१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार ०८:३१:००
Read Time : > 4 मिनेट
फिचर

युद्धले थलिएका देश

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार ०८:३१:००

संसारमा कैयौंँ यस्ता देश छन्, जो गृहयुद्धकै कारण थिलथिलो भएका छन् । लाखौँले ज्यान  गुमाएका छन्, करोडौँ घरवारविहीन भएका, लाखौँले देश छोडेका छन् । गृहयुद्धको चपेटामा परेका केही देशहरूको पीडादायी कथा यहाँ प्रस्तुत छ । 

अफगानिस्तान : १७ वर्षमा दुई लाखको मृत्यु

पटक–पटक आन्तरिक तथा बाह्य युद्धमा फस्नुपर्दाको विडम्बनापूर्ण इतिहास अफगानिस्तानसँग छ । सन् २००१ मा अमेरिकी सेनाले तालिवानी शासन अन्त्य गर्ने उद्देश्यले आक्रमण सुरु गरेयता यो देश अस्थिर छ । सत्ताबाट तालिवान हटेपछि निम्तिएको अराजक परिस्थिति १७ वर्षसम्म पनि कायमै छ । आधिकारिक तथ्यांकअनुसार युद्धमा अहिलेसम्म दुई लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अपगानिस्तानबाट शरणार्थी बनेर सानैमा अर्को मुलुक छिरेकाहरू लाखौँ वयष्क भइसके तर अझै शान्ति कायम भएको छैन । देशमा निरन्तर तालिवानी विद्रोहीले हमला गरिरहेका छन् । बम–बिस्फोट र हत्याको शृंखला जारी छ । सन् २०१८ मा मात्रै अफगानिस्तानमा युद्धका कारण ३५ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । यस वर्षको सुरुवाती दुई साताभित्रै १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

सिरिया एक करोड १० लाख विस्थापित
अहिले विश्वको ध्यान सिरिया युद्धमा छ । अरब राष्ट्रहरूमा सन् २०११ मा चलेको विद्रोहको हावासँगै सिरियाली राष्ट्रपति बसर अल असदको कुर्सी पनि हल्लिएको थियो । यहीँबाट सिरियामा गृहयुद्ध सुरु भयो । विद्रोहीमाथि सरकारले दमन सुरु गरेपछि अमेरिकालगायत पश्चिमा राष्ट्रले विरोध गरे । यहीवेला आइएसले पनि सिरियामा आफ्नो प्रभाव विस्तार ग-यो । रुसले असद नेतृत्वको सरकारलाई सहयोग गर्ने उद्देश्यले आफ्नो सेना पठायो । त्यसयता, फरक–फरक उद्देश्यका साथ अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको समेत स्वार्थ जोडिएर सिरिया युद्धभूमिमा परिणत भयो ।

असदको सत्ता टिक्यो । तर, समस्या समाधान भएन । बरु, उल्टै गहिरियो । यस युद्धका कारण अहिलेसम्म एक करोड १० लाखभन्दा धेरै नागरिक सिरिया छाडेर गइसके । सात लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । शक्तिराष्ट्रहरूले सिरियाको समस्या समाधान गर्न पटक–पटक वार्ताको प्रयास गरे पनि अहिलेसम्म ती वार्ता सफल हुन सकेनन् । गत वर्ष मात्रै २३ हजारभन्दा बढीले सिरिया युद्धमा ज्यान गुमाएका छन् । यस वर्षको सुरुवाती दुई साताभित्र ६ सय २ जनाको मृत्यु भयो । 

मेक्सिको दुई लाख ५० हजारले ज्यान गुमाए
सन् २००६ देखि सुरु भएको ड्रग्सविरुद्धको युद्ध मेक्सिकोका लागि गृहयुद्धभन्दा कम छैन । ड्रग्स कारोबारको अन्त्य गर्ने उद्देश्यले सरकारले सेना प्रयोग गरेको थियो । यस युद्धका कारण दुई लाख ५० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् र मारिनेक्रम सकिएको छैन । युद्धमा हजारौँ बेपत्ता भइसकेका छन् । गत वर्ष युद्धमा २७ हजारभन्दा धेरैको मृत्यु भयो । यस वर्षको सुरुवाती दुई सातामै २० जनाको मृत्यु भइसकेको छ । 

