१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार ०७:१४:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

वामदेव कमरेडले प्रतिनिधिसभामा जितेर प्रधानमन्त्री बन्नुपर्छ : सुवास नेम्वाङ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार ०७:१४:००

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्–वामदेव कमरेडले अहिलेजस्तै तीन वर्ष पार्टीमा क्रियाशील हुनुपर्छ, प्रतिनिधिसभा जितेर प्रधानमन्त्री बन्नुपर्छ

संविधान संशोधनको गृहकार्य गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठन गरेको कार्यदलमा बस्न किन अस्वीकार गर्नुभयो ?

पहिलो कुरा, कार्यदल अस्तित्वमा आयो भन्ने मलाई लागेको छैन । पार्टीले मलाई त्यसको सदस्य बनाएको थाहा छैन । महासचिवले त्यस्तो कुनै कार्यदल बनाएका छैन भन्नुभएको छ । दोस्रो कुरा, जुन ढंगले कार्यदल बन्यो भनेर चर्चामा आयो, त्यस्तो कार्यदल हाम्रो जिम्मेवार पार्टीले बनायो होला भन्ने विश्वास नै भएन । त्यस्तो खालको कार्यदलमा बसेर काम गर्नुको अर्थ पनि रहेन । संविधान संशोधन कस्तो अवस्थामा हुन्छ ? संशोधन कसरी हुन्छ ? हाम्रै पार्टीको अडान के रहेको छ भन्ने सबै विषय विस्तृत रूपमा बताउँदै मैले माधव कमरेडलाई यस्तो प्रस्ताव ठीक भएन भनेँ । कार्यदल बनाएको हो भन्ने त मलाई लाग्दैन, तर बनाएको भए पनि यो कुरा कुनै पनि हालतमा ठीक हुँदैन, यसतर्फ हामी जानुहुँदैन भनेँ । मेरो विचारमा संविधान संशोधन देश र जनताको हितमा हुनुपर्छ । यो आवश्यकता र औचित्यका आधारमा निष्कर्षमा पुग्ने कुरा हो । संविधान संशोधन एकदमै औपचारिक र पारदर्शी प्रक्रिया हो । तर, त्यो प्रक्रियामा जे–जति कुराहरू आएका छन् त्यसमा सहमत हुन सकिँदैन । तपाईं पनि सहमत हुनुहुँदैन भनेर उहाँसँग आफ्ना तर्क राखेको हुँ ।

उहाँले कार्यदल संयोजकका हैसियतमा बैठक बस्न तपाईंहरूलाई बोलाउनुभएको होइन र ?

उहाँले बिहान फोन गर्नुभएको थियो । मैले कार्यदलबारे दशथरी कुरा आएका छन्, तपाईंलाई कार्यदल संयोजक र हामीलाई सदस्य भनिएको छ, त्यसैका लागि बोलाउनुभएको हो भने त्यसो नगरौँ भनेर प्रस्ट भनेँ । तपाईंले बोलाउँदा म जहाँ पनि आइहाल्छु, तर यो विषयमा मेरो छुट्टै मत छ, म कमरेडलाई भनुँला भनेँ । त्यसपछि अनौपचारिक कुरा गरौँ भनेरै बोलाउनुभयो । अनि मात्र हामी उहाँलाई भेट्न पुगेका हौँ ।

त्यसमा माधव नेपालको प्रतिक्रिया के आयो ?

हाँस्नुभयो । मेरो भनाइमा उहाँ एकदमै सकारात्मक हुनुहुन्छ । तपाईंले उठाउनुभएको कुरा गम्भीर र जायज छ भन्नुभयो । यो सन्देश पार्टीसमक्ष पुर्‍याइदिन्छु भन्नुभयो ।

अहिले बजारमा आएको चर्चा गलत बाटो हो । र, अर्काे सुल्टो र सही बाटो पनि छ । त्यसका लागि अहिलेजस्तै पार्टीमा तीन वर्ष क्रियाशील रहने । निर्वाचनमा उत्रेर प्रतिनिधिसभामा प्रवेश गर्ने र प्रधानमन्त्री बन्ने ।

नेकपाका सबैजसो शीर्ष नेता संसद्मा छन् । तर, वामदेव गौतमले निर्वाचन हार्नुभयो र उहाँ संसद्बाहिर हुनुहुन्छ । उहाँलाई मनोनीत गरेर राष्ट्रिय सभामा लग्ने पार्टीको निर्णय परिपक्व हो कि होइन ?

