मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ फाल्गुण १७ शनिबार ०६:२३:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश संसद्मा अडियोदेखि केकसम्मका विषय

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १७ शनिबार ०६:२३:००

प्रदेश ५ को प्रदेश सभा बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे कुरा उठेको छ । त्यस्तै, प्रधानमन्त्रीले जन्मदिन मनाउँदा काटिएको केकका विषयमा समेत कुरा उठ्यो ।  शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै प्रदेश सभाका सांसद फखरुद्दिन खानले अडियो काण्डबारे प्रधानमन्त्रीबाट आएका भनाइले अनुसन्धानलाई प्रभावित पार्न सक्ने धारणा राखे ।

उनले नेपालको नक्सा भएको केक काटेको प्रति पनि आपत्ति जनाए । ‘अनुसन्धानलाई प्रभावित पार्ने गरी कार्यकारी प्रमुखबाट कुरा आएको छ,’ ‘यो चिन्ताको विषय हो । नेपालको नक्सा भएको केक काटेको तर्फ संकेत गर्दै उनले सो कार्यले  शिर निहुरिएको बताए । 

अर्का सांसद विजयबहादुर यादवले बैठकमा उठाएका कुरा सरकारले नसुनेको या जवाफ दिन नचाहेको हो, बुझ्न नसकेको बताए । अघिल्लो बैठकमा म्याद सकिएको औषधि वितरण गरेबारे संसद्मा कुरा उठाएकामा हालसम्म पनि सरकारले त्यसको छानबिन गर्न चासो नदेखाएको बताए । सरकारले साना दलहरूलाई समेत समेट्ने काम नगरेको उनको गुनासो थियो । 

यादवले गत ५ फागुनको बैठकमा हात्तीपाइले रोग निवारणका लागि खुवाइएको औषधि म्याद सकिएको पाइएको भन्दै कुरा उठाएका थिए । सांसद खानले पनि म्याद गुज्रेका औषधिदेखि विभिन्न सामानसमेत बजारमा छ्यापछ्याप्ती रहेको तर प्रदेश सरकारले अनुगमन गर्ने तथा जवाफदेही बन्नेतर्फ ध्यान नदिएको बताए । 

प्रदेश सांसद खड्गबहादुर खत्रीले प्रदेशको नाम र राजधानीको निर्णय गर्न ढिलाइ भएको बताउँदै सो विषय प्रदेश सभा बैठकमा प्रवेश गराउनुपर्ने  धारणा राखेका थिए । त्यस्तै, माला गोतामे सुनार, कमलादेवी विक, दीपा विक, दीर्घनारायण पाण्डे, भुवनेश्वर चौधरीलगायतले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।