मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
धर्मेन्द्र झा
२०७६ फाल्गुण १३ मंगलबार ०७:५९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

‘ह्याप्पी बर्थडे’ प्रधानमन्त्रीज्यू !

प्रधानमन्त्रीज्यू, सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्दा त्यसको जिम्मेवारी तपाईंले पनि त लिनुपर्ने होला नि !

Read Time : > 4 मिनेट
धर्मेन्द्र झा
२०७६ फाल्गुण १३ मंगलबार ०७:५९:००

समादरणीय प्रधानमन्त्रीज्यू,
यहाँ हामी कुशल नै छौँ, आशा छ तपाईं, तपाईंको परिवार र सरकार पनि कुशल नै होला । सर्वप्रथमतः यहाँलाई ६९औँ जन्मोत्सवको हार्दिक शुभकामना ! रह्यो प्रश्न सरकारको, देशले प्रधानमन्त्रीका रूपमा यहाँको नेतृत्व प्राप्त गरेको पनि दुई वर्ष बितिसकेको छ । अहिलेसम्म त सरकारले कस्तो काम गर्‍यो र कति सफल रह्यो भन्ने विषयको मूल्यांकन आमजनताले गरेकै छन् ।

भविष्यका लागि भने सफलताको कामना गर्छु । यो अलग विषय हो कि अब सरकारको बाँकी अवधिको नेतृत्व यहाँले नै गर्नुहुन्छ कि विगतको सम्झौताअनुसार यहाँको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नुहुनेछ भन्ने प्रश्नको छिनोफानो हुन बाँकी नै छ । तर, एउटा कुरा निश्चित छ, बजार हल्लाअनुसार पार्टी एकीकरण प्रक्रियाका सन्दर्भमा प्रचण्डसँग भएको यही सम्झौताको कार्यान्वयनका लागि तपाईंमाथि दबाब सिर्जना गर्ने राजनीति प्रारम्भ हुनेछ ।

यस्तो राजनीति हुने मुख्य कारण हो, तपाईंकै पार्टीभित्रका केही नेताले तपाईं अहिले प्रतिरक्षात्मक अवस्थामा रहेको मूल्यांकन गरिरहेका छन् । पछिल्ला दिनमा भएका केही घटनाले यहाँलाई आक्रामकको साटो प्रतिरक्षात्मक अवस्थामा पु¥याएकाले तुलनात्मक रूपमा यहाँ कमजोर हुन थाल्नुभएको मूल्यांकन भइरहेको वर्तमान अवस्थामा तपाईंमाथि रणनीतिक आक्रमणका लागि अहिले उपयुक्त अवस्था हो भन्ने उनीहरूको धारणालाई सोझै गलत भन्न सकिन्न । एउटा खास व्यक्तिका लागि संविधान संशोधन गर्न सहमत देखिनु तपाईं प्रतिरक्षात्मक भएको प्रत्यक्ष प्रमाण हो । 

नेकपाका अध्यक्ष महोदय,
फेरि भन्दै छु, यहाँलाई जन्मदिनको शुभकामना ! तपाईं देशको प्रधानमन्त्री, त्यसमाथि घघडान कम्युनिस्ट नेता ! तपाईंले आफ्नो जन्मदिन मनाउनै हुँदैन भन्ने होइन । तर, नेपाली भाषामा एउटा भनाइ छ नि— जो अगुवा उही बाटो ... ! अहिले सर्वत्र प्रश्न गरिँदै छ, गरिब देशका प्रधानमन्त्रीले जन्मदिन मनाउने तरिका यही नै हो त ? तपाईंजस्तो मुलुकको राजनीतिक र सामाजिक जीवनमा सर्वोच्च स्थान तय गरिसकेका नेताले सम्पादन गर्ने कुनै पनि कार्यक्रम तथा व्यवहार अरू जनसामान्यका लागि अनुकरणीय हुनुपर्ने हो, अनुसरणीय आदर्श हुनुपर्ने हो । तर, यो कति सम्भव छ ? माथि पनि भनिसकियो, तपाईं एक सर्वहारा वामपन्थी नेता हो ।

के वामपन्थी चिन्तन र सिद्धान्तमा व्यक्तिले यत्तिकै तडकभडक र तामझामसाथ जन्मदिन मनाएर आर्थिक अपव्यय गर्नुपर्ने उल्लेख छ ? सर्वहाराको अधिनायकत्व भनेको यही हो ? यसपटक तपाईंले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउनुभएको छ । राम्रो कुरा हो, यसै नाममा तपाईंले आफ्नो गामठाम सम्झिनुभयो । तर, फेरि प्रश्न उठ्छ, जन्मघर सम्झिने सर्वाधिक उपयुक्त तरिका यही नै थियो त ? सामन्ती शैलीमा चारवटा हेलिकोप्टरबाट गाम पुगेर नेपालको नक्सा आकारको १५ किलोको केक काटेर तपाईंले ‘स्वान्तः सुखाय’को नीति अख्तियार गर्नुभएको छ ।

