१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १५:३६:००
Read Time : > 5 मिनेट
फिचर

‘डेन्जर जोन’मा एक कवि 

Read Time : > 5 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार १५:३६:००

सिनेमा सुटिङको चटारो सकेपछि उपेन्द्र सुब्बा थोरै भए पनि फुर्सदमा छन् । सिनेमा सम्पादनको चरणमा छ । फुर्सदको सदुपयोग गर्दै सुब्बा आफ्ना साहित्यिक दोस्तसँगको भेटघाटमा हुन्छन् आजभोलि । खासमा उनी आफ्ना साहित्यिक सम्बन्ध नवीकरण गर्दैछन् । 

यही मेसोमा सुब्बालाई भेट्न पुगेँ म । यस अघि साहित्यकारको रूपमा भेट्थेँ तर, यसपटक भने सुब्बालाई निर्देशकको रूपमा भेट्दैछु ।

नामको अगाडि निर्देशकको उपनाम थप्नुपर्ने झोँक किन चलेको होला उपेन्द्र सुब्बालाई ? 

कवि तथा लेखक भएर गज्जबले बाँचिरहेकै थिए । विभिन्न साहित्यिक कार्यक्रममा निम्ता आइहाल्थ्यो । विदेशतिर पनि कविता सुनाउन गइरहन्थे÷गइरहेका छन् । फिनिक्स पब्लिकेसनका अनुसार ‘लाटो पहाड’ कथा संग्रह २०–२५ हजार प्रति बिक्री भइसकेको छ । यसको मतलब किताबबाट राम्रै रोयल्टी पाएकै थिए÷छन् । जान्ने सुन्नेहरू भन्छन्, पूर्णकालीन लेखक भएर बाँच्न गाह्रो छैन ।

उपेन्द्र सुब्बालाई निर्देशक बनाउने ‘बिहाइण्ड द सिन’को कहानी उनकै जुबानी –
‘अझैं राम्रै गर्दै जाउँ हो कि ? एउटा कुरो चाहिँ के रहेछ भने सिकाइको सुरुवातमा बढी सृजनशील होइँदोरहेछ । अलिअलि जानेको अवस्था हुने रहेछ त्यो । भयंकर नै गर्छु भन्ने लाग्ने । 

जस्तो कि सिकारु अवस्थामा अलिअलि कविता लेख्न जानेपछि कविताहरू गतिला नभए पनि लेख्न एकदमै ऊर्जा आउँछ । लेख्दै गएपछि खास लेख्न खोजेको कविता चाहिँ यस्तो थियो, तर यस्तो कविता लेखेँ भन्ने बोध हुन्छ । आख्यानमा पनि त्यस्तै हो । हाफ–हाफ लेखिन्छ । एक दुई किताब पनि लेखिन्छ । अनि निचोड उही ।

म फिल्ममा आउनुको पछाडि आठ दश वर्ष फिल्मसँग जोडिएकाले पनि होला । यसबीचमा बढीजसो स्क्रिप्टमा काम गरेँ । र यो क्षेत्रमा केही नयाँ गर्न सक्छु कि भन्ने लागेर पनि होला । अर्को कुरा चाहिँ कथाहरू लेख्ने क्रममा लिम्बु समुदायको कथा पनि आए । त्यसका लागि लिम्बु समुदायलाई राम्रोसँग छिचोलेको मेकर आवश्यक थियो । तर, राम्रा निर्देशक÷मेकरहरूलाई मेरो कथा बेच्न सकिनँ क्यार । अनि आफैं बनाउन लागिपरेँ ।
निर्देशनमा खतरा मोल्नुको एउटा कारण यो पनि होला कि !’

