मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
युवराज ज्ञवाली
२०७६ फाल्गुण ९ शुक्रबार ०८:०८:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

नेपाली समाजको अन्तर्विरोध

विभिन्न अन्तर्विरोध सतहमा प्रकट भए पनि वर्गीय अन्तर्विरोध नै नेपाली समाज परिवर्तनको प्रमुख कारण बन्दै छ

Read Time : > 5 मिनेट
युवराज ज्ञवाली
२०७६ फाल्गुण ९ शुक्रबार ०८:०८:००

कुनै पनि वस्तुको विकास, त्यसको सञ्चालन र अस्तित्वका लागि त्यसमा अन्तर्निहित विपरीत पक्षबीचको अन्तर्विरोध मूल कारणका रूपमा रहेको हुन्छ । त्यस्तो अन्तर्विरोधले वस्तुको अस्तित्व कायम राख्ने मात्र नभई त्यसमा रूपान्तरण नै ल्याउँछ । यो नियम हरेक अणु, परमाणुदेखि हाम्रो समाज अनि विश्व, ब्रह्माण्डमा समेत लागू हुन्छ । नेपाली समाज पनि तमाम आन्तरिक अन्तर्विरोधसँगै बाह्य अन्तर्विरोधबाट पनि निरन्तर प्रभावित र परिचालित हुँदै आएको छ । 

नेपाली समाजभित्र विभिन्न वर्गीय, जातीय, सांस्कृतिक, भाषिक, भौगोलिक, धार्मिक र राजनीतिकलगायत अनगिन्ती अन्तर्विरोध छन् । कुनै विशेष स्थितिमा बाह्य अन्तर्विरोध पनि सतहमा प्रकट भए पनि आमरूपमा आन्तरिक अन्तर्विरोधका कारण नेपाली समाजको मात्रात्मक परिवर्तनसँगै गुणात्मक परिवर्तन हुँदै आएको छ । समाजका विभिन्न क्षेत्रमा शोषण, दमन, अन्याय, अत्याचार र विभेद देखा पर्दै आएकाले समय–समयमा राजनीतिक, जातीय, धार्मिक, भाषिक तथा पहिचानसँग सम्बन्धित विभिन्न अन्तर्विरोध सतहमा प्रकट हुने गरेको भए पनि वर्गीय अन्तर्विरोध नेपाली समाज परिवर्तनको प्रमुख कारण बन्दै आएको छ । 

कुनै पनि मानिसलाई समाजमा सुखपूर्वक जिउन मान, सम्मान, पहिचान एवं राजनीतिक, भाषिक, सांस्कृतिक र तमाम खाले अधिकार आवश्यक र महत्वपूर्ण विषय हुन् । तर, आर्थिक अधिकारसँग सम्बन्धित गाँस, वास, कपास र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा नहुने हो भने मानिस बाँच्नै नसक्ने स्थिति आउँछ । त्यसैले, आर्थिक सवालसँग गाँसिएको वर्गीय अन्तर्विरोध सापेक्ष रूपमा बढी महत्वपूर्ण र निर्णायक बन्ने गरेको छ ।

यतिवेला राजनीतिक रूपमा जनताले महत्वपूर्ण ऐतिहासिक उपलब्धि हासिल गरेका भए पनि समाजमा वर्गीय विभेद कायमै रहेकाले जनतामा असन्तुष्टिको आवाज व्यापक रूपमा उठ्ने गरेको छ । राजनीतिले जनताको चेतना बढाउने काम गर्छ र यो पहिलो आवश्यकता पनि हो, तर यसले मात्र जनताको भोको पेट भरिँदैन । त्यसैले अहिले पनि वर्गसंघर्ष राजनीतिक संघर्षकै रूपमा अभिव्यक्त भएको छ । जनताले यसपालि कम्युनिस्ट पार्टीलाई अत्यधिक रूपमा मतदान गरी सरकार बनाउने तहमा पुर्‍याउनु वर्गसंघर्षकै अभिव्यक्ति हो । 

नेपाली समाजले निकै लामो समयदेखि सामन्ती जहानियाँ राणाशासन एवं सामन्तवादकै प्रतिनिधित्व गर्ने राजतन्त्रात्मक व्यवस्थाको उत्पीडन व्यहोर्दै आयो । त्यसविरुद्ध जनताले निरन्तर संघर्ष गर्दै जाने क्रममा विभिन्न राजनीतिक परिवर्तन भए । अन्त्यमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै मुलुक राजनीतिक रूपले नयाँ युगमा अघि बढ्दै छ । 