युद्धको चपेटा परेका अन्य देश
-सोमालियामा सन् १९९१ यता गृहयुद्धमा परेर पाँच लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । सन् २०१८ मा मात्रै चार हजारभन्दा धेरैको मृत्यु भयो । 
-नाइजेरियामा सन् १९९८ बाट भड्किएको जातीय हिंसाका कारण अहिलेसम्म १७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । सन् २०१८ मा मात्रै तीन हजारभन्दा धेरैको मृत्यु भयो । सरकार र विद्रोहीबीचको युद्धको चपेटामा धेरै सर्वसाधारण परेका छन् । अहिलेसम्म चारवटा देशमा गरेर कुल ५० हजारभन्दा धेरैको मृत्यु भइसक्यो । सन् २०१८ मा मात्रै दुई हजारभन्दा धेरैको ज्यान गयो । 
-दक्षिणी सुडानमा फैलिएको जातीय हिंसा पनि अझै रोकिएको छैन । हिंसामा परेर सन् २०१८ मा एक हजार एक सय ६६ जनाको ज्यान गयो । अहिलेसम्म चार लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । 
-सन् २०१२ यता अफ्रिकी देश माली पनि गृहयुद्धमा छ । तीन हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । गत वर्ष मात्रै एक हजार दुई सयभन्दा धेरैको मृत्यु भएको थियो । 
-कोलम्बियामा गृहयुद्ध अझै जारी छ । गत वर्ष युद्धका कारण सात सयभन्दा धेरैको मृत्यु भएको थियो । 
-फिलिपिन्समा सरकारले सुरु गरेको ड्रग्स युद्धमा परेर गत वर्ष आठ सय ८६ जनाको मृत्यु भयो । अहिलेसम्म १२ हजारभन्दा बढी मारिएका छन् । संकट गहिरिँदो छ । 
-इथियोपियामा भड्किएको जातीय हिंसामा परेर गत वर्ष आठ सयभन्दा धेरैको मृत्यु भयो । यहाँ सन् २०१६ देखि ओरोमो र सोमाली समुदायबीच सीमा विवाद छ । 

इराक  १५ वर्षमा पाँच लाखको मृत्यु
अफगानिस्तानजस्तै इराक पनि पटक–पटकको युद्धले थलिएको देश हो । यहाँ पनि सधैँजसो अशान्ति छ । सन् १९७४ देखि एक वर्षसम्म चलेको दोस्रो कुर्दिस–इराकी युद्ध, सन् १९८० को दशकमा आठ वर्षसम्म चलेको इरान–इराक युद्ध, सन् १९९०–९१ सम्म चलेको गल्फ युद्ध पुरानो शताब्दीका बिर्सनलायक घटना हुन् । तर, पुरानो चोट बिर्सन नसकेका इरानी जनताले नयाँ शताब्दीमा पनि उस्तै पीडा खेप्नुपरेको छ ।

सन् २००३ मा अमेरिकाले सद्दाम हुसेन नेतृत्वको सरकार गिराउने उद्देश्यले इराकमा हमला गरेको थियो । सद्दामको सरकार गि-यो । सन् २०११ मा अमेरिकी सेना पनि फिर्ता भयो । तर, इराकमा फैलिएको अशान्तिको आगो अझै निभेको छैन । सन् २०१४ यता, इस्लामिक स्टेट अफ इराक एन्ड लेमान्ट (आइएसआइएल) जसलाई आइएसआइएस भनेर पनि चिनिन्छ ।

यस समूहले उत्तरी इराकका ठूलो भूभाग कब्जामा लिएपछि अशान्ति थप बढ्यो । त्यसयता, अमेरिकासहित ठूला देशका सेना आइएसआइएस समाप्त पार्ने भन्दै फेरि इराकमा तैनाथ भए । आइएसको कब्जामा रहेका क्षेत्रहरू विदेशी सेनाको सहयोगमा इराकी सरकारले नियन्त्रणमा पनि लियो । सन् २०१८ मा पाँच हजारभन्दा बढीले ज्यान गुमाए । मृत्यु हुनेमा अधिकांश सर्वसाधारण छन् । यस वर्ष ६ जनाको मृत्यु भइसकेको छ । 

