मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार ०७:५३:००
Read Time : > 2 मिनेट
साहित्य

कविता मूलतः शब्दको पेन्टिङ हो : भूपिन खड्का

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार ०७:५३:००

बाग्लुङ स्थायी घर भएका चर्चित कवि भूपिन खड्का चितवनस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनका ‘चौबीस रिल’ (निबन्ध कृति), ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’, ‘हजार वर्षको निद्रा’, ‘सुप्लाको हवाईजहाज’जस्ता कविताकृतिहरू प्रकाशित भइसकेका छन् । उनीसँग गरिएको लेखन संवाद :

 तपाईंले कविता, निबन्ध हुँदै उपन्यासमा हात हाल्नुभयो, कवितामै किन अडिनुभएन ?
जीवनको स्वभाव कतै अडिइरहनु होइन (प्रेम अपवाद हो) । जीवन कुँद्ने सिर्जनाको स्वभाव पनि त्यही हो । गतिशील र परिवर्तनशील जीवनमा कलाका माध्यमहरू फरक–फरक छन् । लेखनकलाका पनि विधा फरक–फरक छन् । तिनीहरूका छुट्टाछुट्टै शक्ति र सौन्दर्य छन् । म लेखनमार्फत हरविधाका शक्ति र सौन्दर्यसँग जिस्किन मन पराउँछु । मेरो लेखन पर्खालको विरोध भएकाले म कुनै शैली र विधामा पनि पर्खाल लगाउन मन पराउन्नँ । बासु शशी ठीक भन्नुहुन्छ, ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ ।’ कविता लेखेँ, निबन्ध लेखेँ र अब उपन्यास आउँदै छ । यसलाई अत्यन्त स्वाभाविक रूपमा लिनुपर्छजस्तो लाग्छ । 

 लेखनको निम्ति तपाईंको उपयुुक्त समय कुन हो ?
जागिरका कारण बिहान मसँग लेखनका लागि समय नै हुँदैन । दिउँसो पनि म प्राध्यापन कार्यमा व्यस्त नै रहन्छु । मेरो लेख्ने समय प्रायः राति नै हो । यो मेरो बाध्यता हो । मेरो अनुभवमा लेखनका लागि चाहिने शान्त वातावरण र अशान्त मनस्थिति हो । कहिलेकाहीँ मनमस्तिष्कमा कुनै विशेष कम्पन भयो, त्यसले जबर्जस्त रूपमा लेखनको माग ग¥यो भने म जतिवेला पनि लेख्ने गर्छ‘ । आवश्यक प-यो भने क्याम्पस बिदा लिएरै पनि लेख्न बस्छु । बसमा गुड्दै गर्दा पनि लेख्छु । मलाई लाग्छ, फुटबलरले झैँ लेखकले पनि उपयुक्त समयमा पोस्ट चार्ज गरिहाल्नुपर्छ । गोल होला नहोला, त्यो सेकेन्डरी कुरा हो ।

 विषयको अनुसन्धान गरेर लेख्नुहुन्छ कि कुनै विषयले छोएपछि ?
विषयले स्पर्श गरेपछि नै लेखकीय इनिङ सुरु हुने हो । लेखनले गहिरो निरीक्षण, कल्पना, आत्मसाक्षातीकरण र अनुसन्धानको माग गर्छ । कहिले अनुभवहरूले नै काम दिन्छन् । म आफूलाई छोएका कुराहरूमा बढ्ता ध्यान दिन्छु । त्यसलाई वस्तुगत, प्रामाणिक र सुन्दर बनाउन आवश्यक अनुसन्धान गर्छ । 
 लेखनमा आफ्नै शैली, भाषा निर्माण कसरी गर्नुहुन्छ ?
भीडबाट अलग्गिने साहस, आफ्नो मौलिकताको खोजी, नयाँपनप्रतिको प्रेम र गहन अध्ययन । भाषा निर्माणका लागि यी कुरा नै विशेष हुन् । बारम्बार सोच्छु, ‘जहाँ नपहुँचे रवि, वहाँ पहुँचे कवि’ अकारण भनिएको होइन । यसको गम्भीर अर्थ नै मेरो लेखनको सूत्र हो । कोही पुगिसकेको ठाउँमा त पुग्न सकिएला । सफल कवि त्यो हो, जो अरू नपुगेको ठाउँमा पुग्छ वा पुग्ने प्रयत्न गर्छ । विषयगत र शैलीगत दुवै रूपमा । म स–साना ठाउँहरू खोज्छु । झिनामसिना विषय खोज्छु । यी स–साना कुराबाट जीवन, समाज र समयको शाब्दिक पेन्टिङ गर्न मलाई आनन्द लाग्छ । 