प्रतीकात्मक रूपमा यो केक काट्नुको अर्थ के लाग्छ, प्रधानमन्त्रीज्यू थाहा छ यहाँलाई ? आमनेपाली जनताले तपाईंको यो व्यवहार मन पराएका छैनन् । तपाईंका मुखेन्जी भन्न डर मान्नेहरूले सायद तपाईंलाई यो कुरा भन्न सकेका छैनन् तर सत्य के हो भने, तिनलाई पनि तपाईंको यो व्यवहारबाट पक्कै असजिलो महसुस भएको छ । आखिर समाजमा जवाफ त तिनले नै दिनुपर्छ । तपाईंसँग त सर्वसाधारणको भेट सम्भव छैन ।

समाजमा विद्यमान गलत संस्कारको अन्त्य तपाईं, तपाईंको पार्टी र सरकारको प्राथमिकतामा पर्नुपर्ने थियो तर त्यसो हुन सकिरहेको छैन । तपाईंले आफ्नो जन्मदिनलाई विशेष बनाउने नाममा जिल्लाका दूरदराज गामठामका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको लोभ दिएर घन्टौँ पैदल हिँडाउनुभएको छ । के यो उचित हो ? के यो सामन्ती सोच होइन ? यस्तै सामन्ती सोच अन्त्य गरी नयाँ समाज स्थापनाका लागि विगतमा तपाईं वामपन्थी आन्दोलनमा होमिनुभएको होइन ? तपाईंले सञ्चालन गरेको आन्दोलनले देखेको नयाँ नेपाली समाजको सपना यही नै थियो ? यही नै थियो भने हाम्रो भन्नु केही छैन । होइन, तपाईंले देखेको सपना यो थिएन भने आफूलाई सच्याउने तत्परता तपाईंले नै गर्नुपर्ने थियो । तपाईं यस कार्यमा पनि असफल देखिनुभएको छ, प्रधानमन्त्रीज्यू ।

सर्वहाराका महानायकज्यू,
म तपाईंको राजनीतिक विचार, दृष्टिकोण र आस्थासँग असहमति राख्ने व्यक्ति हुँ, तर व्यक्तिगत रूपमा तपाईंको दृढता र तपाईंले देश र जनताका पक्षमा देख्ने सपनाको प्रशंसा गर्ने व्यक्ति हुँ । तपाईं दुईतिहाइ बहुमतको सरकार प्रमुख अर्थात् देशका प्रधानमन्त्री हुँदा तपाईंको पार्टीका कार्यकर्ताजस्तै हामी पनि खुसी नै भएका थियौँ । मैले तपाईंको प्रशंसा गर्दै पक्षमा सार्वजनिक रूपमै विचार व्यक्त गर्ने गरेको हुँ । केही सञ्चारमाध्यममा लेखेको पनि हुँ । देशको विकासलाई गति प्रदान गर्न तपाईंलाई अवसर प्राप्त हुनुपर्छ भन्ने पक्षमा म पनि थिएँ । अहिले सोच्दै छु, बेकार गरिएछ प्रशंसा ।

प्रधानमन्त्रीज्यू, आफ्नो जन्मदिनलाई विशेष बनाउने नाममा जिल्लाका दूरदराजका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको लोभ दिएर घन्टौँ पैदल हिँडाउनु उचित हो ? के यो सामन्ती सोच होइन ?
 

हात्तीका देखाउने र खाने दुईवटा दाँत भएजस्तै तपाईंको पनि दोहोरो चरित्र रहेछ भन्ने निष्कर्षमा म यतिखेर पुग्दै छु । तपाईं असहमति र आलोचना सुन्न सक्नुहुने रहेनछ । खालि प्रशंसा र प्रशस्तिमा रमाउने पात्र हुनुहुँदो रहेछ । यसैले होला आलोचना गर्ने र प्रशंसा नगर्ने प्रेस तपाईंलाई मन पर्दैन । तपाईं प्रेस स्वतन्त्रता चाहनुहुन्न र आफ्ना पक्षमा जनमत सिर्जना गर्ने भाटहरूको समूह चाहनुहुन्छ । तर, लोकतन्त्रलाई मान्ने हो भने स्वतन्त्र प्रेसको भूमिकालाई स्वीकार गर्नैपर्ने हुन्छ । तपाईं प्रेसको स्वतन्त्र भूमिका मनपराउनुहुन्न भने यसको सोझो अर्थ हो, तपाईं लोकतन्त्रलाई सैद्धान्तिक रूपमा स्वीकार गर्नुहुन्न । यसकारण हो, तपाईं नियन्त्रित प्रेस चाहनुहुन्छ र विगतमा गोकुलजीलाई अघि सारेर प्रेसविरोधी कानुन तर्जुमा गर्न तपाईंको सरकार क्रियाशील थियो ।

