मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन झा काठमाडाैं
२०७६ फाल्गुण ९ शुक्रबार ०७:२३:००
Read Time : > 1 मिनेट
समाचार

राजपा–समाजवादी फेरि एकताको गृहकार्यमा 

Read Time : > 1 मिनेट
नवीन झा, काठमाडाैं
२०७६ फाल्गुण ९ शुक्रबार ०७:२३:००

राजपा र समाजवादी पार्टीबीच पार्टी एकताका लागि फेरि गृहकार्य सुरु भएको छ । २ पुसमा राजपा र नेकपाबीच राष्ट्रिय सभाको चुनावमा सहकार्य र दीर्घकालीन मुद्दामा छलफल गर्दै जाने सहमतिपछि राजपा–समाजवादी एकताको गृहकार्यमा अवरोध आएको थियो । तर, अब राजपाको संघीय सरकारमा सहभागिता कमजोर बन्दै गएपछि दुवै पार्टीको प्राथमिकताका एकतामा परेको हो ।

अहिले दुवै पक्षबीच अनौपचारिक संवाद चलिरहेको र अब आ–आफ्नो पार्टीमा छलफल गरेर दुवै पक्षका वार्ता टोलीबीच औपचारिक संवाद गर्ने तयारी भएको छ । राजपाले राजेन्द्र महतो र समाजवादीले राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टी एकताका लागि वार्ता टोली बनाएका छन् । राजपा वार्ता टोलीका संयोजक महतोका अनुसार वार्ता टोलीबीच चाँडै नै वार्ताको तयारी भएको छ । ‘हामी चाँडै औपचारिक रूपमा वार्ता समितिको बैठक गर्न लागेका छौँ,’ महतोले नयाँ पत्रिकासँग भने, ‘त्यसपछि अध्यक्षण्डलको बैठकमा हामी छलफल गरेर टुंग्याउँछौँ ।’ वार्ता टोली बने पनि औपचारिक वार्ता अहिलेसम्म भएको थिएन । दुवै पार्टी औपचारिक वार्तामा बस्नुअघि आ–आफ्नो पार्टीभित्र छलफल गरिरहेका छन् ।

राजपा–समाजवादी एकताका लागि अनौपचारिक छलफल भइरहेको र टुंग्याउन बाँकी विषय हल गर्ने प्रयास भएको राजपा अध्यक्षमण्डलका नेता तथा वार्ता समिति संयोजक महतोले बताए । ‘राष्ट्रिय सभा निर्वाचनपछि नेकपासँगको थप सहकार्यको सम्भावना अहिले देखिएन । पछिल्लो समयमा हामी पुनः एकीकरणको आन्तरिक छलफल थालेका छौँ,’ महतोले भने, ‘त्यसका लागि दुवै पार्टीभित्र अहिले अनौपचारिक तवरमा गृहकार्य भइरहेका छन् । धेरैै कुरा हामीले टुंग्याइसकेका छौँ, बाँकी कुरा टुंग्याउन जुटेका छौँ ।’

समाजवादी पार्टीका महासचिव रामसहाय यादवले राजपासँगको एकतामा अब कुनै समस्या नरहेको बताए । ‘हामीबीच अब केही समस्या छ जस्तो लागेन,’ यादवले नयाँ पत्रिकासँग भने, ‘हामी सरकारबाट बाहिरिएपछि एकीकरणका लागि अब कुनै समस्या रहेन ।’ यसअघि राजपाले एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने सर्त राखेको थियो । संविधान संशोधनमा सरकार इमानदार नभएको भन्दै समाजवादी पार्टी ८ मंसिरमा सरकारबाट बाहिरिएको थियो ।

राजपा–समाजवादीबीच एकताका लागि सैद्धान्तिक सहमति जुटिसकेको छ । यद्यपि, केन्द्रीय तहमा दुवै तहका शीर्ष नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषय टुंगिन सकेको छैन । यसको सूत्र खोज्न दुवै पार्टीका शीर्ष नेता जुटेका छन् । तर, धेरै नेता भएकाले व्यवस्थापन कठिन बनेको छ । नेताहरूको वरीयताको पनि समस्या देखिएको छ ।