१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ माघ ६ आइतबार ०८:११:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

जनताको जनवाद र समाजवाद

नेपाली कम्युनिस्टले ल्याउन चाहेको समाजवाद गरिबी बाँड्ने नभई जनताको सुख र समृद्धिसँगै सिंगो मुलुकलाई नै समृद्ध बनाउने समाजवाद हो 

Read Time : > 6 मिनेट
२०७५ माघ ६ आइतबार ०८:११:००

नेपाल कम्युनिस्ट पार्टीको वैचारिक र सांगठनिक एकता प्रक्रिया अगाडि बढ्दै जाँदा आधारभूत सैद्धान्तिक धरातल र आगामी कार्यदिशाका विशिष्टताबारे पनि विचार–बहस हुँदै आएका छन् । माक्र्सवादी–लेनिनवादी मार्गदर्शनमा आधारित कम्युनिस्ट पार्टीमा सिद्धान्त, कार्यक्रम, संगठन, कार्यशैली, आचरण आदि गम्भीर सवालमा हुने घनीभूत बहसले अन्ततोगत्वा पार्टी र समग्र राष्ट्रलाई नै सही दिशामा अगाडि बढाउन मद्दत पुर्‍याउँछन् । यही उद्देश्यले यस आलेखमा जनवाद, समाजवाद, कार्यक्रम, कार्यनीति र रणनीतिजस्ता विषयको अन्तर्सम्बन्धित सवालबारे संक्षिप्त चर्चा गरिँदै छ ।

आधारभूत रूपमा सम्पन्न जनवादी क्रान्ति : नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै आधारभूत रूपमा जनवादी क्रान्ति सम्पन्न भएको छ । अमेरिका, फ्रान्स, रुस, चीनलगायत विभिन्न देशमा सम्पन्न क्रान्तिभन्दा नेपालको क्रान्ति मौलिक रूपले विशिष्ट छ । नेपालमा पछिल्लो समय सम्पन्न क्रान्ति फ्रान्स र अमेरिकामा जस्तो पुँजीपति वर्गको नेतृत्व र रुस र चीनमा जस्तो कम्युनिस्ट पार्टीको नेतृत्वमा नभएर श्रमजीवी र पुँजीपति दुवै वर्गका प्रतिनिधिमूलक राजनीतिक पार्टीको संयुक्त मोर्चाका आधारमा सम्पन्न भएको हो । तर, क्रान्तिको समग्र प्रक्रियामा श्रमजीवी वर्गका पार्टीको भूमिका प्रमुख र निर्णायक हुन पुग्यो । क्रान्तिपछि संविधान निर्माणको स्थितिसम्म आइपुग्दा पनि उपर्युक्त परिस्थिति कायमै रह्यो । क्रान्तिको समग्र प्रक्रियामा वामपन्थीको भूमिका निर्णायक हुनु र मुलुकलाई समाजवादको लक्ष्यमा पुर्‍याउने अठोट संविधानमै उल्लेख हुनुले पनि जनवादी क्रान्तिको मूल चरित्र संस्थागत रूपमा स्थापित भएको स्पष्ट छ ।

समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रको क्रान्तिकारी रूपान्तरण निरन्तर चलिरहने प्रक्रिया हो । तर, संसारका हरेक देशको क्रान्ति मूलतः राजनीतिक सत्ताको नेतृत्वमा आउने रूपान्तरणसँग सम्बन्धित छ । रूसमा क्रान्ति सम्पन्न हुँदा राज्यसत्ताको नेतृत्व सर्वहारावर्गको हातमा आएपछि मात्र राज्य संयन्त्रका विभिन्न अंगसँगै आर्थिक, सामाजिक, सांस्कृतिकलगायत रूपान्तरणका तमाम कार्यभार क्रमशः पूरा हुँदै गएका हुन् । चिनियाँ क्रान्तिको सन्दर्भमा पनि मूलतः त्यस्तै प्रक्रिया रह्यो । आज पनि त्यहाँ रूपान्तरण प्रक्रिया जारी नै छ । यी उदाहरणले स्थापित गरेका छन्, समग्र रूपान्तरणपछि मात्रै क्रान्ति सम्पन्न भएको मान्नुपर्ने हुँदैन । रूपान्तरण निरन्तर प्रक्रिया भएकाले मूलतः आर्थिक तथा सामाजिक धरातलको आधारभूत चरित्र र राजनीतिक व्यवस्थाको विकासक्रमका आधारमा क्रान्तिको सफलताको तह निर्धारण हुने गर्छ ।