उहाँले पार्टीका लागि धेरै योगदान गर्नुभएको छ । निरन्तर पार्टीको काममा क्रियाशील हुनुहुन्छ । वरिष्ठ नेता हुनुहुन्छ । त्यसैले अहिलेको राजनीतिको सन्दर्भमा उहाँजस्तो नेता संसद्भन्दा बाहिर रहने कुरा बेठीक हो । त्यसमा विवाद हुँदैन । तर, विषय के हो भने संसद्लगायत कुनै पनि ठाउँमा हाम्रा नेताले जाने कुरा प्रक्रियासम्मत हुनुपर्छ । संविधानसम्मत हुनुपर्छ । त्यो हामीले नै स्थापित गरेको मूल्य–मान्यताअनुरूप हुनुपर्छ । अहिले संशोधनका नाममा जे–जस्ता कुरा आएका छन्, त्यो उहाँको र पार्टीको गरिमाअनुसार भएन ।

अहिले त जनमत पनि पार्टीको यो गृहकार्यविरुद्ध देखिन्छ । उहाँलाई तपाईंको सुझाब के छ ?

उहाँलाई म सम्मान गर्छु । आदर गर्छु । मेरा लागि प्रिय हुनुहुन्छ । उहाँप्रति शुभकामना रहन्छ । यो तहमा पुगेर पनि उहाँ पार्टीको अध्यक्ष भइनसकेको, प्रधानमन्त्री भइनसकेको नेता हुनुहुन्छ । उहाँले प्रधानमन्त्री पद पाउनुहुन्छ, तर प्रधानमन्त्री बन्ने दुई बाटा छन् । एक– गलत बाटो । अहिले बजारमा आएको चर्चा गलत बाटो हो । र, अर्काे सुल्टो र सही बाटो । त्यो भनेको जनताबाट अनुमोदित भएर संसद्मा प्रवेश गर्ने । त्यसका लागि अहिले उहाँ जसरी पार्टीमा क्रियाशील हुनुहुन्छ, त्यसैगरी तीन वर्ष क्रियाशील रहने । अनि, पार्टीका तर्फबाट निर्वाचनमा उत्रेर तीन वर्षपछि प्रतिनिधिसभामा प्रवेश गर्ने र हाम्रोतर्फबाट प्रधानमन्त्री बन्ने ।

उहाँलाई संसद्मा लैजाने योजना देशको आवश्यकता भन्दा पनि पार्टीभित्रको आन्तरिक दाउपेचको परिणाम हो भनिन्छ, तपाईंलाई कस्तो लाग्छ ?

वामदेव कमरेडलाई म के आग्रह गर्छु भने उहाँलाई ठाउँमा पुर्‍याउन हामीहरू छौँ । अर्काे तप्काचाहिँ त्यही ठाउँमा पुर्‍याउँछौँ भन्छन्, तर गलत बाटो देखाउँछन् । यो प्रधानमन्त्री बन्ने ठीक बाटो होइन । यो कुरा वामदेव कमरेडले बुझ्न्हुन्छ होला ।

बुधबार सचिवालय बैठक बस्दै छ । नेताहरूलाई के सुझाब दिनुहुन्छ ?

यदि संविधान संशोधनतर्फ अगाडि बढ्न खोजेको हो भने पार्टीले अहिलेसम्म भनेजस्तै आवश्यकता र औचित्यका आधारमा अघि बढ्नुपर्छ । र, त्यससँग सम्बन्धित सबै पक्षसँग छलफल गर्दै सही निष्कर्षमा पुग्नका लागि आधार तयार गर्नुपर्छ । त्यो प्रक्रिया पारदर्शी हुनुपर्छ ।