राजनीतिक परिवर्तनसँगै आर्थिक विकासका क्रममा नेपालमा व्यापारको विस्तार तथा उद्योग–धन्दा र कल–कारखानाको स्थापना हुँदै गयो । त्यस क्रममा खासगरी सुगौली सन्धिपछि साम्राज्यवाद र विदेशी एकाधिकार पुँजीवादको प्रभाव र नियन्त्रण बढ्दै गयो । त्यसले राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत एक हदसम्म प्रभाव पारेको भए पनि आर्थिक क्षेत्रमा बढी नियन्त्रण गर्दै आयो । यो हाम्रा लागि गौरवको विषय हो । तर, आर्थिक क्षेत्रमा परनिर्भरता बढ्दै जानु हाम्रा लागि खतराको संकेत हो भन्ने विषयलाई गम्भीर रूपमा लिनु जरुरी छ । 

संसारमा सामन्तवादको अन्त्य र पुँजीवादको तीव्र विकाससँगै त्यसको नेपालमा प्रभाव पर्नु स्वाभाविक थियो । तर, व्यापारिक पुँजीवादले नेपाली बजार कब्जा गर्दै गयो र त्यसको विदेशी एकाधिकार पुँजीवादसँग प्रत्यक्ष सम्बन्ध गाँसिँदै गयो । यसले अन्ततः हाम्रो देश वैदेशिक एकाधिकार पुँजीवादले आर्थिक क्षेत्रमा निरन्तर आफ्नो वर्चस्व कायम राख्नका लागि नेपालको पुँजीपतिवर्गको एउटा हिस्सालाई उपयोग गर्दै आयो ।

त्यही वर्गले आफ्नो र वैदेशिक शक्तिको स्वार्थ पूरा गर्ने उद्देश्यले नेपाललाई परनिर्भर बनाउँदै लग्यो । त्यसले नेपालको प्रशासनिक संयन्त्र राजनीतिक नेतृत्व, संवैधानिक अंगदेखि सुरक्षा संयन्त्रलाई समेत प्रभावित पार्दै आफ्नो वर्गीय हितलाई बढाउँदै लग्यो । त्यसले समग्रतामा विदेशी एकाधिकार पुँजीवाद मात्र होइन, साम्राज्यवादको सेवामा समेत काम गर्दै गयो । यसरी नेपाली अर्थतन्त्रमा दलाल पुँजीवादको उदय र विकास भयो । त्यो वर्गसँगै राज्यसंयन्त्रको दुरुपयोग, कमिसन र भ्रष्टाचारका माध्यमबाट अकुत धन–सम्पत्ति कमाउने अर्को चरित्र देखा पर्दै आयो र त्यसको सम्बन्ध पनि दलाल पुँजीपति वर्गसँग गाँसियो । त्यो नोकरशाही पुँजीपति वर्गका रूपमा अगाडि बढ्यो । यी दुई वर्गको पुँजी संकलन गर्ने तरिका केही फरक भए पनि मूल वर्गीय चरित्र समान किसिमको देखिन्छ । 

विश्वमा पश्चिमा साम्राज्यवादको प्रभाव अनि नेपालमा प्रमुख रूपले भारतीय एकाधिकार पुँजीवादको प्रभाव बढ्दै गयो । भूमिका माध्यमबाट भन्दा पुँजीको माध्यमबाट सम्पन्नताको चुलीमा पुग्न सकिने नयाँ सम्भावना देखा परेको र उद्योग–धन्दा, कल–कारखानाको विकास, एवं विज्ञान एवं प्रविधिको तीव्र विकाससँगै नेपालको सामन्तवाद मरणासन्न अवस्थामा पर्दै गयो । यसले सामन्ती शासकलाई समेत दलाल पुँजीवादले लपेट्दै गयो । यतिवेला नेपाली समाजमा सामन्तवादका अवशेष विभिन्न क्षेत्रमा कायम रहेको भए पनि त्यो मूल समाजको रूपमा रहेको छैन । 

मुलुकको समृद्धि, आत्मनिर्भरता र श्रमजीवी जनतादेखि राष्ट्रिय पुँजीपति वर्ग एवं कृषि क्षेत्रको विकाससँगै समग्र मुलुकको विकासका लागि दलाल नोकरशाही पुँजीवाद नै प्रमुख बाधक बनेको छ
 

