मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७६ फाल्गुण १३ मंगलबार ०८:२४:००
Read Time : > 1 मिनेट
अर्थ

७ महिनामा व्यापार घाटा ७.५ खर्ब रुपैयाँ

समग्र आयात–निर्यात २ प्रतिशतले घट्यो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७६ फाल्गुण १३ मंगलबार ०८:२४:००

चालू आर्थिक वर्षको पहिलो सात महिनासम्म व्यापार घाटा साढे ७ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार बितेको सात महिनामा सवा ८ अर्ब रुपैयाँ आयात हुँदा निर्यात भने ६५ अर्ब रुपैयाँ मात्र हुन सक्यो । भारतले पाम आयल निकासीमा लगाएको अवरोधका बाबजुद पनि निर्यात भने बढेको थियो । सात महिनामा निर्यातले २० प्रतिशतभन्दा बढीको दरले वृद्धि हासिल गर्‍यो । भन्सार विभागका अनुसार माघ मसान्तसम्ममा नेपालले ६४ अर्ब ९७ करोड रुपैयाँको निर्यात गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनमा २२.४१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ६२ करोड रुपैयाँको निर्यात थियो । 

निर्यात वृद्धिदर सकारात्मक देखिए पनि यसको दिगोपनामा भने अझै शंका गर्नुपर्ने ठाउँ रहेको उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति प्रकाशसिंह कार्की बताउँछन् । ‘कम भ्यालु एड भएको तथा जुनसुकै वेला निर्यात रोकिन सक्ने पाम आयलजस्ता वस्तुको निर्यात बढेको छ, कतिपय वस्तु अन्य मुलुकबाट ल्याएर निर्यात गरेको पनि पाइन्छ,’ उनले भने, ‘यस प्रकारको निर्यात वृद्धिले मुलुकको अर्थतन्त्रलाई हित गर्दैन ।’ सरकारले निर्यात वृद्धिका लागि लगानीमैत्री वातावरणको निर्माण गर्दै निर्यातमा थप प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ । 

अहिलेको वृद्धिदरको अनुपात हेर्दा चालू आवमा निर्यात १ खर्ब रुपैयाँ नाघ्ने देखिन्छ । खासगरी सरकारले निर्यातमा दिँदै आएको नगद प्रोत्साहन बढाएको तथा उत्पादन वृद्धि गर्ने नीति लिएका कारण निर्यात बढ्दै गएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, व्यापार असन्तुलन रोक्न वृद्धिदरलाई अझ बढाउनुपर्ने उनीहरूले बताएका छन् ।  

घाटा पनि घट्दो अवस्थामै 

चालू आर्थिक वर्षको सात महिनासम्म नेपालको वैदेशिक व्यापार घाटा पनि घट्दो अवस्थामै देखिएको छ । आर्थिक वर्षको सुरुदेखि नै ओरालो लागेको व्यापार घाटाले माघ मसान्तसम्म नै निरन्तरता पाएको हो । भन्सार विभागका अनुसार माघ मसान्तसम्ममा नेपालले ७ खर्ब ३८ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५/७६ को सोही अवधिको तुलनामा ५.३३ प्रतिशतले कमी हो । निर्यातमा आएको सुधार तथा आयात र समग्र व्यापार घटेपछि मुलुकको व्यापार घाटासमेत घटेको हो ।

आयातसँगै व्यापार घट्यो

आयात घटेसँगै नेपालको समग्र वैदेशिक व्यापार पनि घटेको छ । माघसम्म नेपालले कुल ८ खर्ब ६८ अर्ब रुपैयाँको कुल व्यापार गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २ दशमलव ०१ प्रतिशतले कमी हो । आयात ३ दशमलव ५६ प्रतिशतले घटेर ८ खर्ब ३ अर्ब रुपैयाँमा ओर्लिएको छ । आयात घटेसँगै कुल व्यापरामा निर्यातको हिस्सा बढेको देखिएको छ । कुल व्यापारमा निर्यातको हिस्सा ७ दशमलव ४८ प्रतिशत मात्र छ । यो गत आवको सोही अवधिको तुलनामा २४ दशमलव ८८ प्रतिशतले बढी हो । कुल व्यापारमा आयातको हिस्सा भने १ दशमलव ५९ प्रतिशतले घटेर ९२ दशमलव ५२ प्रतिशतमा ओर्लिएको छ ।