मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
२०७६ फाल्गुण १२ सोमबार ०८:१०:००
Read Time : > 2 मिनेट
अर्थ

कम्पनीलाई फाइदा हुने गरी लघुबिमा निर्देशिका संशोधन : अब ५ लाखसम्मको बिमा लघुबिमाअन्तर्गत

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७६ फाल्गुण १२ सोमबार ०८:१०:००

बिमा समितिले लघुबिमा गर्न नचाहने बिमा कम्पनीलाई फाइदा पुग्ने गरी लघुबिमा निर्देशिका संशोधन गरेको छ । यसअघि अधिकतम २ लाखसम्मको बिमा लघुबिमामा गणना हुने गरेकोमा गत बिहीबार संशोधन भएको नयाँ निर्देशिकाअनुसार त्यो सीमा ५ लाखसम्म पुर्‍याइएको छ । यसले कुल बिमाको १० प्रतिशत न्यून वर्ग लक्ष्यित लघुबिमा गर्नैपर्ने व्यवस्था भएकोमा कम्पनीहरूले ठूलो आकारको बिमालाई पनि त्यसमा गणना गर्न पाउनेछन् । 

नयाँ व्यवस्थाअनुसार ३ लाख रुपैयाँसम्मको जीवन लघुबिमा (सावधिक, म्यादी, अन्य) गर्न सकिनेछ । त्यस्तै निर्जीवनअन्तर्गत सम्पत्ति र घर लघुबिमाको बिमांक रकम ५ लाख रुपैयाँसम्म तोकिएको छ । दुर्घटना बिमा ३ लाख, घातक रोग १ लाख, बाली तथा पशुपन्छी लघुबिमा २ लाख र अन्य ३ लाख रुपैयाँसम्मलाई लघुबिमाअन्तर्गत राखिएको छ । 

थोरै रकमको बिमा गर्न किसान तथा न्यून वर्गले इच्छा नदेखाएकाले  लघुबिमाको आकार बढाउनुपर्ने तर्क कम्पनीहरूको छ । तर, खर्चको तुलनामा कम कमाइ हुने भएपछि कम्पनीहरू आफैँ लघुबिमामा इच्छुक नदेखिएका हुन् । पुरानो व्यवस्थाअनुसार बिमा पोलिसी बिक्री गर्दा कम्पनीहरूलाई लाभ नहुने भएपछि उनीहरूकै दबाबमा निर्देशिका संशोधन गरिएको जानकारहरू बताउँछन् । 

सरकारले गत आव ०७५/७६ को बजेटमार्फत प्रत्येक कम्पनीले आफ्नो व्यवसायको १० प्रतिशत लघुबिमा बिक्री गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । १० प्रतिशतको सीमा कम्पनीहरूले आगामी ०७७ असार मसान्नसम्म पुर्‍याउनुपर्ने छ । सो निर्देशन पूरा गर्ने बहानामा कम्पनीहरूले लघुबिमाको आकार नै बढाउन बिमा समितिलाई दबाब दिँदै आएका थिए । 

यसअघि कुल बिमामा लघुबिमाको अनुपात ५ प्रतिशत मात्रै थियो । तर, कम्पनीहरूले आफ्नो कुल व्यवसायको २ प्रतिशत पनि लघुबिमा व्यवसाय पुर्‍याएका छैनन् । तर, नयाँ व्यवस्थाले ५ लाखसम्मको पोलिसीलाई लघुबिमाअन्तर्गत राखेर समितिको निर्देशन पूरा गर्ने बिमा कम्पनीहरूको योजना छ । त्यसैले लघुबिमामा न्यूनतम बिमांक रकमको सीमा तोक्नुपर्ने बिमाविज्ञ रवीन्द्र घिमिरेले बताए । ‘लघुबिमाको न्यूनतम रकम तोकिएन भने बिमा कम्पनीहरू थोरै रकमको बिमा गर्न रुचाउँदैनन् । यसले लक्षित वर्गहरू ओझेलमा पर्नेछन्,’ उनले भने । जति ठूलो बिमांक रकम हुन्छ, अभिकर्ताले पाउने कमिसन पनि बढी हुन्छ । सोही कारण बढी कमाइ गर्ने लोभमा अभिकर्ताहरूले सानो रकमको बिमालाई वास्ता नगर्ने उनको भनाइ छ । 

