१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण १६ शुक्रबार ०९:२५:००
Read Time : > 1 मिनेट
नयाँCity

काठमाडौंमा मधेसी ‘मेनु’

सहरको ट्रेन्ड

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १६ शुक्रबार ०९:२५:००

काठमाडौंमा विदेशी परिकारका पारखी बढ्दो क्रममा छन् । सँगसँगै काठमाडौंबाहिरका नेपाली खाना पनि भित्रिइरहेका छन् । पछिल्लो समय भित्रिने क्रममा छन्, तराई/मधेसका परिकार । मधेससम्म पुगेर चाख्न नपाएका मानिसका लागि काठमाडौंमै त्यस्ता परिकार उपलब्ध हुन थालेका छन् । मधेसमा लोकप्रिय पोहा, दूधपिठ्ठी, खजुरिया, लिट्टीलगायत खानेकुराका पारखी उपत्यकामा पनि बढेका छन् ।

पहाडको खाना खाएकालाई मधेसको खाना बढी मसालेदार, चिल्लो र पिरो लाग्न सक्छ । त्यसरी नै मधेसको खाना खाएकालाई पहाडको खाना फिक्का लाग्छ । सादा खानामा दाल, भात, तरकारीका साथमा मधेसी परिकारमा थपिन्छ, तरुवा । त्यसमा प्रयोग हुन्छन्, तिल र खुर्सानीको सादा अचार । कढी, बरीका साथै अमिलो, गुलियो र पिरो मिसिएको खट्टिमिठ्ठी पनि मधेसका मौलिक परिकार हुन् । ‘डेजर्ट’का रूपमा सकरौरी वा दहीमा राखिएको मिठाई प्रसिद्ध छ, मधेसमा । तराईमा ‘जलखई’ अर्थात् खाजाका रूपमा पाहुनालाई खजुरिया, पिरुकिया, ठेकुवा पस्किने चलन छ । त्यसबाहेक मधेसका अन्य खाना हुन्– पुवा, दलिपिठ्ठी र दूधपिठ्ठी ।

राजधानीमा तराईका परिकार छिरेको दशकयता नै हो । काठमाडौं तीनकुनेस्थित अप्पन क्याफेका सञ्चालकमध्येका एक बिटु मिश्राका अनुसार दूधपिठ्ठी, खजुरिया, पिरुकिया, तरुवाको स्वाद लिएका ग्राहक फेरि पनि तिनै परिकार खोज्छन् । अधिकांशले चियासँग तरुवा र खजुरी खान रुचाउँछन् । ‘कतिपय पाहुना त मलाई पनि ती परिकार बनाउन सिकाइदिनु भन्दै आउँछन्,’ मिश्रा भन्छन् ।

मधेसमा माछाका परिकार लोकप्रिय छन् । माछालाई सौभाग्य र सन्तानको प्रतीक मानिन्छ, मधेसी संस्कृतिमा । काठमाडौंमा धनुषा, बारा, पर्सालगायत जिल्लाका किसानले उत्पादन गरेका माछा भित्रिने गरेका छन् ।

पहाडको खाना खाएकालाई मधेसको खाना बढी मसलेदार, चिल्लो र पिरो लाग्न सक्छ । त्यसरी नै मधेसको खाना खाएकालाई पहाडको खाना फिक्का लाग्छ ।

काठमाडौंमा मधेसी परिकार
कीर्तिपुरस्थित ‘बडघर रेस्टुराँ’ले थारू जातिका परिकार पस्किँदै आएको छ । यहाँ घोंघी र गंगटाका परिकार मात्र होइन, ढिकरी, बयरको चटनी, अन्डिक भातलगायत पाइन्छन् । करिब डेढ वर्षदेखि काठमाडौंमै थारू परिकार पस्किन थालेको सञ्चालक सीताराम थारू बताउँछन् ।यस्तै, तीनकुने गैरीगाउँस्थित लेकाली किचेन एन्ड कटिया हाउसले नौ महिनादेखि रौतहटको मौलिक परिकार ‘कटिया’को स्वाद चखाउँदै आएको छ । ‘मधेसमै चाखिसकेकाहरूले ठ्याक्कै मधेसकै स्वाद रहेछ भन्छन्,’ सञ्चालक मधुसूदन ढकाल भन्छन्, ‘पहिलोपटक खानेहरू पनि नयाँ स्वाद पाएकामा दंग पर्छन् ।’ पछिल्ला दिनमा कटियालाई मेनुमा राख्ने रेस्टुराँ बढेका छन् ।

यस्तै, झापाको राजवंशी समुदायमाझ लोकप्रिय पकवान हो, भक्का । पुरानो बानेश्वरस्थित ‘भक्का हाउस’ले राजधानीका उपभोक्तालाई उक्त परिकार पस्किइरहेको छ । जाडोयाममा प्रदर्शनीमार्ग, अनामनगरलगायत स्थानमा पनि भक्का बिक्री गरिरहेकाहरू भेटिने गरेका छन् ।

मधेसका अधिकांश जिल्लामा लस्सी लोकप्रिय छ । गर्मीयाममा यसको माग बढी हुन्छ, जुन अहिले काठमाडौंमै पाइन्छ । त्यसबाहेक नरिवलको पानी, रबडी र उखुको रस पनि काठमाडौंमा लोकप्रिय बन्दै गएका छन् । मधेसको लोकप्रिय पानका अनेक स्वादमा राजधानीका उपभोक्ता रत्तिन थालेको लामै समय भयो । काठमाडौंका गल्लीपिच्छे खुलेका पानपसलमा यसका विविध परिकार उपलब्ध छन् । तर, मधेसका भित्री गाउँ अर्थात् देहातमा खाइने चामलको रोटी, नुन, प्याज, तेल र खुर्सानीको सेट काठमाडौंमा भिœयाउन सकेका छैनन्, यहाँका रेस्टुराँ व्यवसायीले । यसलाई मधेसको ‘खाजा सेट’ मानिन्छ ।