 कवितामा विचार महत्वपूर्ण कि शिल्प ?
रुखका लागि पात महत्वपूर्ण कि जरा ? प्राणीका लागि अक्सिजन जरुरी कि  पानी ? पृथ्वीका लागि गुरुत्वाकर्षण बल जरुरी कि सूर्यको ताप ? कवितामा विचार कि कला भन्ने प्रश्न आउटडेटेट भइसक्यो । यही बहसमा केन्द्रित भएर मैले पनि केही निबन्ध लेखेँ । चौबीस रिलमा संगृहित आठ रिल त कविता विषयक नै रहेछन् । कार्यक्रमहरूमा बहस गरेँ । वार्ताहरूमा भनेँ । कविताका लागि पनि विचार र कला दुवै महत्वपूर्ण छ । सिर्जनामा ‘कला कला’ भन्ने र ‘विचार विचार’ भट्याउने दुवैथरी चिन्तन असिर्जनशील कुरा हुन् । 

 तपाईंसँग कविता र आख्यान दुवै लेखनको अनुभव छ, दुईबीच कस्तो अन्तर पाउनुभयो ?
कविता मूलतः शब्दको पेन्टिङ हो । एक क्यानभासमा पोतिएका अनेकौँ स्ट्रोकहरूको योग । शब्दको कन्जुस्याइँ गरीगरी सकेसम्म संकेतमा धेरै कुरा भन्न लेखिने । बिम्बवादी मलार्मेको कुराले मलाई धेरै छुन्छ । उनी भन्छन्, ‘टु सजेस्ट इज टु क्रिएट, टु नेम इज टु डेस्ट्रोय ।’ आख्यानचाहिँ लेखकले रचना गरेको विशाल र काल्पनिक दुनियाँ हो । पात्रका दुःख–सुख, आँसु–रोदन, विचार–अनुभूति आदि कथामा उनेर सिर्जना गरिएको एक ग्यालरी । जाहेर छ, ग्यालरी धेरै क्यानभासहरू मिलेर बनेको हुन्छ । 

 मोफसलका लेखकलाई केन्द्रले विभेद गरेको भन्ने धेरै सुनिन्छ, यसमा कत्तिको सत्यता छ ?
सामाजिक सञ्जालहरूको विकास हुनुपूर्व यो सत्य थियो । केन्द्रीकरणको सोच भएको मुलुकमा राम्रा पत्रपत्रिका, राम्रा अवसर र राम्रा पदमा मोफसल तागत भएर पनि प्रायः गयल थियो । राजधानी कमजोर भएर पनि प्रायः हाजिर थियो । अब सामाजिक सञ्जालको प्रयोगले त्यसमा व्यापक हस्तक्षेप गरिदिएको छ । पत्रिकाले नपत्याए पनि कुनै सर्जकले वैकल्पिक सञ्चारको प्रयोग गरेर आफ्ना पाठक निर्माण गर्न र आफ्नो स्पेस बनाउन सक्ने भएको छ । 

 आफ्नो लेखन अनुभवका आधारमा केही लेखन टिप्स ?
खुब अध्ययन गरौँ । कल्पनाशीलता र निरीक्षण कविहरूको सबैभन्दा ठूलो तागत हो । बच्चाले जस्तो कल्पना र निरीक्षण गरौँ, ज्ञानीले जस्तो निष्कर्ष निकालौँ । हतार र हतास नबनौँ । भीडलाई गम्भीरतापूर्वक निरीक्षण गरौँ, तर धेरै विश्वास नगरौँ । शैलीगत रूपमा त्यसबाट अलग हुने साहस गरौँ । समीक्षक र पाठकले तुरुन्तै तपाईंको मौलिक आविष्कार थाहा नपाउन पनि सक्छन्, तर आफ्नो स्पेसमा उडान जारी राखौँ ।
 
 तपाईंको उपन्यास ‘मैदारो’ पाठकहरूको हातमा आइपुग्न कति समय लाग्छ ?
परिस्थिति प्रतिकूल नभए माघको अन्त्यसम्ममा वा फागुनको सुरुतिर पाठकको हातमा आइपुग्नेछ ।