मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सागर चन्द काठमाडाैं
२०७६ फाल्गुण १६ शुक्रबार १७:००:००
Read Time : > 1 मिनेट
समाचार

नेसनल मेडिकल कलेजको धम्की ! होस्टलमा नबस्नेलाई पढ्नै नदिने

Read Time : > 1 मिनेट
सागर चन्द, काठमाडाैं
२०७६ फाल्गुण १६ शुक्रबार १७:००:००

नेसनल मेडिकल कलेजले आफ्नो होस्टलमा बस्न नमान्ने विद्यार्थीलाई पढ्न नदिने भन्दै धम्की दिएको छ । एमबिबिएस अध्ययनको नयाँ सत्र सुरु हुन लागेको समयमा कलेजले आफ्नो होस्टलमा नबस्ने विद्यार्थीलाई पढ्न नदिने भन्दै धम्क्याएको छ ।

‘मेरो घर नजिकै छ । त्यसैले मैले होस्टल नबसिकनै पढ्छु भनेको थिएँ । तर, मलाई कलेज प्रशासनले होस्टलमा नबस्नेलाई पढ्न नदिने भन्दै धम्की दियो,’ नयाँ पत्रिकाको सम्पर्कमा आएका एक विद्यार्थीले भने ।

शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएका विद्यार्थीले एमबिबिएस अध्ययनको वार्षिक ८ हजार शुल्क तिर्नुपर्ने हुन्छ । यसरी छात्रवृत्ति पाएका विद्यार्थीबाट पैसा असुल्न कलेजले विद्यार्थीलाई होस्टल बस्नुपर्ने बाध्यता सिर्जना गरेको विद्यार्थीहले आरोप लगाएका छन् ।

कलेजले एक वर्षको होस्टल शुल्क १ लाख ९५ हजार रुपैयाँ तोकेको छ । नयाँ पत्रिकाको सम्पर्मा आएका विद्यार्थीले गुनासो गरे, ‘स्कलरसिप पाएका विद्यार्थीको एकेडेमिक शुल्क ८ हजार मात्र हो । तर, कलेजले भने होस्टलमा बस्नुपर्छ भन्दै पैसा मागिरहेको छ ।’

आइतबारबाट पढाइ सुरु हुने भए पनि होस्टल बस्न नमान्ने विद्यार्थीलाई कलेजले कलेजहातामा समेत प्रवेश निषेध गरेको ती विद्यार्थीले बताए । ‘आज ओरिएन्टेसन क्लास थियो । तर, होस्टल बस्न नमानेको भन्दै कलेजभित्र छिर्न पनि दिएनन्,’ विद्यार्थीले भने ।

होस्टल बस्न नमानेका विद्यार्थीलाई कलेजका निर्देशक अविद हुसेन अन्सारीले कलेज नै छिर्न नदिने धम्की दिएका हुन् । ‘अविद हुसेन अन्सारीले पहिला दुई लाख तीन हजार रुपैयाँ लिएर आऊ भने । पाँच वर्षको होस्टेल कम्पलसरी छ तिमी जहाँबाट हुन्छ लिएर आऊ भने,’ विद्यार्थीले भने ।

कलेज नजिकै घर भएर पनि विद्यार्थीबाट पैसा असुल्न होस्टल बस्नुपर्ने अनिवार्य नियम कलेज प्रशासनले बनाएको छ । होस्टल बस्न नमान्ने विद्यार्थीलाई अन्यत्रको कलेजमा पढ्नु भन्दै प्रशासनले धम्की दिएको विद्यार्थीले बताए । 

कलेज प्रशासनले होस्टल बस्नुपर्ने बाध्यकारी नियम सुनाएपछि होस्टल शुल्क जम्मा गर्न आफ्ना बुबा ऋण खोज्न गएको पनि ती विद्यार्थीले सुनाए । ‘घरमै बस्छौ भन्दा नमानेपछि अहिले बुबा ऋण खोज्न जानुभएको छ । यसरी ऋण गरेर पाँच वर्षसम्म त तिर्न सक्दैनौंहोला,’ विद्यार्थीले सुनाए ।

कलेजका व्यवस्थापकीय निर्देशक बसुरुद्दिन अन्सारीले भने आफ्नो कलेजले त्यसो नगरेको दाबी गरेका छन् । नयाँ पत्रिकासँग कुराकानी गर्दै उनले कुन विद्यार्थीले यसो भनेको हो भन्दै उल्टै प्रश्न गरे, ‘यो फाल्तु कुरा तपाईंलाई कसले भन्छ ? कुन विद्यार्थीले भनेको ? यो फोकटिया कुरा कसले भन्यो तपाईंलाई ? नाम बताउनुहोस् ?’

विद्यार्थीलाई होस्टलमा नबसे पढ्न नदिने भन्दै धम्की दिने निर्देशक अन्सारीले आफूले त्यसो नभनेको दाबी गरेका छन् । धेरैबेर कुरा गर्न नमानेका अन्सारीले पनि कसले सुनाएको भन्दै उल्टै बारम्बर प्रश्न गरेका थिए, ‘त्यस्तो भनेकै छैन । कसले भन्यो यो कुरा ? मलाई थाहा छैन । कसले भन्यो ?’ उनले सोधिरहे ।