पूर्वमन्त्री र मुख्यसचिवसहित दुई सयमाथि किटानी जाहेरी
प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवास र त्यसले चर्चेको जग्गा किर्ते गरी व्यक्तिका नाममा नामसारी गरेको आरोपमा समरजंग कम्पनीले पूर्वमन्त्री, मुख्यसचिव, अख्तियारका पूर्वप्रमुखसहित दुई सय जनाभन्दा बढीमाथि केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) मा किटानी जाहेरी दिएको छ ।
शुक्रबार (२ फागुन) समरजंग कम्पनीले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीद्वय चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, हाल चीनका लागि राजदूत रहेका तत्कालीन मुख्यसचिव लीलामणि पौडेल, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वराजदूत रुक्मशम्शेर राणा, नेकपानिकट नेता शोभाकान्त ढकाल, कानुन व्यवसायी रामकुमार सुवेदी, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलगायत विरुद्ध जाहेरी दिएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६७ मा बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको एक सय १३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा नामसारीको अनुमति दिएको हो ।
तत्कालीन विभागीय मन्त्री, सचिवलगायत उच्चपदस्थ व्यक्तित्वको मिलेमतोमा मन्त्रिपरिषद्लाई नै गुमराहमा राखेर सरकारी जग्गा व्यक्तिको नाममा गराइएको भन्दै समरजंग कम्पनीले सिआइबीमा किटानी जाहेरी दिएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।
अनुसन्धान जारी रहेको र जग्गा हिनामिनासम्बन्धी प्रमाण नष्ट हुनसक्ने भएकाले सिआइबीले भने किटानी जाहेरी परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।उनीहरूमाथि सिआइबीले किर्ते तथा सरकारी सम्पत्तिको क्षति आरोपमा मुद्दा चलाउने तयारी गरेको छ ।
ललिता निवास परिसरको उक्त सरकारी जग्गा व्यक्तिको नाममा गराएको खुलेपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा लगिएको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो ।
त्रितालले प्रतिवेदन पेस गरेपछि २८ फागुन २०७५ मा बसेको मन्त्रिपरिषद्ले विस्तृत अनुसन्धानको जिम्मा सिआइबीलाई दिर्ने निर्णय गरेको थियो । सिआइबीको अनुसन्धानमा समेत उक्त सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा लगिएको खुलेको थियो ।
सिआइबीले एक वर्ष लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन यही १७ माघमा गृहमन्त्रालयमा बुझाएको थियो । उक्त प्रतिवेदन गृहले समरजंगलाई नै थप अध्ययनका लागि दिएको थियो ।
सिआइबीले ललिता निवासको जग्गा हिनामिना गर्न तत्कालीन विभागीय मन्त्री, मुख्यसचिव मन्त्रालयका सचिवलगायत दोषी रहेको भन्दै उक्त अनुसन्धान प्रतिवेदन यही १७ माघमा गृहमा बुझाएको थियो ।
जग्गा हिनामिनामा समरजंगकै मिलेमतो !
ललिता निवासलगायत महत्वपूर्ण सरकारी जग्गा संरक्षकको जिम्मा लिएको गृहमन्त्रालय अन्तर्गतको समरजंग कम्पनीसमेत उक्त जग्गा हिनामिनामा सहयोगी बनेको सिआइबीले खुलाएको छ ।
समरजंगले उक्त जग्गामा नक्कली मोही खडा गरी जग्गा व्यक्तिका नाममा नामसारी गर्न सहयोगी भूमिका खेलेको सिआइबीको अनुसन्धानबाट खुल्न आएको छ ।
समरजंगका पूर्वप्रमुखहरू अर्जुनप्रसाद भण्डारी, चिरञ्जीवी अधिकारी, लोकहरि घिमिरे र रमेशकुमार पोखरेलविरुद्ध किर्ते गरेको आरोपमा किटानी जाहेरी दिएको सिआइबी स्रोतले जनाएको छ ।
यससँगै आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने सिआइबीलाई बाटो खुलेको छ ।