सहुलियत कर्जामा दोहोरो बिमा
सहुलियतपूर्ण कर्जा लिएका ऋणीले अब बिमा कम्पनीबाट लघुबिमासमेत गर्नुपर्ने भएको छ । बिमा समितिको नयाँ व्यवस्थाअनुसार सहुलियतपूर्ण कर्जाको अधिकतम सीमा ननाघ्ने गरी लघुबिमा लेखमा बिमांक कायम गर्नुपर्छ । तर, नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार कर्जा सुरक्षण निगमले कर्जाको सुरक्षण गर्छ ।  यसरी बिमा समितिको नयाँ व्यवस्थाले ऋणीले दोहोरो सुरक्षण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव ढकालले सहुलियतपूर्ण कर्जाको सुरक्षण निगमले गर्ने हुँदा बिमाको आवश्यकता नरहेको बताउँछन् । तर, बिमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेल भने निगमले गर्ने सुरक्षण र बिमा कम्पनीहरूले गर्ने बिमा फरक रहेको जिकिर गर्छन् ।
 
 उच्च जोखिमलाई पनि लघुबिमा 
सम्पति, घर, दुर्घटना, स्वास्थ्य, घातक रोग र कृषिलाई समेत लघुबिमामा समेटिनु अव्यावहारिक भएको बिमाविज्ञहरू बताउँछन् । घातक रोग आफैँमा महँगो भएकाले उपचारका लागि ठूलो रकम लाग्ने र यसलाई लघुबिमाअन्तर्गत राख्नु अव्यावहारिक भएको बिमाविज्ञ घिमिरेले बताए । त्यस्तै, कृषि मन्त्रालयले ७५ प्रतिशत अनुदानसहित कृषि बिमा सञ्चालन गरेको छ । सोही बिमालाई लघुबिमामा समेटिँदा बिमितहरू अन्योलमा पर्ने उनको भनाइ छ । 

 गैरसरकारी संस्था पनि लघुबिमाका अभिकर्ता
अबदेखि गैरसरकारी संस्थाहरूले पनि लघुबिमा अभिकर्ताको काम गर्न पाउने भएका छन् । बिमा समितिले गरेको नयाँ व्यवस्थाअनुसार लघुबिमाका व्यक्ति र संस्थागत अभिकर्ता रहन पाउनेछन् । संस्थागतभित्र गैरसरकारी संस्था, स्वावलम्बन समूह, लघुबित्त वित्तीय संस्था, सहकारी संस्था पर्छन् । त्यस्तै, लघुबिमाको दाबी परेको अवस्थामा कम्पनीले छानबिन गरी सात दिनभित्रमा भुक्तानी गर्नुपर्नेछ । कागजात, विवरण तथा सिफारिसबमोजिम दाबी भुक्तानी गर्नुनपर्ने भएमा स्पष्ट आधार र कारण खुलाई बिमितलाई १५ दिनभित्र लिखित जानकारी दिनुपर्नेछ ।  

 २ प्रतिशत पनि जारी भएन लघुबिमा
बिमा समितिको तथ्यांकअनुसार बिमा कम्पनीहरूले कुल व्यवसायको २ प्रतिशत पनि लघुबिमा जारी गर्न सकेका छैनन् । चालू आवको दोस्रो त्रैमासमा जीवन बिमा कम्पनीहरूले ३६ अर्ब ८९ करोड रुपैयाँको बिमा गरेका छन् । त्यस्तै, निर्जीवन कम्पनीहरूले भने १३ अर्ब ८९ करोडको व्यवसाय गरेका छन् । सोही अवधिमा कम्पनीहरूले २३ करोड १४ लाख रुपैयाँबराबरको लघुबिमा व्यवसाय गरेका छन् । यो रकम जीवन बिमाको शून्य दशमलव ४९ प्रतिशत हो भने निर्जीवन बिमाको १ दशमलव ६६ प्रतिशत हिस्सा हो ।