एकीकृत वामपन्थका नेताज्यू,
तपाईंले आफूलाई अभिव्यक्त गर्ने उखाने शैली रमाइलै हुन्छ र यसले विपक्षीलाई प्रहार गर्छ भन्ने मैले मानेको थिएँ । तर, खासमा त्यसो होइन रहेछ । यी उखान त तपाईं आफ्ना कमजोरीको ढाकछोप गर्न र विषयान्तर गर्न प्रयोग गर्नुहुँदो रहेछ । खोइ त अहिले आफ्नो ‘शुभजन्मोत्सव’ र भ्रष्टाचारको आरोपमा यहाँका धर्मपुत्रजस्तै मानिएका गोकुलजीको सरकारबाट बहिर्गमनका सन्दर्भमा कुनै उखान टुक्का  फुरेको ? खैर, यी तपाईंका व्यक्तिगत निजी जीवनका विषय हुन सक्छन् । त्यसमा जनसामान्यले ताकझाँक गरिरहनु त्यति जरुरी पनि छैन । तर हेक्का रहोस्, जब तपाईंका कुनै पनि व्यवहार देशको कल्याण र छविसँग जोडिन्छ भने व्यक्तिगत मानेर त्यसबाट कसरी उन्मुक्ति पाउन सकिन्छ ? तपाईं आफैँ जानकार हुनुहुन्छ, यस सन्दर्भलाई कसरी सम्बोधन गर्ने भन्ने यहाँलाई नै राम्ररी थाहा छ ।

श्री केपी शर्मा ओलीज्यू,
पछिल्लो समय भ्रष्टाचार र कुशासनका सुई तपाईंतर्फ पनि सोझिएका छन् । तपाईंले आफूलाई सफल साबित गर्न पटक–पटक तथ्यांकको सहारा लिने गर्नुभएको छ । तपाईंका सल्लाहकारले तपाईंलाई त्यही नै सुझाएका छन् । तर, तिनले तपाईंलाई एउटा कुरा के भन्दैनन् भने एउटै तथ्यांकलाई विभिन्न ढंगले व्याख्या गर्न सकिन्छ । तपाईंले आप्mनो अनुकूलतामा व्याख्या गर्नुहुन्छ भने जान्ने विपक्षीले त्यसलाई तपाईंको प्रतिकूलतामा व्याख्या गर्न सक्छन् ।

तथ्यांक मात्रले देशका जनताको अनुहारमा चमक ल्याउन सकिँदैन । मूल कुरा हो सुखानुभूति । जनताले दुई वर्षमा अहिलेसम्म तपाईंका कुनै पनि कार्यबाट त्यस्तो सुखद अनुभूति गर्न सकेका छैनन् । सुशासनको रटान लगाएर कहिल्यै नाथक्ने तपाईंको सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्दा त्यसको जिम्मेवारी तपाईंले पनि त लिनुपर्ने होला नि ! संसदीय लोकतन्त्रमा सरकारको प्रमुख प्रधानमन्त्री हुन्छ ।

सरकारका राम्रा, नराम्रा सबै कामको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्छ । बालकोटस्थित यहाँको निजी निवासमा बस्दै आएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको कमिसन सेटिङ सार्वजनिक हुँदा सरकार प्रमुखले त्यसको जिम्मेवारी लिने कि नलिने ? गोकुलजीलाई सामान्य राजीनामा गर्न लगाएर उन्मुक्ति दिन मिल्छ ? पार्टीभित्र यससम्बन्धी छलफल गराउन तपाईं किन अनिच्छुक हुनुहुन्छ ? यी केही यस्ता प्रश्न हुन्, जसको उत्तर सुशासनका दृष्टिले निकै महŒवपूर्ण छन् । सुशासनले नारा होइन, प्रतिबद्धता खोज्छ । तर तपाईं त मात्र नारा र हँस्यौलीमा सुशासन खोज्नुहुन्छ, जो सम्भव छैन ।

आदरणीय सरकार प्रमुखज्यू,
एउटा जिम्मेवार देशवासीका नाताले मैले केही खास विषयमा यहाँको ध्यानाकर्षण मात्र गराउन खोजेको हुँ । अन्यथा लिनु हुनेछैन भन्ने आशा छ । होइन, अन्यथा नै लिनुहुन्छ भने पनि मेरो भन्नु केही छैन । तपाईं सरकार प्रमुख हो, सबै कानुन यहाँकै अधीनमा छन् । मेरा पक्ष वा विपक्षमा यहाँलाई आवश्यकतानुसार कानुन कार्यान्वयनको छुट छ । आगे यहाँको मर्जी । मैले त यहाँको भलो चिताएर सुशासनसम्बद्ध विषयमा यहाँलाई केही भन्ने धृष्टता गरेको मात्र हुँ ।