१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीद्वारा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई स्थानीयवासीको समस्याको विवरणसहित शिवालय गाउँपालिकाका–१ मोर्कबजारस्थित आइतबार ज्ञापनपत्र बुझाउँदै ।
नयाँ पत्रिका जाजरकाेट
२०७६ फाल्गुण ११ आइतबार १२:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मन्त्रीलाई कुरा सुनाउन सडकमै ज्ञापनपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका जाजरकाेट
२०७६ फाल्गुण ११ आइतबार १२:२०:००

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयले स्वागतसँगै सडकमै मागको लामो फेहरिस्त बुझाएका छन् । स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत संघीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका छन् । 

चुनाव जितेर दोस्रोपटक पश्चिम जाजरकोट आएका मन्त्री बस्नेतलाई खानेपानी, विद्युत्, पुल, सडक र मोबाइल टावरसम्मका माग राखेर ध्यानाकर्षण गराइएको छ ।
 
चुनावमा गाउँ जाँदा घोरेटो बाटोमा हिँडेर गएका उनी मन्त्री भएपछि सडक निर्माण कार्य भएको ठाउँमा गाडीमा पुगेका थिए । करिब दुई वर्षभित्र स्थानीय सरकार र संघीय सरकारको बजेटबाट पश्चिम जाजरकोटका अधिकांश मुख्य ठाउँका कच्ची सडक निर्माण जारी रहेकाले मन्त्री गाडीमै सवार भएका हुन् । 
 
दुई वर्षअघि गाउँ पुग्दा फोन गर्न अग्ला डाँडामा पुगेका मन्त्री बस्नेत योपटक भने अग्ला डाँडामा जानु परेन । आफू चढेको गाडीबाटै अधिकांश ठाउँबाट आएका फोनमा सजिलै उनले सम्पर्क गरेका थिए । 

मध्यपहाडी लोकमार्गका अधिकांश ठाउँमा ३३ केभी प्रसारण लाइनका पोल गाडिएकाले अब तारसँगै सबस्टेसन निर्माणको काम पूरा गर्न ठाउँ र कामको समयसमेत मन्त्री बस्नेतले अथ्र्याएका थिए ।  

नौ वर्षदेखि अवरुद्ध शिवालय गाउँपलिका मोर्कको पुलको निर्माण कार्य सुरु भएको छ । स्थानीय तहले निर्माण गरेका काममा बजेट अभाव भएर सबै पूरा गर्न नसकिएको भन्दै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले मन्त्री बस्नेतसँग ज्ञापनपत्र समेत सडकमै बुझाएका थिए । स्थानीय तहका प्रमुख र जनताले सबैभन्दा बढी सडक र स्वास्थ्य संस्था निर्माणको विषयलाई केन्द्रित गरी मागपत्रमा उठाएका छन् ।
 
मन्त्री बस्नेतसँग पूर्वशान्ति तथा पुनर्निमाणमन्त्री सत्या पहाडी, राष्ट्रियसभाका सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेशसभाका सदस्य करवीर शाही, पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपाने,  छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रमुख योग्य बस्नेत, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीव शाह, नेपाल खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत, नेकपाका केन्द्रीयस्तरका नेतासमेत पुगेका थिए । 

मन्त्री बस्नेतले स्थानीयवासीसँग कहाँ–के समस्या भएको हो भन्नुहोस् भन्दै सार्वजानिक ठाउँबाट जनताका गुनासा लिएका थिए । 
 
सिंहदरबारसम्म गुनासा लिएर जान नसक्ने स्थानीयवासीका लागि कुरा सुन्न आफू गाउँमै आएको भन्दै मन्त्री बस्नेतले ढुक्कसँग आफ्नो मनमा लागेका कुरा राख्न स्थानीयवासीलाई आग्रह गरेका थिए । 

रासस