१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १६ शुक्रबार १४:१३:००
Read Time : > 1 मिनेट
समाचार

कांग्रेसले महाधिवेशन तयारीका लागि क्रियाशील सदस्य वितरण र नवीकरण सुरु गर्‍याे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १६ शुक्रबार १४:१३:००

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारीका लागि शुक्रबारदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण शुरु गरेको छ । 

पार्टीको विधानले तोकेको कार्यविभाजन र कार्यविधि बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको हो । 

संगठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य संख्या हाल स्वदेश र विदेश (जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 
केन्द्रीय कार्यसमितिको गत २९ माघको बैठकले विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । 

कांग्रेससँग पार्टी एकीकरण गरेका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका करिब एक लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिने प्रवक्ता शर्माको भनाइ छ । 

संघीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना समायोजनको कार्य यही १५ फागुनसम्म गरिसक्ने केन्द्रीय कार्यसमितिले गरेको निर्णय गरेको थियो । १५ फागुन ३५ जिल्लाले पूर्ण र बाँकी जिल्लाले ९० प्रतिशत कार्य सकेको र बाँकी दुई÷चार दिनमा समायोजन सकिने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका साङ्गठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि मात्र विधानका केही दफा निलम्बनसमेत गरेको छ । 

पार्टी विधानको दफा ४ मा कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ । सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । 

केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशनका लागि ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ । 
नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसंख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशितालाई ध्यानमा राखी वितरण गर्ने जनाएको छ ।

नयाँ र नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन, केन्द्रमा पठाउने, छानबिन गरी केन्द्रीय सभापतिबाट प्रमाणित अन्तिम सूची ०७७ साल साउनसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने अवधि निर्धारण गरिएको छ ।

गत १३ माघमा बसेको केन्द्रीय समितिको बैठकले वडा अधिवेशन ०७७ सालको १६ कात्तिक, गाउँ÷नगरपालिका अधिवेशन १८ कात्तिक, प्रदेशसभा क्षेत्रीय अधिवेशन २१ कात्तिक, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ कात्तिकमा गर्ने निर्णय गरेको थियो । 

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २५ कात्तिकमा, प्रदेश अधिवेशन २९ मंसीरमा र केन्द्रीय महाधिवेशन ७ फागुनलेखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।