०००

भन्ने गरिन्छ, फिल्म ठूलो ‘क्यानभास’ हो । ठूलो क्यानभासमा रंग मिलाउन गाह्रै हुन्छ । त्यसैले त फिल्म बनाउन ठूलै चुनौतीको सामना गर्नुपर्छ ।

आरोप लाग्ने गर्छ, नेपाली सिनेमा मेकरमा काव्य चेत छैन । कविता लेखेरै सिनेमातर्फ लम्किएका सुब्बालाई लाग्दोरहेछ– ‘राम्रो फिल्म मेकर कवि पनि हुनुपर्छ । या त उसले काव्यको क्षमतालाई र फैलावटलाई बुझ्नसक्नुपर्छ ।’

कविता सिर्जनाको पूर्व अभ्यासले आफूलाई निर्देशनमा सघाएको ठहर छ सुब्बाको । उनी भन्छन्, ‘निर्देशकको रूपमा काम गर्न कविताले मलाई झनै सहज बनायो ।’ 

कलाको विस्तारित रूप हो सिनेमा । ‘कलालाई लिएर उदासीन हुने गल्ती गर्नुहुन्न,’ सुब्बा भन्छन्, ‘कला नै नबुझ्ने त बन्नुहुन्न नि !’

०००

सिनेप्रेमीमाझ सुब्बा ‘झाँक्री बा’का रूपमा परिचित छन् । सिनेकर्मीमाझ पटकथाकार हुन र अब सुब्बालाई निर्देशक भनेर पनि चिन्नेछन् । किनभने सुब्बाले निर्देशन गरेको सिनेमा ‘जारी’ जेठ तेस्रो साता पर्दशनमा आउँदैछ । सुब्बाको परिचयको यो श्रृखंला यहीँ सकिँदैन ।

‘लाटो पहाड’ कथा संग्रह प्रकाशित भएपछि सुब्बा कथाकार भैगए । त्यस अधि नै ‘खोलाको गीत’ कविता संग्रहले सुब्बालाई कविको रूपमा स्थापित गरिसकेको थियो ।

निर्देशक, पटकथाकार, कलाकार, कथाकार, कवि हुनुभन्दा पहिले अर्थात् उहिले–उहिले सुब्बा गीतकार पनि थिए ।

सुब्बालाई गीतकारको रूपमा रेडियो नेपालले चिनायो । ०५६/५७ सालको कुरा । उपेन्द्र सुब्बा रेडियो नेपालले वर्षेनी आयोजना गर्ने गीत प्रतियोगितामा पुरस्कृत भए । त्यसपछि त हौसिएर सुब्बाले लेखेका दर्जन बढी गीत रेकर्ड पनि गराए ।

‘सुब्बालाई आफ्नो सिर्जनाको बहुआयामीक यात्रा फर्केर हेर्दा कस्तो लाग्दो हो ?’ सुब्बालाई नोस्टाल्जिक बनाउन सकिन्छ कि भनेर मैले सोधी हेरेँ ।

‘मेरो स्वभाव नै होला, नयाँ नयाँ काम गर्न रुचाउँछु ।’ 

‘नयाँ काम गर्दा जति मजा छ, खतरा पनि उत्तिकै होला नि ?’ सुब्बालाई रोक्दै मैले सोधेँ ।

‘खतरा मात्र होइन, डेन्जर जोनमा छु ।’ यति भनेर सुब्बा आफ्नो ब्राण्डेड हाँसोमा रमाए ।

उपेन्द्रको फिल्मी उडान कति गतिलो हुनेछ, त्यो त फिल्म हलमा पुगेपछि थाहा होला । डेन्जर जोनमा हो कि सेफ जोनमा त्यतिवेलै थाहा होला । 

तर, निर्देशकको रूपमा आफ्नो कामलाई ‘सनकमा बढी प्रयोग ग-यो’ या ‘अलि क्लिस्ट’ भनिदेलान् कि भन्ने डर छ उनलाई । भन्छन्, ‘हरेक यात्राको मजा नै खतरा हो फेरि ।’

उपेन्द्रको निर्देशकीय सफर सफल होला या नहोला यसै भन्न सकिन्न । सुब्बाले निर्देशकको रूपमा दिएको पहिलो परीक्षाको नतिजा आउनै बाँकी छ । नतिजा पर्खिबसेका सुब्बासँग सफल भए पनि नभए पनि योजना भने पक्का छ ।

‘मसँग धेरै फिल्म गर्ने योजना छैन । छ/सात स्क्रिप्ट छन् । डेब्यु फिल्म सफल भए मात्र बनाउँछु,’ योजना सुनाउँदै सुब्बा भन्छन्, ‘यदि सफल भएन भने दुई स्क्रिप्टलाई उपन्यास बनाउँछु ।’

