मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडौं
२०७६ फाल्गुण १५ बिहीबार ०६:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मुना कार्की हत्या र विजय चौधरी आत्महत्या प्रकरण : अनुसन्धान ९० प्रतिशत सकियो, तर कारण अझै खुल्न सकेन

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७६ फाल्गुण १५ बिहीबार ०६:२९:००

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीय मुना कार्कीको हत्या तथा घरेलु कामदार २२ वर्षीय विजय चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान ९० प्रतिशत सकिएको प्रहरीले जनाएको छ । तर, हत्या र आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन । महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीको हत्या र चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान सुरु गरेको १७ दिन बितिसकेको छ ।

गत २७ माघमा सानेपास्थित निजी निवासमा कार्कीको हत्या भएको थियो भने चौधरीले आत्महत्या गरेका थिए । घटना सम्बन्धमा प्रहरीले पाँचजनासँग बयान लिइसकेको छ ।घटनास्थलमा भेटिएको कार्की र चौधरीको मोवाइल फरेन्सिक परीक्षणका लागि प्रहरीले तत्कालै प्रयोगशालामा पठाएको थियो । तर, त्यसको प्रतिवेदन भने अझै प्राप्त भएको छैन ।

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले हत्याको अनुसन्धान ९० प्रतिशत सकिएको, तर कारण भने अझै पत्ता लगाउन सक्ने अवस्था नभएको बताए । उनले भने, ‘कार्की हत्या र चौधरी आत्महत्या सम्बन्धमा प्रहरीले सुरुको दिनबाटै अनुसन्धान थालेको हो । यसक्रममा पाँचजनासँग बयान लिइएको छ । सिसिक्यामेरा फुटेज अध्ययन भएको छ । हत्यामा चौधरी नै संलग्न भएकोमा द्विविधा रहेन । तर, कुन मनसायबाट प्रेरित भएर उनले हत्या गरे र किन आत्महत्या गरे भन्ने विषय अझै खुल्न सकेको छैन ।’

प्रहरीका अनुसार कार्कीको घरका पार्टटाइम महिला कामदार, ड्राइभर, प्लम्बरसहित अन्य दुईजनासँग बयान लिएको छ । बयानका क्रममा ड्राइभर र प्लम्बरले हत्यामा संलग्न चौधरीको आनीबानीबारे धेरै जानकारी नभएको बताएका छन् भने महिला कामदारले भने चौधरी रिसाहा स्वभावको रहेको बयान दिएकी छिन् । 

एसएसपी राईले भने, ‘अनुसन्धानका क्रममा पाँचजनासँग बयान लिइएको छ । उनीहरूसँग मृतक कार्की र चौधरीको आनीबानी तथा स्वभावबारे सोधपुछ भएको छ । तर, हत्याको कारण खुल्ने गरी उनीहरूबाट पनि केही ‘क्ल्यू’ आउन सकेको छैन । यद्यपि कोसिस जारी छ ।’

 अर्जुन कार्की र विजयका  बुबासँग पनि बयान लिइने 
प्रहरीले मृतक मुनाका श्रीमान् अर्जुन कार्की र आत्महत्या गरेका घरेलु कामदार विजयका बुबा जानकी चौधरीसँग पनि बयान लिने भएको छ । दुवै परिवारले शव बुझेको र काजकिरियासमेत सकेका कारण केही दिनभित्रै उनीहरूसँग बयान लिइने परिसर प्रमुख एसएसपी राईले जानकारी दिए । उनले भने, ‘उहाँहरूले शव बुझिसक्नुभयो । दाहसंस्कारपछि काजकिरिया पनि सक्नुभयो । शोकाकुल परिवारसँग तत्काल बयान लिने कुरा भएन । अब उहाँहरूले पनि केही सहज महसुस गर्नुभएको छ । उहाँहरूसँग पनि बयान लिन्छौँ । यस क्रममा केही तथ्य खुल्ने आशा गरेका छौँ ।’

 प्रहरी निष्कर्ष
१६ दिनसम्मको अनुसन्धानपछि ४९ वर्षीय कार्कीको मृत्यु मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोधका कारण भएको निष्कर्षमा प्रहरी पुगेको छ । पोस्टमार्टम रिपोर्टमा पनि यही देखिएको थियो । ललितपुर परिसरका अनुसार गत २७ माघको बिहान १०ः१० बजे विजयले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए । डोरीले कसेका कारण मुनाको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारणबाट उनको मृत्यु भयो । 

एसएसपी राईले भने, ‘मुनाको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध भएर उनको मृत्यु भएको देखियो । यस कार्यमा विजय चौधरी संलग्न रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पनि पुष्टि भएको छ ।’ घटनामा संलग्न विजयको भने झुन्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।