नेपालमा पछिल्लो क्रान्तिले जनतालाई सार्वभौम बनाएको छ । त्यसैले, मुलुकलाई पुँजीवादी व्यवस्थामै सीमित राख्ने या समाजवाद तथा साम्यवादको दिशामा अघि बढाउने भन्ने निक्र्योल गर्ने शक्ति पनि जनमत नै हो । संविधान निर्माणपछि भएका तीन तहका निर्वाचनमा कम्युनिस्ट शक्तिले अत्यधिक बहुमत प्राप्त गरी स्थानीय, प्रादेशिक र संघीय सरकार सञ्चालन गर्ने अवस्था सिर्जना हुनु जनवादी व्यवस्थालाई सुदृढ बनाउँदै समाजवादको बलियो आधार निर्माण गर्ने अत्यन्त अनुकूल अवसर हो । जनताले विश्वास गरेको र इतिहासले सुम्पेको यो अनुकूल जिम्मेवारीलाई सही ढंगले आत्मसात् गरी अघि बढ्नु कम्युनिस्ट पार्टीको दायित्व हो । जनताको निकै ठूलो बलिदानपछि प्राप्त उपलब्धिबाट उत्पन्न दायित्वलाई प्रभावकारी ढंगले निर्वाह गर्नसके मात्र मुलुक समाजवादको दिशामा अघि बढ्न सक्छ । तर, जनताको अभिमत र आफूलाई सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सकिएन भने प्रतिक्रान्तिको भुमरी उत्पन्न नहोला भन्न सकिन्न ।

कम्युनिस्ट पार्टीको नेतृत्व स्थापित भएको वर्तमान परिस्थितिले उत्पन्न गरेको अपार सम्भावनालाई खल्बल्याउन कम्युनिस्टविरोधी प्रतिक्रियावादी शक्तिहरू सक्दो लागिपर्नेछन् । त्यो कुनै आश्चर्य होइन । तर, सत्ताको जिम्मेवारी प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी र यसको मूल नेतृत्वले पार्टी एवम् सरकार सञ्चालनमा कस्तो भूमिका निर्वाह गर्छ, त्यसले मुलुक अघि बढ्ने वा यथास्थितिमा रुमल्लिने वा पश्चगमनको खतरामा पर्ने अवस्था निर्धारण गर्छ । त्यसमा, पार्टीको आन्तरिक पक्ष मूल हो, जसले अन्य अवस्थालाई सुनिश्चित गर्छ ।

न्यूनतम र अधिकतम कार्यक्रम : कुनै पनि देशमा श्रमजीवी वर्गले राज्यसत्ताको नेतृत्व हातमा लिन नसक्दासम्म आफ्नो कार्यक्रम लागू गर्न सक्दैन । त्यसैले जनताको जनवादी कार्यक्रम लागू गर्न राज्यसत्ता प्राप्ति मुख्य विषय बन्नु स्वाभाविक हो । सत्ता प्राप्त नहुँदासम्म उसले सोहीअनुसार रणनीति र कार्यनीति तय गर्छ । तय गरिएका त्यस्ता नीतिबमोजिम अघि बढ्दा क्रान्ति सम्पन्न हुन्छ र सत्तामा पुगेर श्रमजीवी वर्गले कम्युनिस्ट पार्टीमार्फ आफ्ना कार्यक्रम लागू गर्छ । जनवादी क्रान्तिको चरणमा श्रमजीवी वर्गले जनवादी कार्यक्रमलाई आफ्नो न्यूनतम लक्ष्य बनाएको हुन्छ । सो लक्ष्यसँगै समाजवादलाई अधिकतम लक्ष्यका रूपमा अपनाएको हुन्छ । लेनिन र माओत्से तुङलगायत विश्वका महान् नेतादेखि नेपाल कम्युनिस्ट पार्टीका तमाम नेताले यस सन्दर्भमा आफ्ना विचार व्यक्त गरेका छन् । हरेक देशको परिस्थिति र सन्दर्भ विशिष्ट हुने भएकाले श्रमजीवी वर्गको पार्टीले राष्ट्रिय विशेषताका आधारमा न्यूनतम र अधिकतम कार्यक्रमको रूपरेखा र लक्ष्य तय गर्नुपर्छ । कुनै पनि देशमा अर्को देशको हुबहु नक्कल गर्न सकिँदैन । 

