१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ फाल्गुण १५ बिहीबार १०:४०:००
Read Time : > 2 मिनेट
सप्तरंग

साहित्यकारको फिल्मी उडान

फरक धार

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण १५ बिहीबार १०:४०:००

०५७ सालतिर उपेन्द्र सुब्बा रेडियो नेपालको गीत प्रतियोगितामा पुरस्कृत भए । त्यसपछि कविता लेखनतिर लागे, गीतलाई चटक्कै बिर्सिए । कवितामा स्थापित बनेपछि कथातिर लागे । किताब आयो, ‘लाटो पहाड’ । उनको पुस्तकले ०७१ सालको पद्मश्री पुरस्कार पनि पायो । अनि, पटकथा लेखनतिर लागे । फिल्म ‘कबड्डी’लगायतको पटकथा लेखे । फेरि फिल्म निर्देशनतिर लागेका छन् । उनी निर्देशित फिल्म ‘जारी’  जेठ ०७७ मा प्रदर्शनको तयारीमा छ । ‘नयाँ काम गर्न रुचाउने मेरो स्वभाव नै होला,’ उनी आफ्नो यात्रालाई फर्केर हेर्छन् ।

उनको बुझाइ छ, नयाँ काम गर्दा जति मजा छ, जोखिम पनि उत्तिकै । भन्छन्, ‘अहिले त जोखिम मात्र होइन, डेन्जर जोनमा छु ।’ उनको फिल्मी उडान कति सहज हुनेछ, त्यो त फिल्म हलमा पुगेपछि मात्र थाहा हुनेछ । तर, निर्देशकका रूपमा आफ्नो कामलाई ‘सनकमा बढी प्रयोग गर्‍यो’ या ‘अलि क्लिष्ट’ भनिदेलान् कि भन्ने डर छ, उनलाई । भन्छन्, ‘हरेक यात्राको मजा नै जोखिम हो ।’

उनीसँग हातमा धेरै फिल्म निर्देशनको योजना छैन । करिब सातवटा पटकथा तयार पारेका छन् । ‘डेब्यु फिल्म सफल भए मात्र अरूमा हात हाल्छु,’ उनी भन्छन् । पहिलो फिल्म सफल नभए दुईवटा पटकथालाई उपन्यास बनाउने योजनामा छन्, उनी । त्यसो त उनको परिचय नै साहित्यमा छ । ‘मसँग त्यत्रो ठूलो सपना नै छैन,’ उनी भन्छन्, ‘काठमाडौंमा केही भएन भने कि दमक फर्किन्छु, या त मेरो गाउँ पाँचथर नै जान्छु । उतै बस्छु र लेख्छु ।’ तथापि, अबको २० वर्ष खुसी–खुसी काठमाडौंमै बिताइदिने निश्चय पनि गरेका छन्, उनले ।

फिल्म ‘युपारुङ’को कथा आफैँले लेखेका हुन् । त्यो पनि आफ्नै गाउँको । कथा जुन गाउँ र जुन घरको छ, त्यहीँ फिल्म छायांकन गरेका छन् । उनले फिल्म निर्देशनमा सहज महसुस गर्नुको रहस्य पनि हो, यो । फिल्मका निर्माता छन्, निर्देशक रामबाबु गुरुङ ।

फिल्ममा एउटा युगकै कथा बताउन सकिने मोहले उनलाई निर्देशनको यात्रासम्म डोर्‍याएको हो । हलमा पुगेका दर्शक प्रायः निराश भएर फर्किने नियति नै बनेको छ, पछिल्लो समय । ‘म यस्तो फिल्म हेर्न चाहन्छु भनेर पनि आफैँले बनाएको हुँ,’ उनी भन्छन् । हलबाट निराश बनेर फर्किने बौद्धिक जमातलाई यसपटक चित्त बुझाएर फर्काउन सकिने विश्वास उनमा देखिन्छ ।

साहित्यकार उपेन्द्र सुब्बाको फिल्मी उडान कति सहज हुनेछ, त्यो त फिल्म हलमा पुगेपछि मात्र थाहा हुनेछ । निर्देशकका रूपमा आफ्नो कामलाई ‘सनकमा बढी प्रयोग गर्‍यो’ या ‘अलि क्लिष्ट’ भनिदेलान् कि भन्ने डर छ उनलाई ।

अक्सर नेपाली फिल्ममा ‘वान लाइन स्टोरी’ हुने गर्छन् । सुरुवाती चरणमा फिल्म एकदमै राम्रो हुन्छ । सुटमा गएपछि टिमले स–साना कुरामा सम्झौता गर्दै जान्छ । ‘सबैभन्दा ज्यादा हामी मिहिनेतमा चुक्छौँ । गफ मात्रै बढी गर्छौं,’ सुब्बा भन्छन्, ‘फिल्म सुटमा गएपछि बिस्तारै गफहरू गफमै समेटिन थाल्छन् । आफूले के–के गर्न सक्थेँ र के–के गरिनँ भन्ने थाहा हुँदाहुँदै फिल्म हलमा आइपुग्छ ।’ यस्तो बानीले एउटा फिल्मले बल्लतल्ल दर्शकमा जगाएको विश्वास अर्कोले भत्काइदिन्छ ।’ सोही कारण दर्शकको विश्वास जोगाउन नसकिएको उनको धारणा छ ।

उनको फिल्मले लिम्बू समुदायको कथा पस्किनेछ । पछिल्लो समय उक्त समुदायलाई राम्रोसँग छिचोल्न सक्ने फिल्ममेकर आवश्यक देखे, सुब्बाले । ‘तर, सिनियर मेकरहरूलाई मेरो कथा बेच्न सकिनँ,’ उनी स्विकार्छन्, ‘मैले निर्देशनमा आउने जोखिम मोल्नुको कारण पनि यही होला ।’

फिल्म आफैँमा एउटा ठूलो क्यानभास हो । ठूलो क्यानभासमा काम गर्दा धेरै ठाउँमा चुक्ने सम्भावना उत्तिकै छ । नेपाली फिल्ममेकरहरू जताततै चुकिरहनुको कारण उनीहरूमा काव्य चेत कमजोर रहेको बुझाइ पछिल्लो समय बाक्लो छ । ‘राम्रो फिल्ममेकर कवि पनि हुनुपर्छ, या त उसले काव्यको फैलावटलाई बुझ्न सक्नुपर्छ,’ सुब्बालाई लाग्छ, ‘फिल्म कलाको विस्तारित रूप हो । निर्देशकका रूपमा काम गर्न कविताले मलाई झनै सहज बनायो ।’