१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण ८ बिहीबार ०६:२२:००
Read Time : > 2 मिनेट
समाचार

ढाकाबाट फर्किए परराष्ट्रमन्त्री: बंगलादेशसँग बृहत् कनेक्टिभिटी उच्च प्राथमिकता, त्रिदेशीय कार्यदल गठनको तयारी

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण ८ बिहीबार ०६:२२:००

नेपालले छिमेकी भारत र चीनपछि बंगलादेशसँग राजनीतिक संवाद र कनेक्टिभिटीलाई उच्च प्राथमिकतामा राखेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मंगलबारदेखि बिहीबारसम्म भएको औपचारिक भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशमा औपचारिक भ्रमण गर्ने तय भएको छ भने बृहत् कनेक्टिभिटीको सम्भावना अध्ययन गरी सम्झौताको तहसम्म पु-याउन उच्चस्तरीय कार्यदल गठन गर्ने सहमति भएको छ । 

भारतसँग संवादका आधारमा बृहत् कनेक्टिभिटीका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय कार्यदल गठन गर्न पनि नेपाल र बंगलादेश सहमत भएका छन् । ‘नेपाल र बंगलादेशबीच बुधबार भएको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सबै प्रकारका कनेक्टिभिटी (सम्पर्क सञ्जाल) अघि बढाउन उच्चस्तरीय कार्यदल गठन गरेर विस्तृत अध्ययन गराउने र भारतलाई समेत सहभागी गराउने विषयमा विस्तृत छलफल भएको छ’ बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

स्रोतका अनुसार दुई देशबीच सचिवस्तरीय कार्यदल गठनमा सहमति भएको छ । तर, घोषणा भएको छैन । कार्यदलमा भारतलाई पनि सामेल गर्नुपर्ने भएकाले भारतसँग छलफलपछि टुंगो लाग्नेछ । भारतले नेपाल र बंगललादेशबीचको कनेक्टिभिटीका लागि सहयोग गर्ने वचन दिइसकेको छ । सोहीअनुसार डेडिकेटेड विद्युतीय प्रसारणलाइनमार्फत नेपालबाट बंगलादेशले विद्युत् लैजान भारतले सहयोग गर्ने भनेको छ । 

नेपालबाट २० वर्षपछि भएको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा रेलमार्गमार्फत भारतको चिटगाउँ बन्दरगाह जोड्ने सम्भावना पहिल्याउने र कोसीदेखि गंगा हुँदै बंगलादेशसम्म पानीजहाज सञ्चालनका लागि अप्रेसन मोडालिटी तय गर्ने पनि सहमति भएको राजदूत डा. मिश्रले बताए । ज्ञवालीले समकक्षी ए के अब्दुल मोमेनसँग औपचारिक वार्ता गर्नुअघि त्यहाँका वाणिज्यमन्त्री टिपु मुन्सीसँग बेग्लै भेट गरेका थिए ।

मुन्सीसँग ज्ञवालीले प्रिफरेन्सियल ट्रेड एग्रिमेन्ट (पीटीए), नेपाली बस्तुहरूको बंगलादेशमा निर्यात प्रवद्र्धनमा सहजीकरणलगायतका विषयमा छलफल गरेका थिए । नेपाल र बंगलादेशबीच व्यापारको आकार कम भएको र असहजता धेरै भएको भन्दै दुवै देशले विद्यमान द्विपक्षीय संयन्त्र सक्रिय बनाएर समाधान खोज्ने सहमति पनि गरेका छन् । नेपाली सामानलाई तोकिएको बढी भन्सारदर कम गर्न नेपालको आग्रह थियो । दुई देशबीच सीधा बस र कार्गो यातायात सहजीकरणका बारेमा पनि विस्तृत छलफल भएको छ । 

