मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
महताब आलम
२०७६ फाल्गुण १५ बिहीबार ०८:५१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

साहिन बाग आन्दोलनको अर्थ

Read Time : > 3 मिनेट
महताब आलम
२०७६ फाल्गुण १५ बिहीबार ०८:५१:००

दिल्ली र नोएडाको सिमानामा रहेको साहिन बागमा मानिसहरू, खासगरी मुस्लिम महिला नागरिकता संशोधन विधेयक–२०१९ र राष्ट्रिय नागरिकता रजिस्टरका विरुद्ध झन्डै दुई महिनाभन्दा लामो समयदेखि आन्दोलनरत छन् । यसैबीच उनीहरूलाई कैयौँपटक त्यहाँबाट हटाउने प्रयास गरिसकिएको छ । प्रहरीले उनीहरूलाई धम्क्याएको छ र हट्न सूचना जारी गरिसकेको छ ।

आन्दोलनकारीलाई हटाउन स्थानीय ‘रेसिडेन्ट्स वेलफेयर एसोसिएसन’को सहारा लिइयो । प्रदर्शनकारीलाई त्यहाँबाट लखेट्नका लागि केही तथाकथित प्रभावितले अदालतको ढोकासमेत ढक्ढक्याइसकेका छन्, तर प्रदर्शनमा यसको कुनै खास प्रभाव परेन । आन्दोलन मन्द हुनुको सट्टा प्रतिदिन तीव्र बन्दै गइरहेको हामीले देखिरहेका छौँ । 

जो साहिन बागमा भइरहेको आन्दोलनबाट खुसी छैनन्, ती र तिनका समर्थक (जसमा केन्द्र सरकार उसका पार्टीका मानिस तथा मिडियाको एउटा ठूलो हिस्सा पर्छ) आन्दोलनलाई बदनाम गराउन भगिरथ प्रयत्न गरिरहेको छ । आफ्नो कुरालाई सही प्रमाणित गर्न उनीहरू भन्दै छन्– यो प्रदर्शनका कारण आमनागरिकले दुःख बेहोरिरहेका छन् । र, आन्दोलनकारी भाडामा ल्याइएका मानिस हुन् ।

समग्रमा आन्दोलनकारीविरुद्ध विभिन्नखाले अफवाह फैलाइँदै छ । यसमा सबैभन्दा अहं भूमिका भारतीय जनता पार्टीका आइटिसेलका राष्ट्रिय प्रभारी अमीत मालवीयको छ । विचारणीय त के छ भने मालवीयको दाबीलाई मूलधारका सञ्चारमाध्यमले तथ्यजाँच नगरीकनै प्रकाशित गरिरहेका छन् । मालवीय लगातार सामाजिक सञ्जाल, खासगरी ट्विटरका माध्यमबाट साहिन बागका विषयमा अनेकन मनगडन्ते सिर्जना गरिरहेका छन् र सञ्चारमाध्यमले त्यसलाई ठाउँ दिइरहेका छन् । 

केही समयअघि मालवीयले एउटा भिडियो ट्विट गरे, जसमा एउटा युवा कसैलाई साहिन बागको कथित रहस्य बताउँदै थियो । त्यस भिडियोमा साहिन बागमा धर्नामा बसेका महिलाले दैनिक पाँचदेखि सात सय पारिश्रमिक लिइरहेको दाबी गरिएको छ । ‘यिनीहरूको सिफ्ट हुन्छ र यसमा कांग्रेस पार्टीको संलग्नता छ,’ भिडियोमा कसैले भन्दै छ । रमाइलो कुरा त के छ भने त्यो भिडियो कहाँ र कहिले लिइएको हो ? दाबी गर्ने को हुन् ? जस्ता सूचना लुकाइएको छ । यति हुँदाहुँदै पनि सञ्चारमाध्यमले, खासगरी हिन्दीभाषी सञ्चारमाध्यमले त्यसैलाई साहिन बागको ‘अन्तिम सत्य’झैँ गरी प्रस्तुत गरे । इन्डियन एक्सप्रेस समूहको हिन्दी वेबसाइट ‘जनसत्ता’ले पनि त्यसलाई जस्ताको तस्तै प्रकाशित गरिदियो ।