नेपालमा जति–जति पुँजीको विकास हुँदै गयो, त्यो राष्ट्रिय र उत्पादनशील पुँजीको रूपमा भन्दा बेसी दलाल र नोकरशाही पुँजीका रूपमा अगाडि आयो । दलाल पुँजीवादको सबभन्दा ठूलो प्रभाव व्यापारिक क्षेत्रमा रहेको भए पनि त्यसले नेपालका उद्योगधन्दा, कलकारखानादेखि कृषिक्षेत्रलाई समेत प्रभावित गर्दै गयो । फलस्वरूप कुनै समय खाद्यान्न निर्यात गर्ने हाम्रो मुलुक अब त्यसमा पनि परनिर्भरता बढ्दै जानु गम्भीर संकटको संकेत हो । यसरी मुलुकको आर्थिक क्षेत्र समग्रमा दलाल पुँजीवादको चपेटामा परेको छ । यसले नै राष्ट्रिय र उत्पादनशील पुँजीलाई अघि बढ्नबाट रोकेको छ । 

नेपालको संविधानले नेपाललाई समाजवादको दिशामा अघि बढाउन निर्देशन गरेको छ । तर, जबसम्म अर्थतन्त्रमा राष्ट्रिय पुँजीको प्रभाव बढाउन सकिँदैन, समाजवादको आधार तयार हुँदैन । मुलुकको समृद्धि, आत्मनिर्भरता र नेपालका लाखौँ श्रमजीवी जनतादेखि राष्ट्रिय पुँजीपति वर्ग एवं कृषि क्षेत्रको विकाससँगै समग्र मुलुकको विकासका लागि दलाल तथा नोकरशाही पुँजीवाद नै प्रमुख बाधकका रूपमा खडा भएको छ । यस्तो अवरोधलाई जुन हदसम्म हटाउँदै लग्न सकिन्छ, सोहीअनुसार यस देशको प्रगति र समृद्धिसँगै समाजवादको यात्रा पनि सही दिशातर्फ अघि बढ्न सक्छ । 

विगतमा नेपालको राजतन्त्रसँग आमनेपाली अन्तर्विरोध मूल अन्तर्विरोधका रूपमा रहेको थियो । तमाम राजनीतिक पार्टीसँगै आमनेपाली जनताको संयुक्त प्रयासबाट राजतन्त्र अन्त्य गरियो । पुँजीवादको विकाससँगै सामन्तवाद कमजोर पर्दै जाने क्रममै राजतन्त्रको जग पनि कमजोर बन्दै गएको अवस्थामा राजनीतिक पार्टीहरूको अगुवाइमा सम्पन्न क्रान्तिले सामन्तवादको प्रतिनिधित्व गर्ने राजतन्त्रात्मक व्यवस्था सदाका लागि बिदाइ गर्‍यो । यो नेपाली जनताका लागि युगीन प्रभाव पार्ने ऐतिहासिक उपलब्धि हो । यस उपलब्धिले नेपाली जनताका हातमा दलाल तथा नोकरशाही पुँजीवादविरुद्ध लड्ने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को अत्यन्त शक्तिशाली हतियार थमाइदिएको छ । त्यसमा पनि आमनिर्वाचनबाट कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार बन्नु दलाल तथा नोकरशाही पुँजीवादलाई परास्त गरेर यो देशलाई समाजवादी मुलुकमा रूपान्तरण गर्ने अत्यन्त ठूलो ऐतिहासिक अवसर प्राप्त भएको छ । 

अहिले मुलुकको कार्यपालिका र व्यवस्थापिकामा माथिदेखि तलसम्म कम्युनिस्टको नेतृत्व रहे पनि माथि उल्लेख गरिएअनुसार मुलुकको आर्थिक आधार भने दलाल पुँजीवादको नियन्त्रणमा छ । तर, त्यो पुँजीवादले आफ्नो प्रभाव विस्तार गर्नका लागि सत्ता र शक्तिको आडभरोसासमेत आवश्यक पर्छ । यदि सत्तामा रहेको राजनीतिक शक्तिले राष्ट्रिय पुँजीलाई प्रोत्साहन गर्ने र दलाल पुँजीलाई कमजोर बनाउँदै लग्न थाल्यो भने दलाल पुँजीलाई आफ्नो प्रभाव टिकाइराख्न निकै कठिन हुन्छ ।

आर्थिक क्षेत्रमा प्रभाव जमाएको दलाल पुँजीवादले नेपालको शिक्षा, स्वास्थ्य, कृषिदेखि तमाम सामाजिक एवं सांस्कृतिक क्षेत्रमा समेत प्रभाव पारेको छ । उसले यतिवेला कुन तरिका र उपाय अपनाएर हुन्छ, राजनीतिक क्षेत्रलाई समेत प्रभाव पारेर नेपाली जनतालाई युगौँसम्म गरिबी र बेराजगारीको दलदलमा फसाउन चाहन्छ । विगतमा जसरी पार्टी नेतृत्वले राजनीतिक रूपान्तरणका लागि अगुवाइ गर्‍यो, त्यसलाई जनताले साथ दिए अहिले आर्थिक–सामाजिक रूपान्तरणका लागि अगुवाइ गर्नुपर्छ । आगामी दिनमा कसले कसलाई बदल्ने हो ? समयले अर्को झनै गम्भीर परीक्षामा उभ्याएको छ । 

