मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सागर चन्द काठमाडाैं
२०७६ फाल्गुण ११ आइतबार १४:०७:००
Read Time : > 2 मिनेट
फिचर

वीर अस्पताल छेउकाे विरोधी भित्तो !

Read Time : > 2 मिनेट
सागर चन्द, काठमाडाैं
२०७६ फाल्गुण ११ आइतबार १४:०७:००

तारनाथ शर्माको चर्चित निबन्ध ‘वक्तााहरुको कुनो’ मा लण्डन सहरले अपनाएको अभिव्यक्ति स्वतन्त्रताको झलक पढ्न पाइन्छ । 

वक्ताहरुको कुनो अर्थात ‘स्पिकर्स कर्नर’बाट जुनसुकै स्तर, धर्म र वर्णका मानिसले आफ्नो मनमा लागेका कुराहरु बोल्न सक्छन् । आफूलाई चित्त नबुझेको कुरामा विरोध गर्न सक्छन् । 

लण्डनको स्पिकर कर्नर जस्तै चित्रकार लक्ष्मण श्रेष्ठले वीर अस्पताल छेउको भित्तालाई अभिव्यक्ति स्वतन्त्रताको भित्तो बनाउन खोजेका थिए । १७ वर्षदेखि चित्रकारिता गरिरहेका श्रेष्ठ चित्रकारमाझ ‘स्ट्रिट पेन्टर’का रुपमा परिचित छन् । 

सरकारको आलोचना गर्नुपर्दा उनी भोटाहिटि र वीर अस्पताल बीचको भित्तो रोज्छन् । सहरको मध्यमा रहेको त्यो भित्तामा श्रेष्ठको चित्र भने धेरै दिन टिक्दैन ।

अस्पतालहुँदै भोटाहिटि जानेबाटोमा अण्डरपास नपुग्दैको भित्तामा अहिले पनि चित्र मेटिएको दाग देखिन्छ । 

त्यो भित्तामा चित्र मेटिएको यो पहिलोपटक होइन । गत वर्ष श्रेष्ठले कालो पृष्ठभूमिमा सेतो रङले पोतेको ‘खप्पर’, आगोको लप्काको पृष्ठभूमिमा चिता जलाइरहेको मानिस, पञ्जामा ‘मुंग्रो’(ग्याभेल) समातेर झम्टिन खोजिरहेको गिद्ध चित्र बनाएका थिए । यो भयानक चित्रको मध्यमा ‘डेड सरकार...’ लेखिएको थियो ।

चित्र बनाएको केही दिनमै मेटियो । एक वर्ष अगाडि बनाएको चित्र सम्झिंदै श्रेष्ठ भन्छन, ‘चित्रमार्फत जनताको दृष्टिमा सरकार देखाउन खोजेको थिएँ ।’ श्रेष्ठको भनाई अनुसार उनले वैदेशिक रोजगारीको कहर देखाउन खोजेका थिए ।

त्यसपछि गत असारमा श्रेष्ठ र उनका साथीले त्यही भित्तामा ‘नालायक म’ शीर्षकको चित्र बनाएका थिए । 

समाज र आफैप्रति उत्तरदायी नहुने प्रवृतिप्रति व्यंग गर्दै बनाइएको यो चित्र पनि एक दिनमै मेटियो ।

चित्र मेटिए पनि श्रेष्ठले हार मानेनन् । लगत्तै उनले ‘घरघरमा भ्रष्ट संस्कार’ शीर्षकको अर्को चित्र बनाए । यो चित्र पनि मेटियो । 

२७ माघमा श्रेष्ठले समयको बद्लिंदो रुपलाई संकेत गर्दै ‘घण्टा सरकार’ नामको चित्र बनाएका थिए । ३ दिनमै उक्त चित्र मेटियो । एक वर्षको अन्तरमा श्रेष्ठले भोटाहिटिको यो भित्तामा ३ वटा चित्र बनाइसकेका छन् ।
भोटाहिटिको भित्तामा श्रेष्ठले पहिलोपटक ४ वर्ष अगाडि चित्र बनाएका थिए । भूकम्पपछि काठमाडौंका घरमा टेका लगाएको विषयलाई देखाउन उनले चित्रमा पृथ्वीलाई नै टेका लगाइएको चित्र बनाएका थिए ।
कलालाई आम नागरिकको भाषाको रुपमा अथ्र्याउँदै श्रेष्ठ भन्छन्, ‘कला जन–जनका आवाज बन्नुपर्छ ।’ 

