मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार ०६:२०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

सरकारी वकिलको कार्यालय भन्छ–  फैसला अध्ययन गरेर पुनरावेदन जाने–नजाने निर्णय गर्छौँ

पूर्वसभामुख महरालाई सफाइ

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार ०६:२०:००

बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । अभियोग नपुगेको भन्दै न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार उनलाई सफाइ दिएको हो । सफाइ पाएपछि महरा डिल्लीबजार कारागारबाट छुटेका छन् । गत १९ असोजयता उनी थुनामा थिए । 

संसद्कै एक महिला कर्मचारीको डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग महरामाथि थियो । महरा पीडितको डेरामा गएको पुष्टि नभएको तथा फरेन्सिक रिपोर्टबाट समेत त्यस्तो नभेटिएको भन्दै अदालतले सफाइ दिने फैसला गरेको हो । काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, ‘फैसलाको संक्षिप्त आधार, प्रतिवादीको तत्काल अनुसन्धानको क्रममा भएको बयान र यसलाई पुष्टि गर्दै जाहेरवाली पीडितले गरिदिएको बकपत्रले प्रतिवादीको इन्कारी बयानलाई पुष्टि गरेको छ ।’ 

अदालतले औँठाको छापसम्बन्धी प्रतिवेदन र पीडितको बकपत्रलाई पनि आधार मानेर फैसला गरेको छ । परीक्षणका लागि पठाइएको जुत्ताको तलुवा, चस्मा, गिलासमा रहेको औँठाछापलगायतका प्रमाण महराको औँठाको छापसँग नमिलेका कारण उनले सफाइ पाएको श्रेस्तेदार श्रेष्ठको भनाइ छ । ‘यी प्रतिवादी वारदातको दिन आफ्नो डेरामा आउँदै नआएको र कुटपिटलगायतका अभियोग दाबीबमोजिमको कसुर नगरेको पीडितले स्पष्ट शब्दमा खुलाइएको छ,’ उनले भने । 

सोमबार कार्यालय समयलगत्तै महरालाई अदालतमा उपस्थित गराइएको थियो । परिवारका सदस्य र आफन्तबीच उनको मुहार प्रसन्न नै देखिन्थ्यो । दिउँसो साढे २ बजे अदालतको फैसला आएपछि उनले अदालत बाहिर शुभचिन्तकहरूलाई अभिवादन गरेका थिए । लगत्तै उनलाई डिल्लीबजार कारागार लगेर प्रक्रिया पूरा गरी रिहा गरिएको थियो । छुट्ने क्रममा ठूलो संख्यामा नेकपा कार्यकर्ता तथा आफन्तले उनलाई स्वागत गरेका थिए ।

संसद् फर्किन बाटो खुल्यो
अदालतले सफाइ दिएसँगै महरालाई संसद् आउने बाटो खुलेको छ । अदालतले उनलाई सफाइ दिएको पत्र संसद् सचिवालयले पाउनेबित्तिकै उनले सेवासुविधा र सदनको कामकारबाहीमा भाग लिन पाउनेछन् । संसद् सचिवालयका सचिव गोपालनाथ योगी भन्छन्, ‘हिरासतमा बस्दा कामकाज र सेवासुविधा रोक्का थियो । अहिले उहाँ कारगारमुक्त भइसक्नुभएको छ । पहिला सूचना निकालेर रोक्का गरेको कामकारबाही र सेवासुविधा फेरि सूचना निकालेर फुकुवा गर्नुपर्छ ।’ सभामुखबाट राजीनामा दिएपछि गत १५ असोजमा प्रतिनिधिसभा नियमावली ०७५ को नियम २११ को उपनियम (२) बमोजिम संसद् सचिवालयले सूचना जारी गरेको थियो । अदालतले संसद्लाई पत्र पठाउनेबित्तिकै महरा बैठकमा भाग लिन पाउनेछन् । मंगलबार प्रतिनिधिसभा बैठक बस्ने कार्यतालिका छ ।

सुनियोजित षड्यन्त्रको पर्दाफास गर्छु : महरा
मलाई षड्यन्त्र गरी फसाइयो । यस घटनाभित्र धेरै कुरा छन् । समय क्रममा यो खुल्दै जान्छ । सबैभन्दा पहिले, मलाई जेलमा बस्दाका बन्दी साथीहरू, अस्पताल बस्दा सहयोग गर्नु हुने डाक्टर र कर्मचारी साथीहरू र विशेषगरी जिल्ला अदालतलाई धन्यवाद दिन चाहन्छु । अदालतले जुन निर्णय लियो, त्यसका लागि धन्यवाद दिन्छु । यो सुनियोजित षड्यन्त्रको म बिस्तारै पर्दाफास गर्दै जान्छु । 

पीडित महिला : ‘अदालतले न्याय ग¥यो’
सम्मानित अदालतलाई धन्यवाद दिन चाहन्छु । न्याय मरेको रहेनछ । न्याय पाइने रहेछ । मान्छेहरूले अदालत यस्तो उस्तो भन्ने सुनेको थिएँ, त्यो होइन रहेछ । अदालतले सत्य तथ्य छानबिन गरेरै फैसला गर्दोरहेछ । आजको जे निर्णय छ, त्यो स्वागतयोग्य छ ।

सरकारी वकिलको कार्यालयले भन्यो– अदालतको फैसला अध्ययन गर्छौँ  
सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको फैसला अध्ययन गर्ने र चित्त नबुझे उच्च अदालत जाने बताएको छ । कार्यालयका सूचना अधिकारी नुमराज खनालले फैसला कार्यालयमा आइनपुगेको भन्दै अध्ययन गरेर निर्णय लिने बताए । ‘आधिकारिक रूपमा अदालतको फैसला हामीसम्म आएपछि हामीले पेस गरेको प्रमाणलाई अदालतले राम्ररी विवेचना गर्न सकेको छ कि छैन हेर्छौँ,’ खनालले भने, ‘दाबीअनुसारको प्रमाण पुगेको छैन भन्ने सुन्यौँ । तर, हामीले पेस गरेका प्रमाण कसुर ठहर गर्न पर्याप्त छन् । निर्णयका आधार हेरेर हामीसँग खण्डित गर्ने प्रमाण भए धेरै हदसम्म हामीले उच्च अदालतमा पुनरावेदन गर्ने सम्भावना छ ।’