समाचारमा यो भिडियो अमीत मालवीयबाट लिइएको हो र यसको सत्यता के हो भन्नेबारे केही उल्लेख गरिएन । समाचारका विषयमा प्रश्न उठेपछि उसले त्यसलाई आफ्नो वेबसाइटबाट हटाइदियो । यस्ता प्रदर्शन साहिन बागमा मात्रै भइरहेका छैनन् । अन्य स्थानमा साहिन बागमा भन्दा ठुल्ठूला आन्दोलन भइरहेका छन् । पश्चिम बंगाल र असममा लगातार सिएए र एनआरसीविरोधी आन्दोलन भइरहेका छन् ।

उत्तरपूर्वका छुट्टाछुट्टै राज्य, सहर एवं गाउँमा समेत निरन्तर आन्दोलन र प्रदर्शन भइरहेका छन् । तर, सबैको निशानामा साहिन बाग छ । साहिन बागको आन्दोलनलाई निशाना बनाउनुका पछाडि केही कारण छन् । ढिला नै भए पनि आन्दोलनले जसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियालाई आकर्षित गरिरहेको छ, त्यसलाई देखेर यो अन्दोलनको प्रतिरोध कसरी गर्ने भन्नेबारे सरकार र उसका समर्थकले भेउ पाउन सकिरहेका छैनन् । त्यसैको प्रतिरोधका लागि हिजोआज उनीहरूले हिंसाको बाटो अँगालिसकेका छन् । केही समयका लागि सञ्चारमाध्यमले ‘साहिन बाग आन्दोलन समाप्त भएको’जस्ता ब्रेकिङ न्युज प्रसारण गरे पनि त्यसले प्रदर्शनस्थलमा कुनै प्रभाव पार्न सकेन । धर्नामा बसेका महिलाले स्पष्ट शब्दमा भनिरहेका छन्– जबसम्म सिएए र एनआरसीलाई फिर्ता लिइँदैन तबसम्म आन्दलन जारी रहन्छ ।

मोदी सरकार र बिजेपी समर्थक चिन्तित हुनुको दोस्रो कारण के पनि हो भने यो आन्दोलनबाट मुस्लिम महिला उनीहरूको हातबाट फुत्किएको सन्देश जान्छ । तीन तलाकको विरुद्धमा कानुन पास गरेपछि उनीहरूलाई के लाग्न थालेको थियो भने मुस्लिम महिला उनीहरूको साथमा आइसकेका छन् । आन्दोलनले त्यो दाबीलाई खारेज गरिदिएको छ । बिजेपीले निकै जोड दिएर घोषणा गरेको थियो कि ‘मुस्लिम महिला मोदीका साथमा छन्’ । साहिन बाग आन्दोलनले यो दाबीमाथि नराम्रो प्रहार गर्‍यो । सबैभन्दा महत्वपूर्ण पक्ष आन्दोलनमार्फत उजागर भएको यो हो कि मुस्लिम महिलाले आफ्नो राम्रो र नराम्रो आफैँ सोच्न सक्छन् ।

उनीहरू तीन तलाकका विरुद्धमा आन्दोलनरत हुन सक्छन् भने उनीहरूलाई सिएए, एनआरसी र एनपिआरका विरुद्धमा उभिन कसैले पनि रोक्न सक्दैन । आजका दिन साहिन बागका महिलाले बारम्बार सोधिरहेका छन्–  कुनैवेला मुस्लिमका लागि सधैँ चिन्तित रहने मोदी आज उनीहरूको आवाज सुन्न किन चाहँदैनन् । त्यसैले उनीहरूले आफ्नो आवाज सुनाउन प्रधानमन्त्री मोदीलाई पोस्टकार्ड लेखेरसमेत पठाए । 

