछि डा. राउत केन्द्रीय नेतासहित तराई–मधेसतिर केन्द्रित भएका थिए । ‘२५ ठाउँमा आमसभा गर्ने भनिए पनि कतिपय जिल्लाका दुई ठाउँमा र कतिपय जिल्लामा दोहो-याएर आमसभा राखियो,’ जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश महतोले नयाँ पत्रिकासँग भने, ‘त्यही भएर ३५ वटासम्म आमसभा भए ।’

युवा नेतालाई लक्षित गरेर ‘मधेस नेतृत्व पुञ्ज’ र वरिष्ठ तथा पुराना नेताहरूका लागि ‘वरिष्ठ नेता मण्डली’को अवधारणा अघि सारेका छन । 

एक वर्षअघि फागुनमै सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी धारको राजनीति परित्याग गरेका थिए । त्यसपछि वैशाखमा जनमत पार्टी निर्माण गरेर निर्वाचन आयोगमा दर्ता गराएका थिए । उनले उपनिर्वाचनमा भाग पनि लिए । उपनिर्वाचनमा तराई–मधेसका स्थानीय तहमा मात्रै उम्मेदवारी दिए पनि खासै सफलता मिलेन । त्यसपछि उनी आगामी निर्वाचनलाई लक्षित गरेर संगठन निर्माणतर्फ लागेका हुन् ।
 
अहिले तराई–मधेसमा भइरहेका आमसभा, कोणसभा तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मधेसकेन्द्रित दल राजपा नेपाल र समाजवादी पार्टीको चर्को आलोचना गर्दै आफ्नो पार्टीलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरिरहेका छन् । ‘हामी अर्को निर्वाचनमा वडादेखि प्रतिनिधिसभासम्म सबै ठाउँमा उम्मेदवारी दिने तयारीमा छौँ,’ जनमत पार्टीका केन्द्रीय सदस्य दीपक साह भन्छन्, ‘राजनीतिक दल भएपछि निर्वाचनबाट भाग्ने कुरा आउँदैन ।’ त्यसैको तयारीस्वरूप उनले नयाँ पार्टीका लागि सदस्यता वितरणदेखि अन्य पार्टीका नेता–कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याइरहेका छन्, तराई–मधेसका जिल्ला–जिल्लामा । 

मधेसकेन्द्रित अन्य दलका वरिष्ठ नेतादेखि युवा–विद्यार्थीसम्मका लागि छुटाछुट्टै कार्यक्रम बनाएका छन् । उनी जागरण र प्रशिक्षण चलाउँदा प्रमुख दलहरू नेकपा, कांग्रेससँगै राजपा, समाजवादी पार्टीको चर्को आलोचना गर्दै आइरहेका छन् । युवा नेतालाई लक्षित गरेर ‘मधेस नेतृत्व पुञ्ज’ र वरिष्ठ तथा पुराना नेताहरूका लागि ‘वरिष्ठ नेता मण्डली’को अवधारणा अघि सारेका छन । 

पुञ्जका संयोजक ललित सानु मल्लिक छन् भने वरिष्ठ नेता मण्डलीको संयोजक अशोक सिंह छन् । यी दुवै संगठनमा मधेस आधारभूमि रहेका राजनीतिक दलहरू समाजवादी र राजपा नेपालमा असन्तुष्ट रहेका, उपेक्षामा पारिएका नेता तथा कार्यकर्तालाई तान्ने रणनीति बनाएका हुन् । 

तराई–मधेसकेन्द्रित हुनुअघि उनले ७ मंसिर काठमाडौंको भृकुटीमण्डपमा आमसभा आयोजना गरेका थिए । त्यसमा मधेसको कला–संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । त्यसलगत्तै १४ मंसिरमा भएको उपनिर्वाचनमा तराई–मधेसका थुप्रै स्थानमा उम्मेदवार पनि खडा गरेको थियो । तर, सफल भएनन् ।

