१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १६ शुक्रबार ०७:५७:००
Read Time : < 1 मिनेट
राजनीति

सरकारको आलोचना र बचाउमै सकियो राष्ट्रिय सभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १६ शुक्रबार ०७:५७:००

राष्ट्रिय सभाको बिहीबारको बैठकको आधा समय सरकारको आलोचना र बचाउमै सकिएको छ ।  बैठकमा बोल्दै सांसद बद्री पाण्डेले सरकारले विभिन्न काण्ड सिर्जना मात्रै गरिरहेको जिकिर गर्दै त्यसको प्रभावले सरकार, राष्ट्रिय राजनीति, विकास र समृद्धिको यात्राको गतिमा खतरा देखिएको बताए । ‘एउटा काण्ड ठीक नहुँदै अर्को काण्ड त्यसलाई ढाक्न आइपुग्छ । त्यो काण्ड त्यसैभित्र हराउँछ ।

काण्डै काण्डहरूमाथि छोपिएकाले भित्रभित्रै काण्डहरू दुर्गन्धित हुने, गन्हाउने र त्यसको प्रभाव सरकार, राष्ट्रिय राजनीति, विकास र समृद्धिको यात्राको गतिमा देखिने खतरा देख्दै आएका छौँ,’ सांसद पाण्डेले भने, ‘यसै हप्ता सञ्चारमन्त्रीको अडियो काण्ड, त्यसलाई छोप्न प्रधानमन्त्रीको राजसी तरिकाको जन्मोत्सव काण्डका जब प्रश्नहरू उठ्न थाले, तपाईं राजा महाराजा नवसामन्त हो कि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको प्रधानमन्त्री हो ।’ 

सांसद रमेशजंग रायमाझीले यती होल्डिङ्सले प्रधानमन्त्रीका लागि नेपालको नक्सासहितको केक बोकेर गएको भन्दै गरिमामय पदमा बसेको मानिसले नक्सासहितको केक काट्नुपूर्व विचार गर्नुपर्ने बताए । सांसद रामप्रीत पासवानले दुई वर्षमा सरकारको लिला र प्रहसन मात्र देख्न पाएको बताए ।  यो दुई वर्षमा ताली बजाउनेबाहेक अरू कुनै काम नभएको जिकिर गर्दै उनले दुई वर्षमा विभिन्न लिला र प्रहसन मात्रै देखिएको बताए ।

 सांसद मुक्ताकुमारी यादवले ७० करोड घुस मागिएको भनिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा प्रधानमन्त्री नै सहभागी रहेको बताइन् । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड कमिसनको कुरा आएको छ । यसमा गोकुल बाँस्कोटा भनेको स्मल फिस हो । बिग फिस त प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ उनले भनिन् ।  सांसद खेमराज नेपालीले जनताको निमन्त्रणामा प्रधानमन्त्री ओली जन्म दिवस मनाउन पुख्र्यौली घर गएको भन्दै ऋषिमन बोकेको प्रधानमन्त्रीलाई अनर्गल आरोप नलगाउन आग्रह गरे । सांसद खिमलाल भट्टराईले सरकारले गरेका राम्रा कामको फेहरिस्त सुनाएका थिए ।