 राष्ट्रपति भण्डारी बंगलादेश जाने
राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको औपचारिक भ्रमण गर्ने भएकी छिन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल गत २६ कात्तिकमा चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका थिए । उनको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुने तय भएको हो । ‘मितिका सम्बन्धमा हाम्रो छलफल चलिरहेको छ, दुवै पक्षबीच सहमतिका आधारमा मिति तय हुँदै छ’ राजदूत डा. मिश्रले भने । बंगलादेशका प्रधानमन्त्री सेख हसिनाले चैतमा हुने सगरमाथा संवादमा सहभागी हुने इच्छा राखेकी छिन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले बुधवार बिहान शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणा सुनाएपछि हसिनाले सकभर आफैँ आउने नभए उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने जवाफ दिएकी छिन् । पछिल्ला पाँच महिनामा नेपाल र बंगलादेशबीच उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले बंगलादेशको भ्रमण गरेका छन् भने केही साताअघि उनका समकक्षी अजिज अहम्मदले नेपालको भ्रमण गरेका छन् । 

 वाणिज्यसचिवस्तरीय बैठक ढाकामा 
दुई देशबीच व्यापार र कनेक्टिभिटीका बारेमा छलफल गर्न वाणिज्यसचिवस्तरीय संयन्त्रको बैठक २० र २१ फागुनमा ढाकामा बस्दै छ । त्यसअघि १८ फागुनमा दुवै देशका भन्सार विभागका महानिर्देशकस्तरीय बैठक ढाकानजिकैको कक्स बजारमा बस्दै छ । दुई देशबीचका व्यापार असहजता, कनेक्टिभिटीका सम्भावनालगायतका विषयमा बैठकमा छलफल हुनेछ ।  

सार्क सम्मेलनको प्रयास हुँदै छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन गराउन प्रयास भइरहेको बताएका छन् । तीनवर्षे कार्यकाल सकिन लागेकोमा बिदाइ भेट गर्न बालुवाटार पुगेका सार्क महासचिव अमजद हुसेन बी सियालसँग ओलीले सार्कलाई गति दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओली सार्कका अध्यक्ष हुन् । 

‘सार्कका मन्त्रीस्तरीय बैठक भइरहेका छन् । सन् २०१९ मा परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई समेत जोड्दा पाँचवटा मन्त्रीस्तरीय बैठक सम्पन्न भएका छन्’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भने, ‘सार्कको शिखर सम्मेलन गराउने नेपालको प्रयास जारी छ । हामी सार्कलाई गति दिन चाहन्छौँ । सम्मेलन गर्ने वातावरण सबैले मिलाउनुपर्छ ।’ 

भारत र पाकिस्तानबीचको विवादका कारण २४ र २५ कात्तिक ०७३ मा पाकिस्तानमा हुने तय भएको सार्कको १९औँ सम्मेलन हुन सकेन । त्यसयता सार्क सम्मेलन हुन सकेको छैन । यसैबीच, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाकिस्तानी समकक्षी शाह मोहम्मद कुरेसीसँग टेलिफोनवार्ता गरेका छन् । नेपालले चैतमा आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागिताका लागि ज्ञवालीले आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच सार्कलाई गति दिनेलगायतका विषयमा पनि कुराकानी भएको परराष्ट्र स्रोतले बतायो ।

 परराष्ट्रमन्त्री स्पेन र जेनेभा जाँदै
परराष्ट्रमन्त्री ज्ञवाली संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा सहभागी हुन र औपचारिक भ्रमणका लागि शुक्रबार स्पेन र जेनेभाका लागि प्रस्थान गर्दै छन् । उनी १६ फागुनमा स्वदेश फर्कने कार्यक्रम छ । ज्ञवालीले जेनेभामा मानवअधिकार परिषद्को बैठकलाई १३ फागुनमा सम्बोधन गर्नेछन् । नेपाल मानवअधिकार परिषद्को सदस्य हो ।

 बंगलादेश र पूर्वी नेपालबीच हवाई सेवा 
परराष्ट्रमन्त्रीस्तरीय बैठकमा पूर्वी नेपालको विराटनगरदेखि बंगलादेशको सइदपुर विमानस्थलमा हवाई सेवा शीघ्र सुरु गर्ने सहमति भएको छ । राजदूत डा. मिश्रका अनुसार त्यसका लागि नेपालबाट नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली बंगलादेश जानेछ । ‘दुई देशबीचमा क्षेत्रीय हवाई सम्पर्क सञ्जाल अघि बढाउनुपर्छ भन्ने सहमति भएको छ, बंगलादेशले आगामी ६ महिनामै साना जहाज सुरु गर्न सकिने भनेको छ, हामी आशावादी छौँ’  मिश्रले भने ।