देशमा दलाल पुँजीवाद बढ्दै जानु भनेको माफिया, तस्कर, कमिसन खोर, भ्रष्टाचारी र अवैध कारोबार गर्ने प्रवृत्ति पनि बढ्दै जाने कुरा हो । यसले लोकतन्त्रलाई मात्र होइन, नेपाली राष्ट्रियता र लोकतान्त्रिक पार्टीलाई कमजोर बनाउँदै जान्छ तथा सबभन्दा बढी कम्युनिस्ट पार्टीलाई पैसाका आधारमा भ्रष्ट बनाउने हरसम्भव प्रयास गर्छ । यतिवेला सत्तामा रहेको पार्टीलाई पुँजीको हमलाबाट कसरी बचाउने, गम्भीर ध्यान दिनु जरुरी छ । 

अहिले कम्युनिस्ट पार्टीको सरकारले कुनै पनि नियम–कानुन बनाउँदा, सरकारको नीति–कार्यक्रम र बजेट प्रस्तुत गर्दा, विकासका तमाम योजना बनाउँदा, विदेशबाट ऋण या अनुदान केही लिनुपर्दा, कुनै पनि ठेक्कापट्टाको काम कसैलाई दिनुपर्दा राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीवादलाई कमजोर बनाउने उद्देश्यका आधारमा अघि बढ्नुपर्ने हुन्छ । यो कुनै पनि व्यक्ति, संस्था या कम्पनीलाई कमजोर या बलियो बनाउने विषय नभई अहिलेसम्मको पुँजी परिचालनका तमाम गलत गतिविधि र क्रियाकलापलाई समाप्त पार्ने र मुलुकलाई सुखी र समृद्ध बनाउने विषयसँग जोडिएको सवाल हो ।

विगतमा कुनै पनि राजनीतिक पार्टी र व्यक्तिको मूल्यांकन गर्दा उसले समग्रमा राजतन्त्रलाई बलियो बनाउने काम गर्छ कि त्यसलाई कमजोर पार्दै लोकतान्त्रिक व्यवस्था ल्याउने पक्षमा भूमिका खेल्छ भनेर हेर्ने गरिन्थ्यो । अहिले कसैले पनि मुखले जुनसुकै वाद र सिद्धान्तको चर्चा गरे पनि व्यवहारमा दलाल पुँजीवादलाई बलियो बनाउने गरी काम गर्छ कि त्यसलाई कमजोर पार्नमा भूमिका खेल्छ भन्ने आधारमा मूल्यांकन गरिनुपर्छ ।

अहिलेको अवस्थामा सरकार सञ्चालन गर्दा होस् वा पार्टी सञ्चालन गर्ने यावत् विषयमा होस्, मूल अन्तरविरोधको समाधान गर्ने विषयमा केन्द्रित भएर तमाम गतिविधि सञ्चालित हुनुपर्छ । कस्तो वेला कुन विषय अघि सार्दा र कस्तो निर्णय गर्दा दलाल पुँजीवाद कमजोर बन्छ ? यसतर्फ विषयगत आधारमा संस्थागत रूपमा व्यापक अध्ययन, बहस र छलफल गरी निष्कर्षमा पुग्ने परिपाटी स्थापित गर्नुपर्छ ।

हाम्रो मुलुक गरिब छ र पछाडि परेको छ । त्यसैले समृद्धि अहिलेको प्रमुख आवश्यकता हो, तर मुठीभरका केही व्यक्तिको समृद्धि होस् या आमश्रमजीवी जनता, जसले उत्पादन र निर्माणका काममा आफ्नो जीवन समर्पित गरेका छन्, उनीहरूको समृद्धि हो भन्ने स्पष्ट बुझ्नुपर्छ । जनता समृद्ध भए मात्र देश समृद्ध हुन्छ । त्यसैले, गरीखाने मान्छेको समृद्धिका नीति, योजना र कार्यक्रमलाई अघि बढाउँदै गर्दा मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार हुन्छ । यी सबै विषय वर्तमान नेपाली समाजको मूल अन्तर्विरोधलाई समाधान गर्ने विषयसँग अन्तर्सम्बन्धित विषय हुन् ।