१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ फाल्गुण १७ शनिबार १३:५२:००
Read Time : > 1 मिनेट
समाचार

प्रचण्डले भने : संशोधन गरिँदैन भने ५५ अर्व पाइन्छ भन्दैमा राष्ट्रिय प्रतिकूल हुने गरी एमसीसी पारित गरिँदैन (भिडियोसहित) 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ फाल्गुण १७ शनिबार १३:५२:००

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५५ अर्व रुपैयाँ पाइन्छ भन्दैमा राष्ट्रिय हित प्रतिकूल हुने गरी मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पारित नगरिने बताएका छन् । 

‘प्रेस संगठन, नेपाल’ को सिन्धुपाल्चोक जिल्ला संगठनले सुकुटेमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञाशाको उत्तर दिँदै प्रचण्डले उपरोक्त कुरा बताएका हुन् । 

अमेरिकासँग कुराकानी हुँदैछ
‘एमसीसी संसोधन हुन नसक्ने भनेर कसैले भन्यो भने त्यो सत्य होइन’ प्रचण्डले भने, ‘संशोधनै गर्न नमान्ने भन्ने भयो भने चाहिँ ५५ अर्वका निम्ति नेपालले आफ्नो राष्ट्रिय हितलाई गलत ढंगले कम्प्रोमाइज गर्दैन ।’

‘एमसीसी सम्झौता संसोधन हुनै नसक्ने बाइबल होइन’ भनेर आफूहरुले लगातार भनिरहेको बताउँदै प्रचण्डले थपे, ‘एमसीसी कुनै संशोधन हुनै नसक्ने, कमा–फुलिस्टफ फेर्नै नपाइने भन्ने होइन । यो भन्दा अगाडि पनि दुई चोटि संशोधन भइसकेको छ ।’   

एमसीसी सम्झौता अन्तर्गत नेपालले प्राप्त गर्ने भनिएको रकमलाई  धेरै ठूलो उत्पातै ठूलो रकम हो भनेर भन्नु जरुरी नरहेको पनि उनले बताए । भने, ‘हाम्रो राष्ट्रिय हित मुख्य कुरा हो, नेपालको हितसँग ‘कन्ट्र्या्डिक्ट’ गर्ने (बाझिने) कुरा छन् भने तिनलाई परिमार्जन गर्नुपर्छ ।’ 

आफूहरु अमेरिकासँग सहयोग लिन र सहकार्य गर्न चाहिरहेको र लामो समयदेखि नेपालको अमेरिकासँग कुटनीतिक सम्बन्ध रहेको बताउँदै उनले अमेरिकासँग नेपालको कुनै खालको बैरभाव नरहेको पनि प्रष्ट्याए ।  

एमसीसीका बारेमा अमेरिकासँग आफूहरुको कुराकानी भइरहेको जानकारी पनि प्रचण्डले दिए । ‘यसबीचमा अमेरिकासँग पनि सामान्य संवाद त भइराखेकै छ’ उनले थपे, ‘प्रधानमन्त्रीजीले पनि कुरा गरिराख्नु भएको छ, हामीले पनि कुराकानी गरिरहेका छौँ ।’

कार्यदलको प्रतिवेदन हस्ताक्षरविनाको 
प्रचण्डका अनुसार, झलनाथ खनाल संयोजकत्वको एमसीसी सम्बन्धी कार्यदलले प्रारम्भिक प्रतिवेदन ९ फागुनमा बुझाएपनि कार्यदलले अन्तिम प्रतिवेदन भने २१ फागुनमा बुझाउने तयारी गरिएको छ । 

‘एमसीसी कार्यदलले हामी दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको छ तर प्रतिवेदनलाई ‘पोलिस’ गर्न, बिट मार्न बाँकी छ’ यसबारे थप प्रष्ट पार्दै प्रचण्डले भने, ‘हस्ताक्षर गरेर बुझाउनु पथ्र्याे तर, उहाँहरुले हस्ताक्षर नगरी बुझाउनु भएको थियो । अहिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वाहिर हुनु भएकाले त्यसलाई अन्तिम रुप दिन अलिकति ढिला भयो ।’

कार्यदलका सदस्यहरुसँग शनिबार बिहानमात्र कुराकानी भएको बताउँदै प्रचण्डले भने, ‘२१ (फागुन) गते प्रतिवेदन बुझाउने अन्तिम तयारीमा हुनुहुन्छ ।’

अन्तिम रुप नदिइकनै हस्ताक्षर विना दिइएको प्रतिवेदनको जिष्ट (निचोड) मा ‘एमसीसीलाई परिमार्जन र संसोधन गरेरमात्रै यसलाई अघि बढाउन सकिन्छ’ भन्ने रहेको पनि खुलाए । 

‘त्यत्तिकै त्यसलाई पारित गर्न सकिँदैन भन्ने त्यसको निचोड छ, यो कुरा झलनाथजीले पनि बाहिर भनिसक्नु भएको छ’ उनको भनाई थियो, ‘प्रतिवेदन बुझाउने बेला सामान्य हामीलाई ब्रिफिङमा पनि परिमार्जन र सुधारविना पारित गर्न सकिँदैन भन्ने स्पिरिटमा नै प्रतिवेदन छ ।’