साहिन बागका महिलाले बारम्बार सोधिरहेका छन्– कुनैवेला मुस्लिमका लागि सधैँ चिन्तित रहने मोदी आज उनीहरूको आवाज सुन्न किन चाहँदैनन् ? त्यसैले उनीहरूले आफ्नो आवाज सुनाउन प्रधानमन्त्री मोदीलाई पोस्टकार्ड लेखेर पठाए ।

अनेकौँ प्रयासका बाबजुद साहिन बागलाई कुनै पनि रंगले रंग्याउन सकिएको छैन । आन्दोलन भलै मुस्लिम महिलाद्वारा चलाइएको होस्, यसमा प्रत्येक भाषा, क्षेत्र, समुदाय र धर्मका मानिसले उल्लेख्य रूपमा भाग लिइरहेका छन् । आन्दोलनमा सहभागीले बन्दे मातरम्को नारा लगाइरहेका छन् । भिन्न–भिन्न विचारधारा मान्नेहरू आ–आफ्नो विचार राखिरहेका छन् । निश्चित केन्द्रीय नेतृत्व नभएका कारण यसको नेतृत्व सामूहिक रूपमा गरिएको छ । यसै कारण मानिसहरू टाढा–टाडाबाट यसमा ऐक्यबद्धता जनाउन आइरहेका छन् । यसको पछिल्लो उदाहरण पनजाबबाट आएका सयौँ किसान हुन्, जो पन्जाबको विभिन्न क्षेत्रबाट आन्दोलनमा ऐक्यबद्धता जनाउन साहिन बाग आइपुगेका थिए । 

आन्दोलनका कारण नै दिल्लीबाट काटिएको यो क्षेत्रले अहिले सबैसँग संवाद गरिरहेको छ । यसले मुस्लिम समुदायबारे रहेको भ्रान्ती पनि तोड्ने काम गरेको छ । यी सबै विषयले मौजुदा सरकार र उसका समर्थकलाई चिन्तित बनाइरहेको छ । किनभने यो उनीहरूको विचारधारासँग मिल्दैन । यसैले साहिन बागको आन्दोलनलाई लगातार बदनाम गर्ने प्रयास भइरहेको छ । यसले हिंसालाई नभई संवादमा जोडिन मानिसलाई प्रेरित गरिरहेको छ । त्यसैले त ७० हजार मानिस साहिन बागमा भेला हुँदा पनि कुनै हिंसात्मक घटना भएन । जब कि यही सरकारका लागि घातक रहेको उनको बुझाइ छ । त्यसैले त हिंसात्मक गतिविधिलाई सरकारका तर्फबाट बढावा दिइएको देखिँदै छ । 

जहाँसम्म आन्दोलनले आमनागरिकलाई असुविधा भएको भन्ने कुरा छ, त्यसका लागि साहिन बाग र अन्य मुस्लिम क्षेत्रका मानिसलाई सडकमा आएर प्रदर्शन गर्न बाध्य किन पारियो भनेर बुझ्नुपर्ने हुन्छ । के प्रदर्शनकारीलाई कुनै खुला स्थानमा प्रदर्शन गर्न दिएर त्यहाँ हस्तक्षेप गरिँदैन भन्ने ग्यारेन्टी छ ? किनभने केही दिनअघि मात्रै मुस्लिम महिलाले पूर्वी दिल्लीको जाफराबाद क्षेत्रको इदगाहमा धर्ना दिने प्रयास गरेका थिए, तर उनीहरूलाई त्यहाँ बस्न दिइएन । त्यसैले उनीहरू एकै स्वरमा भन्दै छन्– आज हामीले आन्दोलन गरेनौँ भने भोली भावी पुस्ताले आन्दोलन गर्नुपर्ने हुन्छ, जुन धेरै दुःखदायी हो । त्यसैले साहिन बागका महिलाको आन्दोलन उनीहरूको जीवनमरणको सवालको आन्दोलन हो, न कि कुनै खेलाँचीको । 
(महताब आलम ‘द वायर’ उर्दु सेवाका पूर्वसम्पादक हुन्)