माक्र्स, एंगेल्सले समाजवादलाई साम्यवाद प्राप्तिका लागि संक्रमणकालीन अवस्थाका रूपमा व्याख्या गरेका छन् । कालान्तरमा साम्यवाद कसरी लागू होला भन्ने सम्बन्धमा अहिल्यै अनुमान गर्नु व्यावहारिक हुँदैन । किनकि, त्यो सुदूर भविष्यको समाज विकासको उच्चतम अवस्था हो । त्यसैले साम्यवादलाई यतिवेला कार्यक्रमको तहमा नभएर समाज विकासको अन्तिम लक्ष्यका रूपमा अपनाउन सकिन्छ । तर, समाजवादलाई भने अहिलेसम्मका समग्र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुभवका आधारमा कार्यक्रमकै रूपमा मान्न सकिने पर्याप्त आधार छन् । नेपाली क्रान्तिका सन्दर्भमा जनवादी क्रान्तिपूर्व जुन विषयलाई न्यूनतम कार्यक्रमका रूपमा मानिँदै आयो, अब ती विषय कार्यान्वयन तहमा छन् । वर्तमान समयमा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत तमाम क्षेत्रमा के–कस्ता कार्यभार सम्पन्न गर्ने भन्ने विषय दीर्घकालीन लक्ष्यभन्दा पनि तत्काल लागू गर्नुपर्ने प्राथमिकता हुन् । अहिले ती कार्यभार पूरा गर्दै अगाडि बढ्दा समाजवादमा पुगिन्छ । अर्थात्, समाजवादी लक्ष्यसम्म पुग्न जनवादी कार्यक्रम लागू गर्दै अघि बढ्नुपर्छ । अहिलेको आर्थिक, सामाजिक रूपान्तरणको कार्य (जनताको जनवाद) कार्यनीतिक विषय हो भने समाजवाद न्यूनतम लक्ष्य अर्थात् न्यूनतम कार्यक्रम हो । साम्यवाद अन्तिम लक्ष्य हो ।

जनवादी क्रान्ति सम्पन्न भएको अवस्थामा जनताको जनवाद कार्यान्वयन गर्ने मूल नारालाई अन्य विभिन्न सहायक कार्यनीतिक नारा तय गरी अघि बढाउन सकिन्छ भने वैज्ञानिक समाजवादको नारालाई न्यूनतम रणनीतिक लक्ष्यका रूपमा अवलम्बन गर्नु उपयुक्त हुन्छ 
 

