मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण १३ मंगलबार ०८:०८:००
Read Time : > 2 मिनेट
नयाँCity

जमिनमुनि पानी पठाउन ‘रिचार्ज काठमाडौं’

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण १३ मंगलबार ०८:०८:००

काठमाडौं उपत्यका कंक्रिटको जंगल बनिसक्यो । जथाभावी कंक्रिट संरचना तयार पारिँदा आकाशबाट वर्षिएको पानी जमिनले सोस्न पाएको छैन । त्यस्तो पानी ढल हुँदै उपत्यकाबाट बाहिरिन्छ । सोही कारण पानीको सतह धेरै मुनि पुगिसकेको विज्ञहरू बताउँछन् ।

वर्षात्को पानी घरका छतबाट सीधै ढलमा पुग्छ । सडकमा आकासे पानी जम्मा हुन्छ र ढलमै मिसिन्छ । अनि ढल बगेर खोलामा मिसिन्छ । मुहान र इनारमा पनि पानी पाइन छाडिसकेको छ । उपत्यकावासीले जमिन मुनिबाट पानी तानेर प्यास मेटाउँदै आएका छन् । जमिनको तिर्खा भने बढेको बढ्यै छ ।

यही समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले नयाँ अभियान थालेको छ– रिचार्ज काठमाडौं । जमिनमुनि पानी अभाव हुन नदिने अभियान हो, यो । ‘हामीले वर्षौंदेखि जमिनको पानी तानेर तिर्खा मेटाएका छौँ । तर, जमिनमा कहाँबाट पानी आउँछ भन्ने कहिल्यै सोचेनौँ,’ महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्छन्, ‘रित्तिँदै गएको जमिनमा पानी भर्न यो अभियान थालिएको हो ।’ उनका अनुसार अभियानअन्तर्गत आकासे पानी संकलन गरी जमिनमुनि पठाउन कृत्रिम विधि अपनाइनेछ । ‘जमिनमुनिको पानी निकाल्न त्यहाँ पनि रिचार्ज आवश्यक छ,’ उनी भन्छन्, ‘अहिले नै कदम चालिएन भने ५० वर्षपछिको काठमाडौंको अवस्था गम्भीर हुने निश्चित छ ।’

 सकिँदै जमिनमुनिको पानी
उपत्यकामा बाह्रैमास पानीको अभाव रहन्छ । जबकि, वर्षायाममा थोरै वर्षा हुँदा पनि उपत्यकाका अधिकांश भूभाग डुबानमा पर्छन् । वर्षायामको डुबानको मुख्य कारण पनि पानी पुनर्भरणको प्रक्रिया खल्बलिनु रहेको विज्ञहरू बताउँछन् । उपत्यकाको करिब ८० प्रतिशत भूभाग कंक्रिटले ढाकेको छ । त्यसमा कि त सडक छ, कि ठूला भवनलगायत संरचना । जमिनको माटोले वर्षाको पानीको स्पर्श गर्नै नपाउँदा सतहमुनि पानीको मात्रा दिनानुदिन तल झरिरहेको विज्ञहरू बताउँछन् ।

उपत्यकामा काठमाडौं र ललितपुर महानगरसहित १८ वटा नगरपालिका छन् । तीनवटै जिल्लामा गरी दैनिक ४३ करोड लिटर पानीको माग छ । त्यसमध्ये काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले १० करोड ३० लाख लिटर मात्रै वितरण गर्दै आएको छ । बाँकी ३२ करोड ७० लाख लिटर उपभोक्ताले जमिनबाटै तानेर पूर्ति गर्छन् । त्यसो त केयुकेएलले पनि जमिनमुनिकै पानी तानेर वितरण गर्ने हो । केयुकेएलले दैनिक वितरण गर्नेमध्ये चार करोड ३० लाख लिटर पानी जमिनमुनिकै हो । काठमाडौं उपत्यकामा हाल अनुमति लिएर सञ्चालित ट्युबेल करिब सात सयवटा छन् । केयुकेएलले मात्रै ९० वटा ट्युबेल गाडेको छ ।

जमिनमुनि पानीको सतह घट्दै गएपछि काठमाडौं महानगरपालिकाले नयाँ अभियान थालेको छ– रिचार्ज काठमाडौं । जमिनमुनि पानी अभाव हुन नदिने अभियान हो, यो ।

जमिनमुनिको पानी निरन्तर उपभोग गर्ने तर आकासे पानीसमेत जमिनले सोस्न नपाउने भएकाले सतहमुनि पानीको मात्रा घटेको खानेपानी तथा सरसफाइविज्ञ इन्जिनियर हरिप्रसाद शर्मा बताउँछन् । मुलुकभरको तथ्यांक नियालौँ । कुल १९ प्रतिशत घरधुरीले मात्र प्रशोधित पानी उपभोग गर्न पाएका छन् । र, १८ लाख जनसंख्याले ट्युबेलको पानी प्रयोग गर्छ । वाग्मती प्रदेशमा उपभोग भएको पानीमध्ये १० प्रतिशतको स्रोत ट्युबेल हो । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार देशभर १० लाखभन्दा बढी ट्युबेलले जमिनमुनिको पानी तान्छन् ।

 कसरी गर्ने रिचार्ज ?
जमिनमा पानी रिचार्ज गर्न ठूलो खर्च लाग्दैन, न त महँगो प्रविधि नै आवश्यक पर्छ । आकाशबाट वर्षिएको र घरमा उपभोग भएर बाहिरिने पानीलाई ढलमा मिसाउनुको सट्टा छुट्टै ट्यांकीमा जम्मा गर्नुपर्छ । त्यस्तो ट्यांकीनजिकै अर्को इनार बनाउनुपर्छ, जुन सतहबाट २० देखि ४० फिटसम्म गहिरो हुन्छ । इनारको तल्लो भागमा ठूलो आकारका गिटी, त्यसभन्दा माथि मसिना गिटी र त्यसभन्दा माथि तीन फिटसम्म खस्रो बालुवा राख्नुपर्छ । सबैभन्दा माथि जियो टेक्स्टाइल राख्नुपर्छ ।यी संरचना बनाउन एक लाख रुपैयाँसम्म खर्च हुने इन्जिनियर निशा कोइराला बताउँछिन् । त्यसमार्फत वार्षिक करिब सात लाख ६७ हजार लिटर पानी रिचार्ज गर्न सकिने उनको भनाइ छ ।

गोंगबुमा पहिलो रिचार्ज प्रणाली
काठमाडौं महानगरले पहिलो परियोजनाका रूपमा गोंगबु आवास क्षेत्रमा पानी पुनर्भरणको नमुना जडान गरेको छ । त्यसका लागि स्थानीय टोल सुधार समितिको सहकार्य र एकीकृत सहरी विकास केन्द्रको प्राविधिक सहयोग छ । टोल सुधार समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठका अनुसार गोंगबु डबलीमा खाली रहेको करिब एक रोपनीमा २४ र १४ फिट गहिरा दुईवटा रिचार्ज वेल निर्माण गरिएको छ । त्यस क्षेत्रमा जम्मा हुने आकासे पानीलाई जमिनमा पुनर्भरण गरिनेछ । डबलीसँगैको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ ।