मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
२०७६ फाल्गुण १२ सोमबार १८:०७:००
Read Time : > 1 मिनेट
समाचार

ओलीसँग पोखरा नगएका प्रचण्डले पार्टी कार्यालयमा वरिष्ठ नेतासँग गरे छलफल

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १२ सोमबार १८:०७:००

सत्तारुढ नेकपाले सोमबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रममा नगएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालयमा वरिष्ठ नेतासँग भेटवार्ता गरेका छन् । 

पार्टी कार्यालयमा उनले वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी महासचिव विष्णु पौडेलसँग वार्ता गरेका थिए ।  

प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुने पूर्वनिर्धारित योजना थियो ।
तर ‘विशेष काम’ भन्दै पोखरा नगएका प्रचण्डले नेता नेपाल र महासचिव पौडेलसँग करिब १ घन्टा छलफल गरेको स्रोतले बतायो ।

नेतात्रयको छलफलबारे नेकपाकै अरू नेता, कार्यकर्ता र पत्रकारसमेतलाई जानकारी थिएन ।

‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ । छलफलको खास विषयबारे थाहा छैन,’ प्रचण्डनिकट एक नेताले भने । 

छलफलमा पार्टी संगठन विभाग प्रमुखसमेत रहेका उपाध्यक्ष बामदेव गौतमलाई डाकिए पनि उनी गएनन् । 

‘संविधान संशोधनका विषयमा छलफल’
प्रचण्डसहित शीर्ष नेताहरूबीच संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउनेबारे विषयमा छलफल भएको हुनसक्ने एक नेताले बताए ।

वरिष्ठ नेता नेपाल नेकपाको १० फागुनमा बसेको सचिवालय बैठकले गठन गरेको संविधान संशोधन कार्यदलका संयोजकसमेत हुन् ।

उपाध्यक्ष गौतमलाई राष्ट्रपतिको मनोनयनमा राष्ट्रिय सभा सदस्य बनाएर प्रधानमन्त्रीमा नियुक्त गर्नकै लागि नेकपाले संविधान संशोधन गर्ने चर्चा चलेको छ । 

महासचिव पौडेलले भने धुम्बाराहीमा कुनै विशेष विषयमा छलफल नभएको जानकारी दिए ।

‘पार्टी कार्यालयमा अध्यक्षज्यू र माधव कमरेड पुग्नु भएको रहेछ । पार्टी कार्यालयमा कहिलेकाहीं मात्र आउनुहुने अध्यक्षज्यू पुग्नु भएपछि म पनि छिरेको हुँ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अध्यक्षज्यू वहाँकै कोठामा हुनुन्थ्यो । माधव कमरेड र म पनि आ–आफ्नै कार्यकक्षमा थियौं । त्यस्तो कुनै छलफल भएको छैन ।’

यसअघि ओली अनुपस्थित
यसअघि प्रचण्ड सहभागी ४ र ५ फागुनमा प्रदेश ५ को कोहलपर र ६ र ७ फागुनमा कर्णाली प्रदेशको सुर्खेतमा नेकपाले आयोजना गरेको कार्यकर्ता भेला र प्रशीक्षण कार्यक्रमा अध्यक्ष ओली अनुपस्थित थिए ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेललगायत शीर्ष नेताले यसअघिका कार्यक्रममा सहभागिता जनाएका थिए ।

त्यसैगरी १ फागुनमा जनयुद्ध दिवस र सहिद श्रद्धान्जली सभामा पनि ओली अनुपस्थित थिए ।