कार्यनीति र रणनीति : विश्व कम्युनिस्ट आन्दोलनको विकास क्रममा र खासगरी उन्नाइसौँ शताब्दीमा कतिपय नेताले सही लक्ष्य अपनाए पनि सो प्राप्तिका लागि उपयुक्त रणनीति र कार्यनीति तय गर्न नसक्ने, अनि कतिपयले तत्काल गर्नुपर्ने कार्य र नीति सही अपनाए पनि लक्ष्यबारे अलमल हुने अवस्था थियो । त्यस्ता अलमल र भ्रमलाई तोड्न रणनीति र कार्यनीतिसम्बन्धी विज्ञानको उदय भएको थियो । कार्ल माक्र्सले सर्वप्रथम सन् १८४७ मा जर्मन–ब्रसेल्स पत्रिकामा विभिन्न लेख प्रकाशित गर्ने क्रममा युरोपका तानाशाही व्यवस्थाविरुद्ध क्रान्तिको सन्दर्भमा क्रान्तिको लक्ष्य, रणनीति र कार्यनीतिसम्बन्धी लेख प्रकाशित गरे । पछि आएर लेनिनले यस सम्बन्धमा विस्तृत व्याख्या र विश्लेषण अघि सारे । त्यसैगरी, माओत्से तुङलगायत विभिन्न कम्युनिस्ट विचारकले यस विषयमा आफ्ना धारणा व्यक्त गरे । कार्यक्रम, कार्यनीति र रणनीतिबीचको अन्तरसम्बन्धबारे स्पष्ट हुन नसक्दा नेपालको कम्युनिस्ट आन्दोलन केही दशक वैचारिक अन्योलमा रह्यो । वैचारिक स्पष्टता आएसँगै हाम्रो आन्दोलन एकपछि अर्को सफलताको दिशामा अघि बढेको हो ।

माक्र्स, लेनिन र माओत्सेतुङले कार्यक्रमलाई लक्ष्यका रूपमा, रणनीतिलाई लक्ष्यप्राप्तिको दीर्घकालीन योजनाका रूपमा र कार्यनीतिलाई रणनीतिमातहत कार्यान्वयनको तहमा रहेका तमाम अल्पकालीन नीतिका रूपमा विश्लेषण गरेका छन् । नेपाली राजनीतिमा जनताको जनवाद, नयाँ जनवाद या जनताको बहुदलीय जनवाद एक समय रणनीतिक लक्ष्य अपनाएको केन्द्रीय नारा थियो भने आज जनवादी क्रान्ति सम्पन्न भएसँगै त्यो कार्यनीतिक नारामा रूपान्तरित हुन पुग्यो । यस्तो अवस्थामा जनताको जनवाद कार्यान्वयन गर्ने मूल नारालाई अन्य विभिन्न सहायक कार्यनीतिक नारा तय गरी अघि बढाउन सकिन्छ भने वैज्ञानिक समाजवादको नारालाई न्यूनतम रणनीतिक लक्ष्यका रूपमा अवलम्बन गर्नु उपयुक्त हुन्छ । माक्र्सवादी–लेनिनवादी मान्यताअनुसार जनवादी क्रान्तिको अन्त्यलाई समाजवादी क्रान्तिको सुरुवातका रूपमा हेर्नुपर्ने हुन्छ । जति–जति जनवादी व्यवस्था विकसित र सफल हुँदै जान्छ, समाजवाद प्राप्तिको अवस्था त्यत्तिकै घनीभूत र निर्णायक बन्दै जान्छ । त्यसैले जनताको जनवादलाई आजको कार्यनीतिक कार्यदिशाका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

जनताको जनवादको कार्यान्वयन : तत्कालीन एमालेले जनताको जनवादलाई जनताको बहुदलीय जनवादको रूपमा आत्मसात् गरेको थियो भने नेकपा (माओवादी केन्द्र) ले त्यसलाई एक्काइसौँ शताब्दीको जनवाद नामकरण गरेको थियो । कतिपय विषयमा भिन्नता भए पनि उपर्युक्त दुवै कार्यक्रमबीच आधारभूत समानता छ । दुई पार्टी एक भएपछि ‘जनताको जनवाद’ भनेर प्रस्तुत गरिएको छ ।

वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सन्दर्भमा जनताको जनवादलाई कार्यान्वयन गर्दा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत अनेक क्षेत्रमा नेपालको मौलिक विशेषतालाई ध्यान दिनु जरुरी हुन्छ । यस सम्बन्धमा माथि भनिएझैँ जनताको जनवादी क्रान्तिको न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्ने र त्यसले समाजवादको आधार तयार पार्ने किसिमले अघि बढ्नुपर्छ । जनवादी क्रान्ति समाजवादी क्रान्तिको एउटा अभिन्न अंगको रूपमा लागू हुन सक्छ । यसरी यी दुवै चरण आपसमा सम्बद्ध छन् किनकि समाजवादको प्राप्ति जनताको जनवादको ध्येय हो । जनताको जनवाद वैज्ञानिक समाजवादसँग सम्बद्ध भएन भने त्यो विशुद्ध पुँजीवादी जनवादमा सीमित हुने खतरा रहन्छ । त्यो श्रमजीवी वर्गको जनवाद हुन सक्दैन । भविष्यमा कुन अवस्थामा पुगेपछि मुलुकलाई समाजवादी घोषणा गर्ने त्यो हामीले गर्ने प्रगतिमै निर्भर गर्छ । परिस्थितिको ठोस विश्लेषणका आधारमा त्यस्तो अवस्था विकसित भए–नभएको निर्धारण हुनेछ । जनवादी कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियाअन्तर्गत अनेक सवालमा समाजवादी कार्यक्रमसँग सम्बद्ध विषय कार्यान्वयन हुँदै जान्छन् र तिनले समाजवाद स्थापनाको अवस्था विकसित गर्छन् । नेपालमा राजनीतिक क्षेत्रमा बहुदलीय प्रतिस्पर्धा, संविधानको सर्वाेच्चता, कानुनको शासन, आवधिक निर्वाचन, शक्ति पृथकीकरण, मानवाधिकारको रक्षालगायत तमाम लोकतान्त्रिक मान्यतालाई जनताको जनवादसँगै अघि बढाउनुपर्ने आवश्यकता छ । 

कस्तो समाजवाद : दुनियाँमा अहिलेसम्म समाजवादबारे अनेक विचार विकास भएका छन् । अनेक थरी अभ्यास भएका छन् । नेपालमा प्रायः कम्युनिस्टले भन्ने गरेको समाजवाद, माक्र्सवादमा आधारित वैज्ञानिक समाजवाद हो । त्यो रुस, चीन या उत्तर कोरियाको जस्तो नभई नेपाली विशेषताको आधुनिक समाजवाद हुनेछ । 

समाज विकासको प्रक्रियाका हिसाबले हेर्दा, समाजवाद पुँजीवादकै गर्भबाट जन्मिने भए पनि त्यो पुँजीवादभन्दा गुणात्मक रूपले भिन्न र साम्यवादतर्पmको संक्रमणकालीन व्यवस्था हो । नेपाली विशेषताको समाजवादमा पनि उत्पादनका साधनमाथिको सामूहिक स्वामित्वसँगै ‘योग्यताअनुसारको काम र कामअनुसारको दाम’ भन्ने माक्र्सवादी सारसहित शताब्दीयौँदेखि विश्वका श्रमजीवी जनताले अथक र वीरतापूर्ण संघर्ष गरेर प्राप्त गरेका तमाम लोकतान्त्रिक मूल्य–मान्यता अपनाएको समाजवादी–लोकतन्त्र हुनेछ । नेपालको सन्दर्भमा लोकतन्त्रविनाको समाजवाद र समाजवादविनाको लोकतन्त्रले नेपाली जनताका समस्याको सही समाधान हुँदैन । समय र परिस्थिति बदलिएसँगै समाजवादको चरित्रमा पनि थप विकास हुँदै जान्छ । यसो नगर्ने हो भने त्यो माक्र्सवादमा आधारित वैज्ञानिक समाजवाद हुन सक्दैन । नेपालका कम्युनिस्टले ल्याउन चाहेको समाजवाद गरिबी बाँड्ने समाजवाद नभई सबै नेपाली जनताको सुख र समृद्धिसँगै सिंगो मुलुकलाई नै समृद्ध बनाउने समाजवाद हो । त्यो समाजवाद समाज विकासका क्रममा स्वस्फुर्त उत्पन्न हुँदैन । माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा कम्युनिस्ट पार्टीको बुद्धिमत्तापूर्ण र योजनाबद्ध प्रयत्न एवम् कुशल नेतृत्व र आमजनताको साथ–सहयोग, समर्थन, सहभागिता र संलग्नतामा मात्र त्यस किसिमको समाजवादको प्राप्ति सम्भव छ ।