कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले शुक्रबार (२ फागुन) मा निधन भएका राष्ट्रियसभा सदस्य एवं कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको राजनीतिक योगदानको स्मरण गरेका छन् ।
सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दलले गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा उपाध्यायले पु-याएको योगदानको स्मरण गरेका हुन् । उपाध्यायको निधनले कांग्रेसलाई मात्र नभई राष्ट्रलाई समेत अपुरणीय क्षति पुगेको सभापति देउवाको भनाइ छ ।
श्रद्धाञ्जलीसभामा महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र राज पाण्डे, प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुषाल र प्रतिनिधिसभा, लेखा समितिका सभापति भरत कुमार शाहले शोक मन्तव्य राखे ।
उपाध्यायको राजनीतिक योगदान
उपाध्यायको २ फागुनमा रुपन्देहीस्थित निवासमा निधन भएको थियो । उनी ०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नं. ५ बाट कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।
०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गा.वि.स को उपाध्यक्ष पदमा निर्वाचित भएका स्व.उपाध्याय १२ औं र १३ औं महाधिवेशनमा दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत भएका थिए ।