यही धारणाबाट प्रेरित उनले सन् २०१२ मा नेपालगन्जमा ‘संसद् भर्सेस जनता’ शीर्षकको ‘स्ट्रिट पेन्टिङ’ कोरेका थिए । पहिलो संविधानसभाको म्याद सकिने वेला बनाइएको यो चित्रमा उनले बक्सिङ रिङभित्र सांसद र जनतालाई देखाएका थिए ।

‘स्ट्रिट फर अल आर्ट’को नारासहित नागरिकका लागि कला भन्दै उनले काठमाडौंका कैयौँ सडकभित्तामा यसरी चित्र पोतेका छन् । 

भ्रुणहत्यालाई संकेत गर्दै, ‘सचेतना भ्रुण हत्या’ बालश्रमको विरोधमा, ‘चासो कसलाई’ महिला हिंसाको विरोधमा ‘जलाइएकी म’ र विकासका नाममा भइरहेको विनाशको विरोध गर्दै ‘विकास भर्सेस विनाश’ उनले बनाएका प्रमुख स्ट्रिट पेन्टिङ हुन् । 

नागरिक पनि देशप्रति सचेत हुनपर्ने धारणा राख्दै उनले ‘म मस्त, देश अस्तव्यस्त’ ‘भ्रष्ट म’जस्ता शीर्षक दिएर पनि स्ट्रिट पेन्टिङ गरेका छन् ।

अमुर्त पेन्टिङबाट चित्रकारिता सुरु गरेका श्रेष्ठले जनताप्रति लक्षित गर्दै ‘स्ट्रिट पेन्टिङ’ रोजेका हुन् । 
तर, सडकका भित्तामा पेन्टिङ गर्न त्यति सहज भने छैन । सार्वजनिक भित्तोमा सरकारको विरोध गर्दै चित्र बनाउन साहस नभई दुस्साहस चाहिने बताउँछन्, श्रेष्ठ ।

भित्तामा चित्र बनाउँदा प्रहरी र स्थानीयवासीको हप्की खानुपर्ने पीडा छ, श्रेष्ठसँग । ‘डरैडरमा चित्र बनाउनुपर्छ,’ उनी भन्छन्, ‘कहिले प्रहरी आएर गाली गर्छ, कहिले स्थानीय आएर ।’ 

‘भित्तामा राजनीतिक नारा लेख्न हुने, मैले चित्र बनाउन किन नहुने ?’ उनी प्रश्न गर्छन् । भित्तामा राजनीतिक नारा पढ्नुभन्दा चित्र हेर्नु ठीक भएको श्रेष्ठको तर्क छ । 
अहिले ‘डेड सरकार’ पोतिएकै स्थानमा श्रेष्ठले तीन वर्षअघि ‘टेका’ शीर्षकको चित्र पनि बनाएका थिए । भूकम्पपछि काठमाडौंका घरमा टेका लगाएको विषयलाई देखाउन उनले चित्रमा पृथ्वीलाई नै टेका लगाइएको चित्र बनाएका थिए ।

प्राचीनकालमा रोमबाट सुरु भएको भित्तामा चित्र कोर्ने यो कलालाई ‘नागरिकले विरोधको आवाज व्यक्त गर्ने कला’को रूपमा लिइन्छ । 

श्रेष्ठ कसैको अनुमति बेगर नै सार्वजनिक स्थल र निजी भित्तामा चित्र बनाउँछन् । ‘किनभने यो चित्रकलाको सुरुवात नै विरोध र विद्रोहोको स्वर बुलन्द बनाउन भएको हो,’ श्रेष्ठ अगाडि भन्छन्, ‘विरोध गर्न कसैले अनुमति त माग्दैनन् ।’