त्यसपछि उनी काठमाडौंको कार्यालयमा ताला लगाएर तराई–मधेसकेन्द्रित कार्यक्रममा जुटेका हुन् । तर, उनको पार्टीले उपनिर्वाचनमा आएको मतले उत्साहित भएको निष्कर्ष निकालेको थियो । 

पक्राउ परेसँगै चर्चा, रिहा भएपछि ओझेल

०६४ को संविधानसभा निर्वाचनसँगै उनले मधेसतिर ध्यान दिन थालेका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनका वेला अमेरिकामा रहेका उनले त्यहीँबाट मधेसका मुद्दा उठाउन सुरु गरे । त्यसपछि तराई–मधेससम्बन्धी पुस्तक पनि प्रकाशन गरे । तर, राजनीतिक वृत्तमा चर्चा पाएनन् । 

जब ०७१ भदौमा मोरङको रंगेलीबाट पक्राउ परे, त्यसपछि भने एकाएक चर्चामा आए । त्यसअघि ०६९ मा काठमाडौंमा तत्कालीन मधेसी मोर्चाको आमसभामा देखिए पनि स्वतन्त्र मधेस अभियान चलाएर भूमिगतजस्तै भएका थिए । मोरङको रंगेलीबाट पक्राउ गरिएसँगै डा. राउतमाथि ‘राज्य विप्लव’को मुद्दा लगाइएको थियो । 

त्यसपछि भने पटक–पटक पक्राउ पर्ने र रिहा हुने क्रम जारी रह्यो । ३ माघ ०७२ मा सर्वोच्च अदालतले उनलाई राज्य विप्लवको मुद्दामा सफाइ दियो । र, फेरि मधेसमा सक्रिय भए । उनका गतिविधि शंकास्पद भन्दै प्रहरीले फेरि पक्राउ ग-यो । यसपटक पक्राउ परेका उनी लामो समय जेलमा बसे । 

जेलमा रहेकै वेला सरकारसँग सम्झौता गर्न पुगे । र, जेलमा रहेका डा. राउत २४ फागुन ०७५ मा सीधै काठमाडौंको राष्ट्रिय सभागृहमा देखिए । जहाँ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ बुँदे सहमति गरेर पृथकतावादी राजनीति त्यागेको घोषणा गरे । त्यसयता भने फेरि डा. राउत चर्चाभन्दा बाहिर छन्, तराई–मधेसका गाउँघरतिरै ।  

विदेश पनि जोड

डा. राउतले तराई–मधेससँगै विदेशमा पनि जोड दिएका छन् । विशेषगरी विदेशमा रहेका मधेसी समुदायका युवालाई एकीकृत गरिरहेको छ । यसअघि स्वतन्त्र मधेसका लागि अभियान चलाउँदा उनलाई विदेशमा रहेका मधेसीहरूको संगठन गैरआवासीय मधेसी संघले सघाएको थियो । डा. राउत त्यसका संस्थापक हुन् । यसको अहिले ४७ देशमा संगठन छ । 

अहिले यसको अध्यक्ष वसन्त कुशवाहा छन् । उनी जनमत पार्टीका विदेश विभाग प्रमुख हुन् । १९ सदस्यीय विदेश विभागमा अमेरिका, कुबेत, मलेसिया, अस्ट्रेलिया, भारतलगायत देशमा सक्रिय गैरआवासीय मधेस संघका प्रतिनिधि पनि सदस्य छन् । 

पृथकतावादी धारको राजनीति त्यागेको घोषणा गरेलगत्तै डा. राउत विदेश भ्रमणमा गएका थिए । विदेशमा सक्रिय गैरआवासीय मधेसी संघका प्रतिनिधिसँग छलफल गरेर फर्किएपछि जनमत पार्टी दर्ता गरेका थिए । अहिले विदेशमा रहेका मधेसी समुदायका व्यक्तिलाई संगठिन बनाउन थालिएको जनाएको छ । यसैका लागि उनले यस वर्षको होली दुबईमा रहेका मधेसी समुदायका व्यक्तिसँग मनाउने कार्यक्रम बनाएका छन् ।