सफलता र असफलताको गणितीय मापदण्डसँग सुब्बाको त्यति धेरै मोह छैन । त्यसैले त उनी भन्छन्, ‘मसँग त्यत्रो ठूलो सपनै छैन । यता हुँदै भएन भने कि दमक फर्कन्छु । कि गाउँ पाँचथर जान्छु, उतै बस्छु । लेख्छु ।’ 

‘कत्ति नै पो छ र हो मसँग समय ?’ उपेन्द्र प्रश्न गर्छन् । 

आफैं उत्तर दिन्छन्, ‘बीस वर्ष छ ? यति समय त यत्तिकै बिताइदिन्छु, ह्याप्पी–ह्याप्पी ।’

०००

‘निर्देशकका रूपमा सफल भईसकेका रामबाबु गुरुङलाई निर्माता बनाएर आफू निर्देशक बन्नुपर्ने बाध्यता थियो कि रहर ?’

सुब्बा, बाध्यता र रहर मिसिएको जवाफ दिन्छन  – ‘त्यो मेरो आफ्नै कथा हो । त्यो पनि आफ्नै गाउँको । जुन गाउँको कथा छ, जुन घरको कथा छ सिनेमा पनि त्यहीँ खिचेको छुँ ।’

बाध्यता र रहरको जवाफ प्रष्ट नदिएपनि सुब्बाले आफ्नै गाउँ–घरको कथा समेटिएको सिनेमा निर्देशन गर्न भने सहज महसुस गरे ।

तर, कुराको चुरो कहाँ हो भने–

अधिकांश नेपाली सिनेमा अहिले हलको दर्शन गरेर मात्र फर्किन्छन् । कवि, लेखक, पत्रकार तथा बौद्धिक जमात नेपाली सिनेमा हेरिसकेपछि निराश भएर फर्कन्छन् । सुब्बाकै भाषामा भन्दा, ‘चित्त दुखाएर फर्कन्छन् ।’ 
बेला बेला सुब्बाकै पनि चित्त दुखेको छ । आफ्नो दुःखेको चित्तामा मल्हम लगाउन पनि सुब्बाले सिनेमा बनाएका हुन कि ?

‘मैले आफूले हेर्न चाहेको फिल्म थोरै भएपनि मैले बनाएको फिल्ममा भेटिन्छ होला । त्यसेले त मैले फिल्म बनाए,’ सुब्बा सुनाउँछन् ।

सबैको गुनासो छ, ‘फिल्म राम्रो बनेन् ।’ त्यसो भए किन बनेन त ?

उपेन्द्र सुब्बा बोल्छन् - ‘सबैभन्दा ज्यादा हामी मिहेनतमा चुक्छौंँ । गफ मात्र बढी गर्छौं । मैले के के गर्न सक्थेँ, के के गरिनँ भन्ने थाहा हुँदाहुँदै फिल्म हलमा आइपुग्छ । हाम्रो उद्योगमा फिल्म बुझेको मेकरहरू टन्नै छन् । तर अन्तिममा ‘चल जायगामा’ सकिन्छ फिल्म । यो–यो कुरा छैन, यति पुगेको छैन भन्ने थाहा पाउँदा पाउँदै पनि अल्छि गर्छन् । साउण्डमा काम अधुरो नै हुन्छ, तर यतिले चल्छ भनेर बहाना खोजिन्छ । 

यस्तो बानीले नेपाली फिल्म उद्योगलाई घाटा भयो । बल्लतल्ल एउटा फिल्मले दर्शकको मनमा विश्वास बनाएको हुन्छ, अर्कोले भत्काइहाल्छ । राम्रो फिल्म आउँदा अँ ट्रयाकमा आयो भन्ने हुन्छ, तर फेरि सकिन्छ । अब कसलाई विश्वास गर्ने त ? दर्शक द्धोधारमा पर्छन् । दर्शकमा हामीप्रतिको विश्वास नै टुटिसक्यो ।’