यमन : ६ वर्षमा ५० हजारको मृत्यु
सन् २०११ मा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सलेहलाई सत्ताच्युत गर्ने उद्देश्यले विद्रोह सुरु भएको थियो । तर, राष्ट्रपति सलेहले राजीनामा गरे पनि संकट समाधान भएन । बरु, विद्रोहले बिस्तारै गृहयुद्धको रूप लियो । यमनमा हुथी विद्रोही, आइएस, अलकायदालगायत आतंकवादी समूहहरू सक्रिय छन् । ५० हजारभन्दा धेरैले युद्धमा ज्यान गुमाइसकेका छन् । सन् २०१८ मा २५ हजारभन्दा धेरैले ज्यान गुमाए । 
संकटमा फस्दै फ्रान्स 
‘यल्लो भेस्ट मुभमेन्ट’का नाममा मध्यम तथा तल्लोवर्गका व्यक्तिहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आर्थिक न्यायको माग गरेका छन् । गत वर्षबाट सुरु भएको यो आन्दोलन दिनहुँ चर्कंदै छ ।युरोपको शक्तिशाली राष्ट्र फ्रान्स पनि अहिले संकटग्रस्त अवस्थामा छ । ‘यल्लो भेस्ट मुभमेन्ट’का नाममा मध्यम तथा तल्लोवर्गका व्यक्तिहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आर्थिक न्यायको माग गरेका छन् । गत वर्षबाट सुरु भएको यो आन्दोलन दिनहुँ चर्कंदै छ । गत मेमा हस्ताक्षर अभियान सुरु गरिएयता १० लाखभन्दा धेरैले अनलाइनमार्फत आन्दोलनमा ऐक्यबद्धता जनाइसकेका छन् । त्यस्तै, १७ नोभेम्बरबाट सार्वजनिक रूपमै प्रदर्शन भएको थियो । अहिले पनि प्रदर्शन जारी छ । 

सरकारले ल्याएको कर नीतिको मारमा कामदार तथा मध्यमवर्गका व्यक्तिहरू परेको आन्दोलनकारीको भनाइ छ । उनीहरूले तेलको बढ्दो मूल्य कम गर्नुपर्र्ने, महँगी नियन्त्रण गर्नुपर्ने, कामदारको तलब वृद्धि गर्नुपर्नेलगायत माग राखेका छन् । उनीहरूले फ्रान्सेली राष्ट्रपति इम्मानुयल माक्रोनको राजीनामा माग गरिरहेका छन् । एक अध्ययनको निष्कर्षअनुसार यस अभियानमा सहभागी हुनेमध्ये अधिकांश विपक्षी पार्टीका मतदाता हुन् । उनीहरूमध्ये केहीले मात्रै सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा माक्रोनलाई मत खसालेको अनुसन्धानको निष्कर्ष छ । 

शान्तिपूर्ण १० राष्ट्र
इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले विश्वका शान्तिपूर्ण देशहरूको सूची सार्वजनिक गरेको छ । एक सय ६३ स्वतन्त्र देशको सीमाक्षेत्र तथा देशभित्रको द्वन्द्वको अवस्थालाई ध्यानमा राखेर यो सूची तयार गरिएको थियो । यसक्रममा विभिन्न २३ सूचकहरूलाई आधार मानिएको छ । भर्खरै सार्वजनिक भएको सन् २०१८ को अध्ययनअनुसार आइसल्यान्ड पहिलो स्थानमा छ । आइसल्यान्ड १० वर्षदेखि यो सूचीको पहिलो स्थानमा थियो ।

यस देशमा अपराधको अनुपात अन्य देशको तुलनामा निकै कम रहेको र देशमा कुनै पनि वर्गीय तथा सामाजिक द्वन्द्व नरहेको अध्ययनले जनाएको छ । दोस्रो शान्तिपूर्ण देश न्युजिल्यान्ड हो । यो देश पछिल्लो १० वर्षदेखि शान्तिपूर्ण देशहरूको सूचीमा शीर्ष चार स्थानभित्र पर्दै आएको छ । त्यस्तै, अस्ट्रिया तेस्रो नम्बरमा छ । यो देश पनि सन् २०१४ देखि शीर्ष चारभित्र पर्दै आएको छ ।

यस देशमा नागरिकका आम्दानी, जागिर र घरबारको अवस्था राम्रो छ । तर, आप्रवासीहरूले आयोजना गर्ने -याली र आन्दोलनका कारण यहाँको शान्तिव्यवस्थामा केही खलल पुगेको छ । यस सूचीमा पोर्चुगल चौथो, डेनमार्क पाँचौँ, क्यानडा छैटौँ, चेक गणतन्त्र सातौँ, सिंगापुर आठौँ, जापान नवौँ र आयरल्यान्ड १०औँ स्थानमा छन् । 
एजेन्सीको सहयोगमा