मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १७ शनिबार ०८:२०:००
Read Time : > 1 मिनेट
खेलकुद

एसिसी इस्टर्न रिजन : मलेसियासँग नतिजा  दोहोर्‍याउने चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १७ शनिबार ०८:२०:००

एसिसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले शनिबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपालले एक दशकदेखि मलेसियाविरुद्ध निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको छ । प्रतियोगितामा एक मात्र एकदिवसीय मान्यताप्राप्त राष्ट्रका रूपमा रहेको नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । शीर्ष दुई टोलीले आगामी अगस्टमा हुने एसिया कप छनोटमा स्थान बनाउने भएकाले सहभागी सबै पाँच टोलीका लागि यो प्रतियोगिता महत्वपूर्ण छ । 

थाइल्यान्डको बैंककस्थित ट्रेड थाई मैदानमा हुने भिडन्तमा दुवै टोली सुखद सुरुवातको प्रतीक्षामा छन् । राउन्ड रोबिनका आधारमा पाँच टोलीबीच हुने प्रतियोगितामा नेपालले मलेसियापछि क्रमशः हङकङ, थाइल्यान्ड र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध प्रतिस्पर्धा भए पनि कप्तान ज्ञानेन्द्र मल्लले यो प्रतियोगितालाई एक्सपोजको बलियो अवसरका रूपमा लिएका छन् ।

मलेसिया पनि पहिलो खेलमा नेपाललाई पराजित गर्न सके उपाधिहोडमा पुग्ने विश्वासमा छ । त्यसैले मलेसियाका लागि अन्य टोलीको तुलनामा मुख्य प्रतिस्पर्धी नेपाल नै हो । त्यसो त मलेसियाले केही समयअघि हङकङविरुद्ध पाँच खेलको टी–२० सिरिज जित्दै आफू बलियो रहेको संकेत दिएको थियो । सिरिज क्लिनस्विप गरेको मलेसिया मानसिक रूपमा बलियो छ । 

प्रतियोगितामा नेपाल पहिलो खेलबाटै आफ्नो बलियो उपस्थिति देखाउने प्रयासमा हुनेछ । कप्तान मल्लले प्रतियोगितामा सहभागी हुनुअघि आफुहरूले कुनै टोलीलाई कमजोर नआँक्ने बताएका छन् । टी–२० मा हरेक बलको महत्व हुने भन्दै उनले कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर नठानी प्रतिस्पर्धा गर्ने बताएका छन् ।

इतिहास नेपालको पक्षमा

नेपाल मलेसियासँग पछिल्लो १० वर्षयता पराजित भएको छैन । हालसम्म टी–२० मा सातपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा भएकोमा नेपालले ६ खेलमा जित हात पार्दा मलेसियाले एक खेलमा जित निकालेको छ । नेपालले पहिलोपटक सन् २००७ मा कुवेतमा भएको एसिसी टी–२० मा मलेसियाको सामना गरेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो । त्यसपछि नेपालले सन् २००९ को एसिसी टी–२० मा पहिलोपटक मलेसियासँग ६ विकेटले पराजित भयो । त्यस्तै, २०१३ को एसिसी टी–२० मा घरमै भएको प्रतिस्पर्धामा नेपालले १९ रनको जित निकालेको थियो । त्यस्तै, सन् २०१८ मा मलेसियामा भएको टी–२० एसिया रिजनल छनोटमा नेपालले आठ विकेटको जित निकालेको थियो ।

नेपालले २०१९ को जुलाई १३ र १४ मा दुई खेलको टी–२० सिरिज खेलेको थियो, जसमा नेपाल दुवै खेलमा विजयी भएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । अर्को खेलमा नेपालले ६ रनको रोमाञ्चक जित निकालेको थियो । पछिल्लोपटक भने नेपालले आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया रिजनल फाइनलमा २४ जुलाई २०१९ मा मलेसियालाई सात विकेटले पराजित गरेको थियो । त्यसैले नेपाल आफ्नो बलियो छवि रक्षाका लागि शनिबार पुनः एकपटक पुरानो इतिहास दोहोर्‍याउने उद्देश्यसहित मैदानमा हुनेछ ।