मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण १६ शुक्रबार ०७:०४:००
Read Time : < 1 मिनेट
समाचार

पर्यटकीयस्थल दरबार क्षेत्रमै छैनन् पर्याप्त शौचालय

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण १६ शुक्रबार ०७:०४:००

सरकारले २० लाख पर्यटक भित्र्रयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । सोहीअनुसार पर्यटक भित्र्रयाउन देश–विदेशमा विभिन्न प्रचारात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छन् । तर, नेपाल भित्रिएका पर्यटकको पहिलो रोजाइमा पर्ने काठमाडौं, र ललितपुरका विश्व सम्पदा क्षेत्रमा भने पर्याप्त शौचालयसमेत छैनन् । भएका शौचालय  पनि जीर्ण र अव्यवस्थित छन् ।

पाटन संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनाल र काठमाडौं महानगरका पर्यटन विभाग प्रमुख रामबहादुर थापा दरबार क्षेत्रमा पर्याप्त शौचालय नहुँदा पर्यटकलाई समस्या भइरहेको स्वीकार्छन् ।

भएका शौचालयबाट पानी रसाएर दरबार क्षेत्रमा दुर्गन्ध फैलिरहेको निर्देशक खनालको भनाइ छ । पाटन दरबार क्षेत्रमा दुईवटा शौचालय पर्यटकका लागि छुट्याइएको छ । कार्यकारी निर्देशक खनालले पर्यटकका लागि थप शौचालय बनाउने प्रयास भइरहे पनि ठाउँ अभाव भएको बताए । उनले भने, ‘थप शौचालय बनाउने प्रयास गरिरहेकै छौँ । तर, ठाउँ नै छैन ।’ विश्व सम्पदामा सूचीकृत क्षेत्रमा संरचना निर्माणअघि स्वीकृति लिनुपर्ने भएकाले यसैको प्रक्रियामा रहेको उनले बताए । विभागले स्वीकृति दिइनसकेको उनको भनाइ छ । 

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन भने पाटन दरबार क्षेत्रमा पर्यटकका लागि पर्याप्त शौचालय नभएको स्वीकार गर्दैनन् । विगतमा यस्तो समस्या भए पनि अहिले पर्याप्त शौचालय रहेको उनको दाबी छ । दरबार क्षेत्रमै शौचालय नभए पनि बाहिर शौचालयहरू बनिसकेका छन् । पाटन दरबार क्षेत्रमा जम्मा २ वटा शौचालय छन् ।    

काठमाडौं महानगरले पर्यटकलाई लक्षित गरी विष्णुमती किनारमा ६ वटा सार्वजनिक शौचालय स्तरोन्नति गरिरहेको जनाएको छ । महानगरका संस्कृति तथा पर्यटन विभागका प्रमुख रामबहादुर थापाका अनुसार शौचालयको समस्या समाधान गर्न भएका शौचालयको स्तरोन्नति र एनिटाइम ट्वालेटको योजना ल्याएको छ । योजनाअनुसार रेस्टुरेन्ट, सपिङ सेन्टरहरू एनिटाइम ट्वाइलेट मोबाइल एप्समा जोडिएका हुन्छन् । एप्समा सर्वसाधारण र पर्यटक सबै जोडिन सक्छन् ।