सुब्बालाई लाग्दोरहेछ–हाम्रो नेपाली दर्शक÷पाठक लभ्ली, अर्थात् प्रेमिल छन् ।

‘तिमी केही नयाँ गर । नयाँ देखाऊ,’ पाठक तथा दर्शकले आफूलाई सधैं यसरी नै हौस्याए जस्तो लाग्छ सुब्बालाई । 

दर्शक र पाठकले सुब्बालाई प्रेम गरेको उदाहरणपनि छ ।

‘लाटो पहाड’कथा संग्रह बजारमा आउँदा सुब्बा मुस्ताङमा सिनेमा सुट गर्दै थिए । कथा संग्रहको पाण्डुलिपी उनले पहिलो ड्राफ्ट मात्र लेखेका थिए । तर, पनि किताबले पद्मश्री पुरस्कार जित्यो । २०–२५ हजार प्रति बिक्री पनि भयो । उपेन्द्र भन्छन्, ‘तेस्रो ड्राफ्ट लेखेको भए धेरै राम्रो हुन्थ्यो त्यो किताब । तर पनि पाठकले रुचाइदिनुभयो । किनभने त्यहाँ नयाँपन थियो ।’

‘पाठकलाई ‘लभ्ली’ भनेर फकाएको कि पाठाको चेतनालाई कमजोर आँकेको ?’ प्रश्न सुनेपछि सुब्बा अलिक गंभिर भए । कुर्सीमा आसन फेर्दै भन्न थाले, 

‘राम्रो चिज बुझे पनि राम्रो नबुझे पनि राम्रो । चिने पनि राम्रो, नचिने पनि राम्रो । फुलेको फूल जसरी हेरे पनि राम्रै हो । 

अब नराम्रो चिज राम्रो कलेवरमा आएको छ भने दुईचारजना झुक्किनु स्वभाविकै हो । तर, सबैजना त झुक्किदैनन् । राम्रो चिजको परख गर्नलाई त्यत्रो ठूलो चेतना चाहिन्छ जस्तो लाग्दैन् । 

०००

कथा, कविता, गीत मात्र होइन सुब्बाको बोलीमा पनि स्थानिककता झल्किन्छ । कतिपय समिक्षक त सुब्बाको पहिचान नै मौलिक स्थानियता हो भन्छन् । सुब्बाले निर्देशन गरेको सिनेमामा पनि अधिकांशले यस्तै अपेक्षा गरेका छन् । 

तर, सुब्बाको मनमा कता कता डर पनि छ । सुब्बा भन्छन, ‘मलाइ चिन्ने मान्छेले मबाट गरेको अपेक्षा त पुरा हुन्छ  । तर, मलाई नचिन्ने मान्छेले चाहिँ के भन्लान् भन्ने हो ।’

०००

कहिलेकाही एकान्तमा सुब्बालाई कविताको माया लागेर आउँछ । कथाको पनि । माया लागेर के पो गर्नु, कवितासँग सम्बन्ध टुटेको धेरै भयो । 

कविताको प्रेमले बारम्बार सुब्बा बिथोलिन्छन् । अनि कविता लेख्न बस्छन् । तर, चित्त बुझ्दो कविता आउँदैन् । अनि कविता लेखनमा समय दिन नसकेकोमा सुब्बालाई पछुतो लाग्छ ।  

जिन्दगी चित्त बुझाउने बहानाको खोजीमा पनि हुन्छ । ‘ब्रह्मले भन्छ– जे काम गर्दा मजा हुन्छ, त्यतै लाग्नू,’ सुब्बाको चित्त बुझाउने बाटो हो ।  तर, मनको अर्को कुनामा फिल्म नै गर्नुपर्छ भन्ने रहरले डेरा जमाएको छ । त्यसैले कविता, कथा लेख्दै गर्दा पनि सुब्बालाई फिल्मतिरै लाग्नुपर्छ भन्ने लागिरहँदोरहेछ । 

आफूलाई ‘मुसाफिर’को उपमा दिदैँ सुब्बा भन्छन,‘मेरो गन्तव्यको कुरै भएन । कुनै एउटा विषयमा दक्षता नहुँदा म जतातै भड्किहिँड्छु कि ?’